जब भयो बाघसित आमने–सामने...- समाचार - कान्तिपुर समाचार

जब भयो बाघसित आमने–सामने...

टर्च बालेर मध्यराति खोज्न गएका गाउँलेले रातिको जम्काभेटमै शंका गरिसकेका थिए– संगम पक्कै बाघको आक्रमणमा परेको हुनुपर्छ । भोलिपल्ट ठूलो जत्था जंगल छिर्दा पनि बाघले शव सजिलै छाड्दै छाडेन । घिसार्दै अघिअघि कुद्‍यो, टोलीले पछ्याइरह्यो ।
शिव पुरी

रौतहट — चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी साथीसँग घाँस काट्न सधैंजसो जंगल जान्थे । मंगलबार दिउँसो पनि चार जना साथीसँग घाँस ल्याउन जंगल पसे । चारै जनासँग साइकल थियो । गाउँबाट झन्डै ७ किलोमिटर पश्चिम तुरतुरेधारा नजिक घनाजंगलमा घाँस खोज्ने क्रममा संगम हराए ।

राति अबेरसम्म घर फर्किएनन् । उनलाई खोज्न गएका गाउँलेहरू बाघको आमनेसामने परे । केही त आक्रमणमै परे । रूख चढेर ज्यान जोगाउँदै जंगलबाट भागेर घर आए । तर, संगम फेला परेनन् ।

बाख्राका लागि घाँस लिन भनेर साथीहरू हरि खड्का, गुन्ज रानामगर र सुदीप थापालाई साथै लिएर संगम साइकलमा जंगल छिरेका थिए । चारै जना लमाह जंगलको बीचभागमा पर्ने तुरतुरेधारा क्षेत्रनजिक पुगे । गाउँबाट झन्डै ८ किलोमिटर पश्चिम पर्छ, त्यो जंगल । हरि, सुदीप, गुन्जेश्वर एकातिर र संगम खोल्सा तरेर पारि गए । अरू साथीहरू वारि नै घाँँस काट्न थाले ।

चारै जनाले बाटोमै साइकल राखेका थिए । साँँझ हुन थालेपछि तीन जना घाँँस बोकेर साइकल भएको ठाउँमा भेला भए । तर संगम भने आएनन् । उनीहरू त्यहीं कुरेर बसे । खोल्सा पारिबाट अचानक ‘ऐय्या’ भन्ने आवाज सुनियो । बाहिर भएका साथीहरूले जोडले कराए– ‘संगम...संगम ।’ जंगलभित्रबाट कुनै आवाज आएन । सुदीप भन्छन्, ‘साँझ झमक्कै भएकाले भित्र पस्ने हिम्मत भएन ।’

संगमलाई खोज्न जाँदा बाघको आक्रमणमा परी घाइते भएका प्रविन श्रेष्ठ र अशोक थापा तस्बिर : शिव पुरी/कान्तिपुर

तीनै जना घर फर्केर संगम हराएको अभिभावकलाई सुनाए । संगमको साइकल पनि साथीले नै ल्याए । गाउँँमा हल्लीखल्ली भयो । संगमलाई खोज्न तीन जना साथी र दाजु सजीवसहित १४/१५ जना गाउँले हातमा हसियाँँ बोकेर टर्चलाइट बाल्दै राति नै जंगल छिरे । बाटो बिराएर संगम अलपत्रमा परेको हुन सक्ने सबैले अनुमान गरेका थिए । खोजी गर्ने टोली संगमले खोल्सा तरेकै स्थानमा पुग्यो । रातिको ९ बजेको थियो । एउटा समूह पछाडि टर्च बालेर हेर्दै थियो । अगाडि समूहको अग्रपंक्तिमा प्रवीन श्रेष्ठ, मेघराज थापा, संगमका दाजु सजीव भण्डारी र अशोक थापा थिए । उनीहरू चारैतिर टर्च बालेर होहल्ला गर्दै थिए ।

अचानक पाटेबाघले प्रवीनमाथि आक्रमण गर्‍यो । उनी घाइते भए । बाघको पन्जाले चिथोरेर प्रवीनको गाला र छातीमा चोट लाग्यो । तर, उनले हिम्मत हारेनन् । उनी निकै बलिया भएकाले प्रतिकार गर्न सके । त्यसपछि सबै होहल्ला गर्न थाले । बाघले सँगै रहेका अशोक थापालाई पनि आक्रमण गर्‍यो । उनलाई दुवै हात र काखी छेउमा चोट लाग्यो । ज्यान जोगाउन रूख चढ्न थाले ।

