कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भूत झार्न’ बालिकाको गालामा तातो पन्युँ !

जनकराज सापकोटा

काठमाडौँ — नरबहादुर शाही गोकर्णेश्वरबाट सार्वजनिक गाडी चढेर सोमबार महानगरीय प्रहरी वृत्त कीर्तिपुर पुगे । उनले प्रहरीसँग बिन्ती गरे, ‘भवितव्य पर्‍यो हजुर । साढुभाइ खराब मान्छे हैनन् । हाम्रो विरोधी पनि हैनन् । भूत झार्छु भन्दा त्यस्तो भयो । छाडिदिनुस् ।’

‘भूत झार्न’ बालिकाको गालामा तातो पन्युँ !

बाजुरा जगन्नाथ घर भई एक वर्षयता काठमाडौंमा बस्दै आएका नरबहादुरले बिन्ती बिसाएको देखेर प्रहरी नै छक्क परे । भूत लागेको निको पार्ने भन्दै आफ्नै छोरीको गालामा पन्युँ तताएर डाम्ने साढुभाइलाई छुटाउन नसाको बिमार भएका नरबहादुर प्रहरीकहाँ धाएका थिए ।

घटना हो, गत असोज १ गतेको । कीर्तिपुर नगरपालिका ६ मा बस्ने किशोर शाहीले डेरामा बस्न आएकी साढुदाइकी १० वर्षीया छोरी प्रमिला शाहीको गालामा पन्युँ तताएर डामिदिए । बेलाबेला लोलाएको जस्तो गर्ने र आँखा पल्टाउने रोग लागेको भन्दै बाबु नरबहादुर शाहीले साली र एक आफन्तको जिम्मा लगाएर छोरीलाई कीर्तिपुर पठाएका थिए । झाँक्री विद्या पनि जानेको र भूत मन्साउन सक्ने बताउने किशोरले ग्यास चुल्होमा पन्युँ तताएर ‘छोड् भूत’ भन्दै बालिकाको देब्रे गालामा डामिदिए । तर यो घटना तत्कालै प्रहरीले थाहा पाएन ।

बालिकाको पोलिएको गाला सुन्निन थालेपछि साली सरस्वती शाहीले दुई दिनपछि उनलाई अस्पताल पुर्‍याइन् । अस्पतालले उपचारका क्रममा बालिकालाई सोध्यो, ‘के भएर यस्तो भयो ?’ बालिकाले अंकलले भूत झार्ने भन्दै गालामा पन्युँले डामेको बताएपछि अस्पतालले ४ गते प्रहरीलाई खबर गरिदियो । लगत्तै प्रहरीले आफूलाई ‘जान्ने विद्या’ भएको बताउने किशोर शाहीलाई पक्राउ गर्‍यो । वृत्तका डीएसपी रुकेश तण्डुकारले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र फौजदारी कसुरअन्तर्गतको अमानवीय व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।

बालिकाका बाबुले आफ्नो गाउँघरतिर बिमार भएका बेला यस्तै गरिने भन्दै साढुले पाप नगरेको बताए । उनले भने, ‘डामेको छोरीको गाला पनि ठीक भइसक्यो । अब साढुले धर्मै गर्न खोजेको हो । त्यही भएर छुटाउन गएको ।’

बालिकाकी आमा धौली शाहीले आफूहरूले ७ दिनअघि अस्पतालमा गएर छोरीलाई भेटेको र छोरीले डाक्टरलाई घटनाबारे बताएकै कारण बहिनीज्वाइँले दुःख पाएको बताइन् । उनले अझै पनि छोरीको अस्पतालमा उपचार भइरहेको र पन्युँले डामेको गाला बिसेक हुँदै गएको बताइन् । ‘छोरीलाई भूत लागेको झाँक्री विद्याले काम गर्छ कि भनेर उपचार गर्दा त्यस्तो भएको हो,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १४, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?