कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरापमै बसोबास

प्रतीक्षा काफ्ले

स्याङ्जा — तमादीमा बिहीबार पहिरो जाँदा स्थानीय माया नेपालीसहित उनको घरका ९ जनाले ज्यान गुमाए । शुक्रबार फेरि खसेको पहिरोले २ घर विस्थापित भए ।

धरापमै बसोबास

‘पहिरोका कारण एक दर्जन घर झुन्डिएका छन्,’ वालिङ–१४ तमादीका टीकाराम लुइँटेलले भने, ‘मेलापात र घरधन्दाले दिन त बितिहाल्छ , रातको समय बढी जोखिम छ । डरलाग्दो गरी पानी आउँछ ।’ धेरै परिवार छिमेकमा मिलेर राति सुत्ने गरेको उनले बताए ।

लुइँटेलका अनुसार बस्ती जोखिमको विषयमा स्थानीय, प्रदेश र संघ सरकारसमक्ष अनुरोध गरिँदै आइएको छ । तीनवटै सरकारले प्राविधिक पठाएर अध्ययन गर्ने र व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिए पनि पूरा भएको छैन । कमजोर भूबनोट भएको क्षेत्रको जमिन भिरालोमा छ । पानीको मूल धेरै ठाउँ पलाउँछन् । प्राविधिक अध्ययनबिनै खनिएका सडकका कारण जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ । २०६७/६८ मा खनिएको वालिङ–भुर्मे–अर्चलडाँडा–डुम्रेभन्ज्याङ–हुवास ग्रामीण सडक दुई वर्षअघि मात्रै चौडा गरिएको थियो । सडकमा बारम्बार डोजर लगाउने काम भइरहेको स्थानीय कल्पना अर्याल बताउँछिन् ।

‘मेरो घर जोखिममा छ, जतिबेला जे पनि हुन सक्छ भनेर माया नेपालीले पनि बारम्बार भन्दै आएकी थिइन्,’ अर्यालले भनिन्, ‘सडक निर्माणको क्रममा तीन/चारपटक रोकिन् पनि । तर कतै सुनुवाइ भएन । आज उनको परिवारले यति ठूलो क्षति व्यहोर्नुपर्‍यो । यसको दोष कसलाई दिने ?’ जोखिम हुने जानाजान डोजर लगाउँदा अहिले समस्या उनले गुनासो गरिन् । यस क्षेत्रमा ३५ घर पहिरोको उच्च जोखिममा रहेको उनले बताइन् ।

‘ग्राभेल हाल्ने ठाउँमा ग्राभेल हाल्दैन, वाल चिन्ने ठाउँमा वाल चिन्दैन,’ लुइँटेलले भने, ‘माथि–माथि डोजर लगाउँछ यसै छाडिदिन्छ । आवश्यकभन्दा बढी सडक खनिएको छ । इन्जिनियरिङ पनि गरिएको छैन ।’

‘सडकको कटिङ धेरै छ । जति धेरै कटिङ गर्‍यो उति धेरै पैसा आउने रहेछ, काम देखिने रहेछ । ठेकेदार र इन्जिनियर यस विषयमा केही बोल्दैनन् । सडक डिभिजन कार्यालयमा सम्पर्क गर्दा पनि बजेटअनुसारको काम सकियो भनेर पन्छिने मात्र गर्छन्,’ स्थानीय भीमप्रसाद लुइँटेलले भने, ‘अब हामीले बाटो खन्न होइन सरसफाइ गर्नका लागि पनि डोजरसमेत लगाउन दिने छैनौं ।’ क्षति भएका ३ वटा घरको परिवारलाई व्यवस्थापन गर्न समिति बनाएर घडेरी खोज्न थालिएको छ । नगरपालिकाले सडक अर्कै सरकारले खनेको भन्दै पन्छिने गरेको छ ।

वालिङ नगर प्रमुख दिलीपप्रताप खाँडले बस्ती जोखिममा छ भनेर बारम्बार कुरा उठाउँदै आएको दाबी गरे । ‘सडक विभागले टेवा पर्खा बनायौं भने तर कहींकतै मात्र । वाल नभएपछि बर्सेनि पहिरोको आकार बढ्दै गयो । तत्कालै १२ वटा घर सार्नुपर्छ । अब पनि सचेत भइएन भने ठूलो क्षति व्यहोर्नुपर्छ,’ उनले भने । सडक विभागसँग छलफल गर्ने उनले बताए ।

स्याङ्जाका एसपी होबिन्द्र बोगटीले तमादीको बस्ती पहिलेदेखि नै पहिरोको जोखिममा रहे पनि व्यवस्थापनतर्फ कसैको ध्यान नपुगेको देखिएको बताए । बाहिरबाट एक दिन मात्र खटिने व्यक्तिले त जोखिम मोल्नुपर्ने अवस्थामा स्थानीयले प्रतिदिन झेल्नु कष्टपूर्ण रहेको उनको भनाइ छ । सम्बन्धित निकायले वैकल्पिक व्यवस्था गरे सुरक्षाकर्मी खटाएर भए पनि बस्ती स्थानान्तरण गरिने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १२, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?