प्रवीन, अशोक र सजीव पनि रूख चढ्न भ्याए । तल रहेका मेघराजले बाघको आँखामा एकोहोरो टर्च बाल्न थाले । बाघ डेग चलेन । त्यसपछि उनी पनि बिस्तारै रूख चढे । खोल्सावारि भएकाहरू सबै पहिले नै भागिसकेका थिए । ‘तलै बसेको भए मलाई बाघले निल्थ्यो,’ मेघराजले रातिको घटना सुनाउँँदै भने, ‘बाघको आमनेसामने हुँदा होस उडेको थियो । तर धैर्य गुमाइनँ । नत्र सिध्याउँँथ्यो ।’

उनले टर्च झिमिक्क नपारी बाघको आँखामा बाली रहे । अनि बिस्तारै रूख चढेर ज्यान जोगाएको सुनाए । बाघ केही पर सरेपछि उनीहरू रूखबाट हाम्फालेर भागे । राति झन्डै सवा १२ बजे खोजीमा गएकाहरू घर फर्केका थिए । तर संगम भने फेला पार्न सकेनन् ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई संगम हराएको र खोज्न जाँदा बाघको आक्रमणमा परेको खबर गरे । त्यसपछि सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन कार्यालयबाट सशस्त्र वन रक्षक, साझेदारी वनका प्रतिनिधि र स्थानीय गरी करिब सय जनाको जत्था संगमलाई खोज्न जंगल पसे । लमाहाबाट छिरेको टोलीको साथमा राति आक्रमणमा परेका मेघराज पनि थिए ।

उनले आक्रमण भएको स्थानमा पुर्‍याए । त्यहाँ संगमको चप्पल फेला पारे । त्यसपछि टोली खोजीमा जुट्यो । केही पर भुइँमा रगतको टाटो देखियो र त्यसैको नजिक संगमको सर्ट फेला पर्‍यो । उनी जीवित छैनन् भन्ने सबैले शंका गरे । अघिल्लो समूहमा रहेका गाउँँले र सुरक्षाकर्मीले बाघ घुरेको र शव गन्हाएको थाहा पाए ।

त्यसपछि सबै होहल्ला गर्दै अघि बढे । बाघले संगमलाई घिसार्न थाल्यो । घनाजंगलमा उनलाई घिसारेको आवाज र बाघ कराएको प्रस्टै सुनिन्थ्यो । गाउँँलेले हतियारधारी सुरक्षाकर्मीलाई अघि सारे । पिछा गर्ने क्रम बढ्यो । घनाजंगल भएकाले साना अवरोध पन्छाउँँदै टोली बाघ पछ्याउँदै अघि बढ्यो । झन्डै एक किलोमिटर परसम्म घिसार्दै लगेपछि मानिसको होहल्लाले डराएर बाघले शव छाडेर भाग्यो । सुरक्षाकर्मीले बाघ फर्केर आउन सक्ने भन्दै एरिया कभर गरेर गाउँँलेलाई छिटोछिटो शव उठाउन भन्यो । बाघले घिसार्ने क्रममा शरीरका अंगका टुक्रा यत्रतत्र छरिएका थिए । अन्य भाग पनि बीभत्स भइसकेको थियो । उनको देब्रे खुट्टा र कोखामुनिको भाग बाघले सबै खाइसकेको थियो । शव गन्हाउन थालेको थियो ।

‘राम्रो घाँसका लागि अलि भित्र जानुपर्छ भन्थ्यो,’ कान्छा छोरालाई सम्झँदै श्याम भण्डारीले भने, ‘कहिले नफर्किने गरी जंगलमै प्राण त्याग्यो ।’ संगमको शवलाई पोस्टमार्टमपछि बुधबार दिउँसो दाहसंस्कार गरियो ।

