कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोखिममा बेवास्ता, क्षतिपछि राहत

परिवारका नौ जना गुमाएकी मनीषा आफन्तबाट सदाका लागि बिछोडिनु पर्दा विक्षिप्त भएकी छिन् ।
‘कि हामीलाई सार्देऊ कि वाल (पर्खाल) लगाएर पहिरो नझर्ने बनाइदेऊ भनेका थियौं,’ पोखरामा अस्पतालको बेडबाट मनीषाले भनिन्, ‘अन्त वाल लगाइयो, त्यहाँ लगाइएन । हामीले भनेको कसैले सुनेनन् ।’
दीपक परियार

पोखरा — मेलापात गरेर जीविका चलाउँदै आएका मनीषा नेपालीको परिवारमा सुखका दिन कहिल्यै फिरेनन् । उनी ६ वर्षकै हुँदा बुबा बिते । झन् बिहीबारको पहिरोले परिवार नै सखाप बनाएपछि उनी अस्पतालको बेडमा छटपटाइरहेकी छन् ।

जोखिममा बेवास्ता, क्षतिपछि राहत

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा आएको पहिरोले उनको परिवारका ९ जनालाई घरभित्रै पुर्‍यो । उनको खुट्टा भाँच्चियो ।

घरमाथिबाट खनिएको ग्रामीण सडकले पोहोरै डाँडा चर्कायो । अघिल्लो वर्ष बाटोको कुनोमा पहिरो खस्यो । गएको महिना घरको आडैमा पहिरो झर्‍यो । जिल्ला प्रशासन, नगरपालिका, प्रहरीलगायत सबैलाई त्यो ठाउँ जोखिममा रहेको थाहा थियो । पहिरो रोकथाम गर्ने र जोखिम न्यूनीकरणतिर कसैले चासो दिएनन् । बरु घर अन्तै सार्न भने ।

५–६ वर्षअघि वालिङबाट पर्वतको हुवास जोड्ने सडकखण्डमा डुँडखोलाबाट तमादी हुँदै पुन: त्यहीं सडकमा जोड्ने अर्को बाटो खनियो । त्यतिबेलैदेखि नेपाली परिवारको घर जोखिममा पर्‍यो । संघ सरकारको बजेटबाट सडक विभागले खनेको बाटो अनुगमन गर्न उक्त क्षेत्रबाट निर्वाचित सांसद पद्माकुमारी अर्याल तमादी पुगिन् । आफ्नै माइती गाउँसमेत रहेकाले हालकी भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री अर्याल तमादी पुगेकी थिइन् । नेपाली परिवारले उनको गाडीको बाटो छेक्यो । ‘कि हामीलाई सार्देऊ कि वाल (पर्खाल) लगाएर पहिरो नझर्ने बनाइदेऊ भनेका थियौं,’ पोखरामा अस्पतालको बेडबाट मनीषाले भनिन्, ‘अन्त वाल लगाइयो, त्यहाँ लगाइएन । हामीले भनेको कसैले सुनेनन् ।’

मनीषाको परिवारमा सम्पत्तिका नाममा टाउको लुकाउने टिनको छाप्रो र पाखोबारीमात्रै थियो । जब पानी पथ्र्यो, उनको परिवार दगुर्दै छिमेकीको घरमा पुग्थे । यो भदौसम्म उनीहरू छिमेकीकै घरमा सुते । असोज लागेपछि घाम लाग्लाजस्तो भयो । फेरि आफ्नै घरमा बसे । बुधबार मुसलधारे पानी पर्‍यो । मनीषाले सधैंझैं छिमेकी मित्रलाल खनालकोमा सुत्न जानुपर्ने बताइन् । साइँला दाइ कुलदीप मानेनन् । केही नहुने भन्दै उनीहरू घरमै बसे । त्यसको भोलिपल्ट पहिरोले उनका दुई आमा, तीन दाइ, दुई भाइ, एक भाउजू, एक भतिजा र छ्यामा (सानिमा) लाई लग्यो । परिवारमा उनीबाहेक माइलो दाइ भोजराज बाँकी छन् । रोजगारीको सिलसिलामा मुम्बई पुगेका उनी घर फर्किँदै छन् ।

मनीषालाई आमा माया नेपालीले जन्माए पनि रेखदेख गरेको/हुर्काएको ठूलीआमा कुमारीले हो । अस्पतालको बेडमा अझै पनि उनी आफ्नी आमाभन्दा ठूलीआमालाई खोजिरहन्छिन् । बेडबाट उठेर हिँड्न खोज्छिन् । शल्यक्रिया गरिएको दाहिने खुट्टा गह्रुँगो हुन्छ । उनीसँग कुरुवा बसिरहेकी आफन्त कमला परियार सम्झाइरहन्छिन् । मनीषाको आँसु पुछिरहन्छिन् । गहभरि आँसु बनाएर मनीषाले भनिन्, ‘हामीले भनेको पहिल्यै सुनेको भए आज म एक्लो हुनुपर्थेन ।’

