कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेल पक्षले दर्ता गरायो ज्ञापनपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र दर्ता गराएको छ । ज्ञापनपत्रमा महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका निर्णय सच्चाउन माग गरिएको छ ।

पौडेल पक्षले दर्ता गरायो ज्ञापनपत्र

नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले पार्टी केन्द्रीय समितिमा सोमबार दिउसो ज्ञापनपत्र दर्ता गराएका हुन् । 'तोकिएको समयमा निष्पक्ष र स्वच्छ तरिकाले महाधिवेशन होस् भन्ने हाम्रो माग हो, जुन तरिकाले सभापतिजी चलिरहनुभएको छ, त्यसले आशंका उत्पन्न गराएको छ,' केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कान्तिपुरसँग भने ।

पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको त्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

महाधिवेशनको सुनिश्चितता, निश्चितता, विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय यो पत्रमा उल्लेखित छन् । यी विषयहरुमा विरोध गरिरहेको कृष्णप्रसाद सिटौला समूहले भने यसमा हस्ताक्षर गरेको छैन ।

पौडेल पक्षले विधान विपरित गठन भएका केन्द्रीय विभाग र क्रियाशील सदस्यतासम्बन्धि निर्णयहरु खारेज हुनपर्ने माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक अघि नै विधान विपरितका निर्णय सच्चाईनुपर्ने माग पौडेल पक्षले राखेको छ । ‘सच्चिएन भने चरणबद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउँछ,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने ।

‘पार्टी विधान, परम्परा र लोकतन्त्रका आधारभूत मान्यता, विधि, प्रक्रियालाई उपेक्षा गर्दै स्थापित नैतिक परिधि र मर्यादालाई पनि उल्लघंन गर्ने कार्यले प्रश्रय पाईरहेको छ, के गर्नु उचित र के गर्नु अनुचित भन्ने सीमा मेटाउने गतिविधि नेतृत्वमै बढिरहेका छन्,’ दर्ता गरिएको पत्रमा उल्लेख छ, ‘प्रमुख विपक्षी पार्टीको जिम्मेवारी अनुरुप संसद र सडकबाट पनि सरकारका गतिविधिमाथि खबरदारी र नियन्त्रण गरी जनसमर्थन आफूतिर बढाउने भूमिकाबाट कर्तव्यच्यूत र अकर्मण्यजस्तै भएको छ ।’

पौडेल पक्षले यसअघि पनि यस्तै खालको विरोधपत्र सभापति देउवालाई बुझाएको थियो । विरोधका बाबजुद देउवाबाट विभाग गठनको क्रम नरोकिएपछि पौडेल पक्ष चिढिएको हो । पछिल्लोपटक क्रियाशील सदस्यता वितरणमा समेत अपारदर्शी गरिएको भन्दै देउवालाई दबाब बढाउन पौडेल पक्षले सामूहिक हस्ताक्षरबाटै ज्ञापनपत्र दर्ता गराएको हो ।

‘महाधिवेशनको औपचारिक प्रकृया सुरु भएपछि नेतृत्व झन बढी विधिविहिनता, अराजकता, अविश्वास, द्वन्द्व र पक्ष विपक्षको रुपमा ध्रुवीकरण गराउन उद्दत देखिएको छ, ‘पत्रमा भनिएको छ, ‘यसले निष्पक्ष महाधिवेशन होइन, केवल पार्टी कब्जा गर्ने उद्देश्य हो भन्ने छर्लङ्ग भएपछि यस्ता क्रियाकलापबाट महाधिवेशनको निष्पक्षमा गम्भीर प्रश्न उठेको हो ।’

पौडेल पक्षले बुझाएको ज्ञापनपत्र:

प्रकाशित : आश्विन १२, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?