चन्द्रपुर–६ स्थित तुरतुरेधारा क्षेत्र बाघको बासस्थान हो । २५ वर्षअघि यस क्षेत्रमा गाईबस्तुमाथि आक्रमण गरेर बाघले हैरान पार्थ्यो । बिस्तारै पशु पाल्ने चलन पनि घट्यो । त्यसयता बाघ पनि देखिन छाडेको स्थानीय प्रह्लाद थापाले बताए । ‘पहिला यही जंगलमा बाघले गाईभैंसी, गोरु खाएर हत्तु पार्थ्यो,’ उनले भने, ‘पछिल्लो दुई दशकमा पाटे बाघ देखिन छाडेको थियो । अहिले फेरि देखियो ।’

प्रकाशित : आश्विन १५, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

सिमेन्ट उद्योगका टिपरले स्थानीयलाई सास्ती

विप्लव महर्जन

सल्यान — रोल्पाको त्रिवेणी गाउँपालिकास्थित रोल्पा सिमेन्ट उद्योगले कच्चा पदार्थ र सिमेन्ट ओसार्न प्रयोग गरेका टिपरका कारण स्थानीय बासिन्दा लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । टिपरले उडाउने धुलो र धुवाँका कारण कपुरकोट गाउँपालिका र आसपासका बासिन्दाले सास्ती भोग्नुपरेको हो ।

कपूरकोट क्षेत्रमा उद्योगले दैनिक ७० वटा टिपर सञ्चालन गरिरहेको छ । स्थानीयले लामो समयदेखि जथाभाबी टिपर नचलाउन खबरदारी गरे पनि बेवास्ता भइरहेको ५ नम्बर वडाका गिरिराज ओलीले बताए । उनका अनुसार बढी भार भएका टिपर ग्रामीण सडकमा सञ्चालन हुँदा अधिकांश सडक जीर्ण बनेका छन् । सिमेन्ट उद्योगका टिपरका कारण सारपानी, खहरे, कपूरकोट बजार, सल्ललाम, बगाले बिसौना र खालीका झन्डै २ सय परिवारले विभिन्न सास्ती भोगिरहेको उनको भनाइ छ । ‘जथाभाबी धुलो र धुँवाका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन्,’ उनले भने, ‘बढी भार भएका गाडीका कारण सडकका अधिकांश खण्ड चिराचिरा परेका छन् ।’ धुलोका कारण अधिकांश घर बस्न लायक नभएको उनको गुनासो छ ।

कपूरकोट र खाली बजारमा टिपरले उडाउने धुलोले व्यवसाय गर्न समस्या भएको स्थानीय व्यापारी शेरबहादुर रोकाले बताए । ‘टिपरले उडाएको धुलोले गाउँघर धुलाम्मे बनेका छन्,’ उनले भने, ‘कपुरकोट आउने बटुवाले पनि ठूलो दुःख भोगेर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार टिपरका कारण सडकमा दुर्घटनाको जोखिम पनि बढिरहेको छ ।

टिपरका कारण सडक छेउछाउमा लगाइएको तरकारी र अन्नबालीमा पनि असर परेको कपूरकोट गाउँपालिका–५ का वडाध्यक्ष यमकुमार बस्नेतले बताए । ‘हामीले सिमेन्ट उद्योगलाई पटकपटक सचेत गराएका छौं,’ उनले भने, ‘तर लामो समयदेखि बेवास्ता भइरहेको छ ।’

सिमेन्ट उद्योगका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीले स्थानीयलाई असर नपर्ने गरी टिपर सञ्चालन भइरहेको दाबी गरे । ‘सरकारले २ वर्षयता फ्याक्ट्रीसम्म पुग्ने सडकको मर्मतमा बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘सडकको स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको हो, उद्योगका तर्फबाट ढुवानी कम्पनीसँग सहकार्य गरी सामान्य मर्मतका काम नियमित गरिरहेका छौं ।’

उनका अनुसार कच्चा पदार्थ र सिमेन्ट ढुवानीको जिम्मा लिएको पुन कन्स्ट्रक्सनले प्रतिटन २५ रुपैयाँ रकम संकलन गरेर सडक मर्मतको काम गरिरहेको छ । सिमेन्ट उद्योगसम्म पुग्ने सडक मर्मतका लागि बजेट विनियोजन गरिए पनि गत वर्ष काम हुन नसक्दा फ्रिज गएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए ।

प्रकाशित : आश्विन १५, २०७७ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×