कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'गोल्ड मेडलिस्ट' अध्यापकलाई १४ महिना कैद

कान्तिपुर संवाददाता

काठमाडौँ — घूस खुवाएर गोल्ड मेडल लिएको आरोपमा भक्तपुर बहुमुखी क्याम्पसका अध्यापक सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र ४ लाख ५७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । 

'गोल्ड मेडलिस्ट' अध्यापकलाई १४ महिना कैद

विशेष अदालतले कोइरालासहित अरु २ जनालाई प्रश्नपत्रको गोपनियता भंग गरेको र घूस खुवाएको फरक अभियोगमा सजाय सुनाएको हो । अध्यक्ष शिवराज अधिकारी र सदस्यहरु बालेन्द्र रुपाखेती अनि रवि शर्मा अर्यालको इजलासले कोइरालामाथि प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा ६ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना गरेको हो । घूस रिसवत बुझाएको आरोपमा ८ महिना कैद अनि ४ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

त्यसैगरी घूस खुवाएर अंक बढाएको आरोपित केदार भट्टराईमाथि ११ महिना कैद र ३ लाख ५ हजार जरिवानाको फैसला भएको छ । भट्टराईमाथि प्रश्नपत्रको गोपनियता भंग गरेको आरोपमा ४ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना अनि घूस दिएको आरोपमा ७ महिना कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला भएको हो ।

यी दुवैसँग घूस लिएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको एम ए गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यमाथि ११ महिना कैद र एक लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला भएको हो । उनीमाथि पनि प्रश्नपत्र गोपनियतामा ४ महिना र घूसको आरोपमा ७ महिना कैद सजाय भएको हो । प्रश्नपत्र गोपनियतामा ५ हजार जरिवाना भयो भने डेढ लाख रुपैयाँ उनले घूस नै बुझाएको पुष्टि भएको हो ।

आरोप के थियो ?

शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइरालामाथि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयभित्र सेटिङ गरेर अंक बढाएको र त्यसका आधारमा प्रथम श्रेणी पाउनुका साथै सर्वप्रथम भएर गोल्डमेडलसमेत जितेको आरोप थियो । कोइरालाले त्रिविको पनिका मानविकी संकायमा एमएको गोप्य शाखामा काम गर्ने शाखा अधिकृत रामबहादुर कर्माचार्यसँग मिलेमतो गरी १ लाख ५० हजार रुपैयाँ घूस दिएका थिए । कोइरालाले यसअघि नै ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए ।

एमए इकोनोमिक्समा उनले सबै परीक्षार्थीको भन्दा बढी प्राप्तांक ल्याई सन् २०१९ को दीक्षान्त समारोहमा गोल्ड मेडल पनि लिए । उनले एमएको ग्रामीण विकास विषयमा पनि प्रथम श्रेणी हासिल गरेका थिए । एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित भइकन पनि उत्तीर्ण भएका थिए । १५ वटा पेपरमा ३ देखि ५० नम्बरसम्म कुल २२४ अंक थप गर्न घूस लिएको अख्तियारको आरोप थियो ।

अख्तियारले उनको साथमा केदार भट्टराईले पनि घूस दिएर अंक बढाएको आरोप लगायो । केदार भट्टराई बानेश्वर बहुमुखी म्याक्पसमा कामु प्रशासनिक अधिकृत छैठौं तहमा कार्यरत थिए । भट्टराईले ५ पेपरमा १०/१० अंकका दरले ५० अंक बढाउन ३ लाख घूस दिएका थिए । कुल घूस रकम ४ लाख ५० हजार थियो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट विद्यार्थीको लब्धांक नम्बर परिवर्तन गरी फर्जी प्रमाणपत्र जारी हुने गरेको त्यो नौलो घटना थियो । अख्तियारको टोलीले त्यतिबेला उनीहरुलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो ।


प्रकाशित : आश्विन १४, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?