पोहोर पहिरो खस्दा वडा कार्यालय, प्रहरी कार्यालयबाट पुगेर हेरेका थिए । उनीहरूले त्यहाँ नबस्न सल्लाह दिए । जाऊन् कहाँ ? न अन्त जग्गा छ, न घर बनाउन सक्ने हैसियत । पोहोरको बर्खा जसोतसो कटेपछि यो बर्खामा बुटवल झर्ने योजना थियो, नेपाली परिवारको । मनीषाकै कान्छी छ्यामा कृष्णा परियारले उतै बोलाएकी थिइन् । पहिरोमुनि नबस्न बरु बुटवलतिरै कोठाभाडामा लिएर दु:खसुख काट्न आग्रह गरेकी थिइन् । ‘गाउँलेले यत्रो परिवार गएर कहाँ बस्छौं भनेर सम्झाए । त्यसपछि गइएन,’ मनीषाले भनिन्, ‘बरु बुटवल नै झरेको भए पनि सबै बाँच्ने रहेछन् ।’

स्याङ्जाको वालिङ नगरपालिका–१४ मा शुक्रबार बिहान थपिएको पहिरोमा पुरिएका घर । तस्बिर सौजन्य : निर्भीकनारायण भुर्तेल/केटीभी

पटक–पटक वडालाई भन्दा पनि बेवास्ता गरेकोप्रति उनको गुनासो छ । पहिरो रोक्नेमात्रै केही उपाय अपनाएको भए, घर अन्तै सार्न सहयोग गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ । ‘घरमा टाठोबाठो पनि कोही छैन, त्यस्तो गर्न सक्ने हाम्रो पहुँचै भएन,’ उनी भक्कानिइन् ।

जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

संघ र प्रदेशबाट राहत पाउने सुनेकी उनलाई त्यस्तो रकमको कुनै मोह छैन । भन्छिन्, ‘जुन भन्ने परिवार नै नरहेपछि पैसाले मात्रै के गर्ने ?’

बागलुङको ढोरपाटन नगरपालिकाको ४ वटा वडालाई असर पुर्‍याउने गरी भदौ १७ मा बाढीपहिरो आयो । पहिरोले थुनिएको भुजीखोला फुट्दा ६, ७, ८ र ९ मा पर्ने अधिकारीचौर, बोबाङ क्षेत्रका एक सय बढी घर बगे । २२ को मृत्यु भयो । १६ अझै बेपत्ता छन् । पाँच सयजना घरबारविहीन भएका छन् ।

जिल्ला भूसंरक्षण कार्यालय बागलुङले ०७५ को वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको थियो । ढोरपाटन नगरपालिका र भुजीखोलाको तटीय उच्च जोखिममा भएकाले बस्ती नै सानुैपर्ने सुझाव कार्यालयले दिएको थियो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०७६/७७ मा समेत उक्त क्षेत्रलाई बाढीपहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखिएको थियो ।

बागलुङको ढोरपाटन-९ मा बाढीपहिरोले बस्ती नै बगाएपछिको दृश्य फाइल तस्बिर : प्रकाश बराल/कान्तिपुर

जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको योजनामा पूर्वसावधानी अपनाउनुपर्ने उल्लेख थियो । गत वर्ष समितिले मनसुन आपत्कालीन कार्ययोजनामा भुजीखोलाको तटीय क्षेत्र बाढीपहिरोको उच्च जोखिममा रहेको जनाएको थियो । तर जोखिम न्यूनीकरण गर्न कुनै प्रयास गरेनन् । पहिरोले खोला छेक्दा बनेको ताल फुट्दासम्म तलपट्टि रहेका बस्तीमा सतर्कता अपनाउन पूर्वसूचना प्रणालीको समेत प्रयोग भएन ।

क्षतिअघि जोखिम न्यूनीकरणमा ध्यान नपुगे पनि प्राकृतिक प्रकोपपछि भने पीडितलाई भेट्न र राहत घोषणा गर्न संघ तथा प्रदेश सरकारबीच हानथाप नै हुने गरेको छ । गृह मन्त्रालयको प्रकोपपीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन) मापदण्ड, ०७७ अनुसार विपद्को घटनामा परी परिवारको एक जनाको मृत्यु भएमा दुई लाख रुपैयाँ र त्यसपछिका व्यक्तिलाई १–१ लाख रुपैयाँ दिने प्रावधान छ । त्यसो हुँदा उनले जिल्ला विपद् समितिमार्फत १० लाख रुपैयाँ राहतस्वरूप पाउनेछिन् ।

