बाजुराका दर्जनौं बस्ती पहिरोको धरापमा - समाचार - कान्तिपुर समाचार

बाजुराका दर्जनौं बस्ती पहिरोको धरापमा 

यस वर्ष ४१ परिवारको घर भत्कियो, डरले १२६ परिवार जंगल र विद्यालयमा, सदरमुकाम मार्तडीको सडक आवागमन ठप्प
‘मान्छे नमर्दासम्म कसैले वास्ता गर्दैनन्, मरेपछि हल्लाखल्ला गरेको के काम ?’
अर्जुन शाह

बाजुरा — तीन वर्षअघि भीरबाट लडेर श्रीमान्को मृत्यु भयो । गत साउन तेस्रो साता आएको बाढीपहिरोले घरजग्गा सबै बगायो । बडिमालिका–२ घाँघरकी २८ वर्षीया लालीदेवी महतको अहिले न बस्ने घर छ, न त कमाइ खाने जग्गाजमिन । नाबालक दुई छोरासहित उनी गाउँलेको आश्रयमा छिन् ।

लालीदेवीको जस्तै बाढीपहिरोबाट बाजुरामा हरेक वर्ष दर्जनौं परिवारको बिचल्ली हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका अनुसार बाढीपहिरोकै कारण यस वर्ष विभिन्न गाउँमा ४१ परिवारको घर भत्केको छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा ६० घर पूर्ण रूपमा भत्किएका थिए ।

बूढीगंगा नगरपालिका–२ बजेडी गाउँका बासिन्दाले बस्ती सार्नुपर्ने माग गर्न थालेको वर्षौं भइसक्यो । तर सुनुवाइ नभएकोमा उनीहरू निराश छन् । १ सय २६ परिवारको बसोबास रहेको यस गाउँका बासिन्दा वर्षात्मा घर छाडेर नजिकको जंगल र बजेडी आधारभूत विद्यालयमा बस्छन् । ‘यसपालि पनि एक महिनासम्म पहिरोको डरले घर छाडेर विद्यालयमा बस्यौं,’ स्थानीय जंग नेपालीले भने । ०३४ सालमा सुरु भएको गुइगाडको पहिरोले पुरै बस्ती जोखिममा परेको उनले बताए । ‘मान्छे नमर्दासम्म कसैले वास्ता गर्दैनन् । हामी मरेपछि हल्लाखल्ला गरेको के काम ?,’ बजेडीका अर्का स्थानीय रंगलाल जैशीले भने, ‘वडा तहदेखि प्रधानमन्त्रीसम्मलाई बस्ती सार्नुपर्ने माग गर्दै आएका छौं ।’

खप्तड छेडेदह गाउँपालिकामा पर्ने गुम्लागाउँ पनि गुइगाडकै पहिरोको चपेटामा छ । ‘हाम्रो गाउँका ४७ परिवार वर्षात्मा सधैं अनिँदो बस्छौं,’ स्थानीय वीरबहादुर रावतले भने, ‘गाउँ छाडेर जाने अरू ठाउँ छैन ।’ बस्ती सार्नुको विकल्प नभएको वडाध्यक्ष खगेन्द्र रावत बताउँछन् । गुइबन गाउँको अवस्था पनि उस्तै छ । ‘जग्गा सबै पहिरोमा बगिसक्यो,’ स्थानीय बिर्ख रावलले भने, ‘बाह्रै महिना पहिरो बग्छ । कुन दिन हाम्रा घर पनि बग्छन् ।’

पहिरोकै कारण साँफे–मार्तडीको बाजुरा सडक खण्डको दर्जनौं ठाउँमा क्षतविक्षत भएको छ । असार पहिलो सातादेखि सदरमुकाम मार्तडीको सडक आवागमन ठप्प छ । बार्जुगाडदेखि जडांगासम्म ठाउँठाउँमा सडकको तलमाथिबाट पहिरो गएर भत्किएको छ । बाढीपहिरोकै कारण बूढीगंगा नदीको बेलिब्रिज र ताप्रिसेराको पक्की पुल पनि बगेको छ । अम्कोटमा गएको सबैभन्दा ठूलो पहिरोका कारण सडक मर्मत कार्य असहज छ ।

गदखाटीको पहिरो

निर्माण सम्पन्न भएको तीन वर्ष नपुग्दै बाजुरा सडक क्षतविक्षत भएको हो । ‘कतिपय ठाउँमा सडकको निसान पनि मेटिएको छ,’ साँफे–मार्तडी सडक डिभिजन कार्यालय अछामका इन्जिनियर दमनकुमार बिष्टले भने । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले सडक खोल्ने प्रयास भइरहेको बताए । ‘जताततै ठूलाठूला पहिरा छन् । कतिपय बस्तीहरू त सार्नै पर्ने अवस्था छ,’ उनले भने ।

