बहराइनका राजकुमार खुम्बुमा
ओखलढुंगा — हिमाल आरोहणका लागि आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई सोलुखुम्बुको खुम्बु क्षेत्रका स्थानीयले स्वागत गरेका छन् ।
लोबुचे शिखर चढ्न राजकुमारको टोली खुम्बु पुगेको छ । उनी सोमबार नाम्चेदेखि दुई दिन हिँडेर दिङबोचे पुगेको स्थानीय होटल व्यवसायी गेलु शेर्पाले बताए ।
राजकुमार खालिफालाई लुक्लादेखि नै स्थानीयले शेर्पा परम्पराको नृत्यसहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सगरमाथाको प्रथम आरोहण टोलीका जीवित एकमात्र सदस्य कान्छा शेर्पाको पनि उपस्थिति थियो । लोबुचे र मनास्लु आरोहणका लागि नेपाल आएका राजकुमारले सुरुमा खुम्बु क्षेत्रमा पर्ने लोबुचे चढेर फर्किएपछि गोरखाको मनास्लु चढ्ने योजना छ ।
सरकारले पदयात्रा र पर्वतारोहणका लागि मापदण्ड तयार गरी विदेशीलाई खुला गरेको छ । पर्यटन विभागले नौबुँदे मापदण्ड शुक्रबार जारी गरेको हो । पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकले पूर्वस्वीकृति (भिसा) लिनुपर्नेछ ।
७२ घण्टाअघिको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने, कम्तीमा सात दिन क्वारेन्टाइनमा रहने गरी होटल बुकिङ गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तीमा ५ हजार डलर बराबरको बिमा गरिएको कागजात पेस गर्नुपर्ने भनिएको छ । त्यसैगरी पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यहरूको कम्तीमा १ लाखको कोरोना बिमा गरिनुपर्ने मापदण्डमा छ ।
पर्यटन विभागले यसअघि नै बरुण त्से हिमाल आरोहणका लागि ६ नेपाली आरोहीलाई अनुमति दिइसकेको छ । उनीहरू आरोहणका लागि त्यसतर्फ गइसकेको विभागकी पर्वतारोहण शाखा प्रमुख मीरा आचार्यले बताइन् ।
अघिल्लो वर्ष आरोहणको अनुमति लिएका आरोहीहरू आगामी वसन्तकालीन सिजनमा आउनका लागि उत्साहित छन् । ‘आरोहणका लागि आउन उनीहरूले सम्पर्क गरिरहेका छन्,’ एक आरोहण कम्पनीका सञ्चालक आङबाबु शेर्पाले भने, ‘आशा गरौं, त्यतिखेरसम्म समय केही सहज होला ।’
शरद ऋतु लागेपछि सगरमाथा क्षेत्र मानिने खुम्बुमा पाइला टेक्ने ठाउँ पाइँदैनथ्यो । असोजसँगै लुक्लादेखि उकालो लाग्दा नेपाली पर्यटकलाई कोठा पाउन कठिन हुन्थ्यो । तर यो वर्ष कोभिड–१९ का कारण खुम्बु क्षेत्र सुनसान छ । ‘पर्यटक घुमाउन जाने गाइड र होटल चलाउने सबै अहिले आलु खन्ने काममा छन्,’ खुम्जुङका पासाङ शेर्पाले भने, ‘यो सिजनमा पनि यसरी शून्य भएको सम्भवत: पहिलो पटक हो ।’
प्रकाशित : आश्विन १३, २०७७ १९:२२