घर पूर्ण रूपमा नष्ट भएमा वा पूर्ण नष्ट नभए पनि सम्भावित खतराबाट बच्न सुरक्षित स्थानमा नयाँ घर निर्माण गर्नुपर्ने भएमा जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी प्रतिपरिवार एक लाख रुपैयाँ प्रदान गर्छ । मनसुनको अवधिमा बाढी, पहिरो, डुबान तथा कटानलगायतका कारण पूर्ण घर क्षति भई घरबारविहीन भएकाका लागि ०७२ को भूकम्पपीडितलाई प्रदान गरिए बराबरको सहायता उक्त विधि र प्रक्रियाबाट गरिन्छ । एकीकृत बस्ती बसाल्न प्रतिपरिवार ३ लाख रुपैयाँ गृह मन्त्रालयले दिन्छ ।

गण्डकी प्रदेशको विपद् व्यवस्थापन कोषले प्रतिमृतक ५०–५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्छ । बेपत्ताको हकमा पनि त्यति नै रकम प्रदान गर्छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले घर बनाउन एक लाख रुपैयाँसम्म दिन्छ ।

नैतिक जिम्मेवारी लिन्छु : नगरप्रमुख खाँड

यो असारमा वालिङ नगरपालिकाले १४ वटै वडालाई जोखिममा रहेका बस्ती र घरको विवरण पठाउन पत्र काट्यो । सबै वडाबाट एक सयजति घर सार्नुपर्ने विवरण गयो । तमादीबाट पनि विवरण गएको थियो । नगरपालिकाले वडा नम्बर १३ का ३२ घर, ८ का आठ घर र अन्यत्र छिटपुट जोखिममा रहेका घर अन्तै सार्‍यो । उनीहरूलाई नजिकैको विद्यालय र सामाजिक भवनमा राखिएको थियो ।

तामादीको नेपाली परिवारको घर नसार्नुमा कमजोरी भएको नगरप्रमुख दिलीपप्रताप खाँड स्विकार्छन् । ‘वाल नलगाउनुमा सडक विभागको कमजोरी हो,’ उनी भन्छन्, ‘उनीहरूलाई त्यहाँबाट नसार्नुमा हाम्रो कमजोरी हो । नगरप्रमुखको नाताले यो क्षतिको नैतिक जिम्मेवारी मैले पनि लिनुपर्छ ।’ ९ जनाको मृत्यु हुने गरी भएको क्षतिमा आफ्नो पनि हात छ भन्ने महसुस भएको उनले बताए । सडक विभागले सामान्य वाल नचिन्दा ठूलो मानवीय क्षति भएको उनको भनाइ छ ।

मनसुन सुरु भएयता प्रदेशभरिकै जिल्लामा बाढीपहिरोका घटना भए । तिनमा ज्यान गुमाउनेमा अधिकांश दलित र जनजाति समुदायका गरिब परिवारका हुन् । ज्याला/मजदुरी, खेतीकिसानी गरेर हातमुख जोर्दै आएकाहरू विपद्मा परेपछि जीवनयापन झनै कठिन बनेको छ ।

मानवशास्त्री डा. प्रकाश उपाध्याय समाजमा शोषित, पीडितमाथि नै प्राकृतिक विपद् पर्नुलाई संरचनागत हिंसा भन्न रुचाउँछन् । कमजोर आर्थिक अवस्था र सामाजिक हैसियतका कारण डाँडापाखा, खोला किनार, पहिरोको मुनि बस्नुपर्ने उनीहरूको बाध्यता भएको उनी बताउँछन् । ‘पीडित मान्छे सबैतिरबाट पीडित हुन्छ,’ उनी भन्छन्, ‘जो कमजोर छ, उसैमाथि प्राकृतिक प्रकोप पर्छ । जहाँ साह्रो, त्यही गाह्रो भनेजस्तै छ ।’

राज्यले समेत शक्तिशाली व्यक्ति बसोबास गर्ने सहर, राजधानीमा मात्रै ध्यान दिँदा हरेक वर्ष विपद् दोहोरिने गरेको उनको भनाइ छ । सरकार र स्थानीय तहले पहुँचवालालाई मात्रै ध्यान दिने र कमजोर सधैं कमजोर भइरहने संरचनागत कुचक्र तोड्न दीर्घकालीन समस्या समाधानका उपाय अपनाउनुपर्ने उनको धारणा छ ।

प्रकाशित : आश्विन १०, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?