कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चटपटेको निहुँमा बालिकाको हत्या

कान्तिपुर संवाददाता

सुनसरी — चटपटे किनबेचको विषयमा वादविवाद हुँदा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको हत्या भएको छ ।

हत्या आरोपमा छिमेकी १६ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले बताए ।

प्रहरीका अनुसार शनिबार अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो ।

त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेका थिए । ‘बालिकाले राति चटपटे नभएको बताएपछि बालिकाको टाउकोमा बोतलले हानेको र त्यसपछि भेस्ट र रुमालले घाँटी कसेर हत्या गरी आफ्नै घरमा गएर सुतेको बयान ती किशोरले दिएका छन्,’ डीएसपी कार्कीले भने ।

प्रहरीका अनुसार मीनाका अभिभावकले आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरीलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट लैला नामको कुकुरसहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

आइतबार बिहान घरमै पक्राउ परेका किशोरलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

प्रकाशित : आश्विन ११, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?