६ वर्षअघि विज्ञ टोलीले अध्ययन गरेर साबिकका बिच्छया, रुगीन, गोत्री, साप्पाटा, दहकोट र मानाकोट गाविसका बस्ती पहिरोको जोखिममा रहेकाले सार्नैपर्ने सुझाव दिएको थियो । प्रतिवेदनले बाजुराको ५१ प्रतिशत भूभाग बस्ती बस्न उपयुक्त नभएको र ९० वर्ग किलोमिटर क्षेत्रफल पहिरोबाट प्रभावित देखाएको थियो ।

जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्ने योजना पनि आयोगले अघि सारेको थियो । ०७१ देखि सरकारले एकीकृत बस्ती विकासको अवधारणा अघि सार्दै बाजुरालाई प्राथमिकतामा राखेको थियो । सरकारले ०७२/७३ को बजेटमा एकीकृत बस्ती विकासका लागि २५ करोड विनियोजन गरेको थियो । उक्त योजनाले ०७३/७४ को बजेटमा पनि निरन्तरता पाएको थियो, जुन बेला बाजुराका लागि ७१ करोड विनियोजन गरिएको थियो । तर रकम फ्रिज भयो ।

त्यसबेला एकीकृत बस्ती विकास गर्न भू–उपयोग नीतिको पुनरावलोकन, जग्गा खरिद तथा अधिग्रहण र मुआब्जालगायत कानुनी प्रक्रियाबारे तयारीसमेत गरिएको थियो । ‘बाजुराको विकास र सुरक्षाका लागि एकीकृत बस्ती विकास योजना कार्यान्वयनको विकल्प छैन,’ बडिमालिका नगरपालिकाका प्रमुख पदमबहादुर बडुवालले भने ।’

प्रकाशित : आश्विन १४, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

सक्रिय संक्रमित २० हजार नाघे

सरकारले व्यवस्थापन गर्न नसक्ने घोषणा गरेको संख्यालाई भेट्टाउन अब ४ हजार ६ सय ४ मात्रै बाँकी छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । सोमबारसम्मको तथ्यांकअनुसार २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन् । सरकारले व्यवस्थापन गर्न नसक्ने घोषणा गरेको संख्यालाई भेट्टाउन अब ४ हजार ६ सय ४ मात्रै बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार जना नाघेमा व्यवस्थापन गर्न नसक्ने असोज ७ मै घोषणा गरेको थियो ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए व्यवस्थापन गर्न नसक्ने भन्दै बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने सिफारिस गरेको थियो । मन्त्रालयको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए, ‘संक्रिय संक्रमित २५ हजारभन्दा बढी हुँदा हाम्रो पूर्वाधार र स्वास्थ्यसम्बन्धी निकायले व्यवस्थापन गर्न गाह्रो हुने भएकाले देशलाई बन्दाबन्दी गर्न मन्त्रालयले सिफारिस गर्ने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमित १८ हजार पुग्दै यो निर्णय गरेको थियो । पछिल्ला ६ दिनमा २ हजार ६ सय ८२ संक्रिय संक्रमित थपिएका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा मात्रै ११ हजार २ सय ७४ जना अर्थात् ५५.२७ प्रतिशत छन् । काठमाडौंमा मात्रै ९ हजार १ सय ५३ जना छन् ।

संक्रिय संक्रमितको संख्या दिनहुँ बढेपछि स्वास्थ्य मन्त्रालयले बन्दाबन्दी गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । ‘२५ हजार जनाभन्दा बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने सिफारिस आइपुगेको छ,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘बन्दाबन्दीको निर्णय सरकारले गर्ने हो ।’

असोज १ मा १६ हजार सक्रिय संक्रमित थिए । शनिबार १९ हजार १९ जना सक्रिय संक्रमित रहेकामा सोमबार २० हजार कटेका छन् । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै बढी संक्रिय संक्रमित हुन् । १० हजार ७ सय ७ जना घरमा आइसोलेसनमा छन् भने ९ हजार ६ सय ८९ जना अस्पतालको आइसोलेसनमा छन् । अस्पतालमा रहेकामध्ये २ सय १३ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोनाले थप ९ को मृत्यु

कोरोनाबाट मंगलबार ९ जनाको मृत्यु पुष्टि भएको छ । बाँकेको नेपालगन्ज–७ रानीतलाउका ३९ वर्षीय र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ३९ वर्षीय उनी नेपालगन्ज मेडिकल कलेजका कर्मचारी थिए । प्लाज्मा थेरापीबाट उपचार गराई उनलाई भेन्टिलेटरमा राखिएको थियो । कोहलपुरका पुरुषमा भने मधुमेहको समस्या थियो । बाँकेकै ७६ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मोरङको सुनवर्षी–७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको हो । सर्लाहीको बरहथवा–६ की ७० वर्षीया महिलाको वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर आइतबार उनी अस्पताल भर्ना भएकी थिइन् । चितवनका ५५ वर्षीय पुरुष, काठमाडौंका ६० र ७० वर्षीया पुरुष तथा ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

प्रकाशित : आश्विन १४, २०७७ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×