कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ प्रतिशत संक्रमित गम्भीर

देशभरिका अस्पतालमा शुक्रबार ८,२३७ संक्रमित उपचारत रहेकामा २६६ जना अर्थात् ३.२२ प्रतिशत गम्भीर छन् । यीमध्ये २२७ जना आईसीयूमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ दिनको उपचारपछि भक्तपुरका ३० वर्षीय एक युवक बिहीबार डिस्चार्ज भए । कोरोनाकै कारण निमोनिया भएपछि उनलाई सघन कक्षमा राखेर उपचार गर्नुपरेको थियो ।

३ प्रतिशत संक्रमित गम्भीर

उनीजस्तै काठमाडौंकी एक महिलालाई पनि २६ दिनसम्म आईसीयूमै राखेर उपचार गर्नुपरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । संक्रमितको संख्यासँगै आईसीयूमा राखेर उपचार गर्ने कोरोना संक्रमितको संख्या पनि बढेको उनले बताए ।

‘निजी अस्पतालमा महँगो शुल्क तिरेर पनि सुधार नभएपछि गम्भीर बिरामीलाई हाम्रो अस्पतालमा ल्याउँछन्,’ राजभण्डारीले भने, ‘बिरामीको अवस्थाअनुसार एन्टिबायोटिक, रेमडेसिभिर र प्लाज्माथेरापीलगायत विभिन्न विधिबाट उनीहरूलाई लामो समय आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरी निको बनाएर पठाउने गरेका छौं ।’

अस्पतालका सरुवा रोग विशेष डा. अनुप बास्तोलाले आईसीयूमा उपचार गरेका गम्भीर खालका बिरामी निको भएपछि फेसबुकमा खुसी हुँदै लेखेका छन्, ‘खुसीको सीमा हुँदैन । जब बिरामी ठीक हुनुहुन्छ ।’ घरमा आइसोलेसनमा बस्दा सास फेर्न गाह्रो भएपछि र खोकी नरोकिएपछि अस्पताल भर्ना हुन आउने गरेको उनले बताए । ‘यस्ता बिरामीलाई निमोनिया भइसकेको हुने भएकाले आईसीयूमै राखेर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने । अन्यत्रको तुलनामा यो अस्पतालमा गम्भीर खालका बिरामी निको हुने दर उच्च छ । अस्पतालका अनुसार अहिलेसम्म ८२ वर्षीया एक महिलाको मात्रै उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार १६ जना गम्भीर खालका बिरामी उपचारत छन् । तीमध्ये ४ जना भेन्टिलेटरमा छन् । कोरोना देखिनुअघि दुई बेडको आईसीयू रहेको यो अस्पतालमा अहिले १८ बेड थपिएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा छन् । ‘केही दिनयता गम्भीर खालका बिरामी आउने क्रम बढेको छ,’ अस्पतालका कोभिड फोकल पर्सन डा. प्रवीन नेपालले भने, ‘कोरोनकै कारण निमोनियाले थलिएका ९० प्रतिशतभन्दा बढी संक्रमित आइरहेका छन् ।’ आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेमा ६० वर्षभन्दा माथिका वृद्धवृद्धा बढी रहेको उनले बताए । शिक्षण अस्पताल महाराजगन्जमा २२ जना गम्भीर खालका संक्रमित उपचाररत छन् ।

छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा ९० जना संक्रमित रहेकामा १८ जनाको आईसीयूमा उपचार भइरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २ संक्रमितमध्ये आईसीयूमा १२ जना र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । वीर अस्पतालमा १ सय २ जना संक्रमित भर्ना भएकामा १६ जना गम्भीर छन् । एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सरकारी अस्पतालमा मात्रै होइन, निजी अस्पतालमा पनि गम्भीर खालका बिरामी भर्ना भएका छन् । शुक्रबार उपत्यकामा ६७ जना कोरोनाकै कारण थलिएका संक्रमितको निजी अस्पतालमा उपचार भइरहेको छ । सबैभन्दा बढी नर्भिक अस्पतालमा १४ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालमा भर्ना भएका ४५ संक्रमितमध्ये १५ जना गम्भीर खालका छन् । त्यस्तै मेघा अस्पतालमा ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् । ग्रान्डी अस्पतालमा २० जना संक्रमित भर्ना भएकामा ६ जनाको आईसीयू र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गम्भीर खालका बिरामी बढ्दै

स्वास्थ्य मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा भर्ना गर्नुपर्ने खालका बिरामी दिनहुँ बढिरहेका छन् । संक्रमितको संख्या बढेसँगै गम्भीर खालका बिरामी बढेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुलेको भदौ २५ सम्म गम्भीर खालका बिरामीको संख्या १ सय ८६ जना मात्रै थिए । तीमध्ये आईसीयूमा १ सय ६५ र भेन्टिलेटरमा २१ जना उपचारत थिए ।

आईसीयूमा संख्या असोज १ मा बढेर २ सय २१ पुग्यो । जसमा भेन्टिलेटरमा राखेर ३९ जनाको उपचार गर्नुपरेको थियो । भदौ २५ मा भने भेन्टिलेटरमा राखेर उपचार गर्नेमा २१ जना मात्रै थिए । असोज ५ मा भेन्टिलेटर र आईसीयूमा राखेर उपचाररतको संख्या २ सय २६, ६ गते २ सय २७ पुगेको थियो । मंगलबार भने भेन्टिलेटर र आर्ईसीयूमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या २ सय ६० जना पुगेको थियो । जसमा आईसीयूमा २ सय २३ र भेन्टिलेटरमा ३७ जना थिए । शुक्रबार देशभरिका अस्पतालमा उपचार ८ हजार २ सय ३७ संक्रमितमध्ये २ सय ६६ जना अर्थात् ३ दशमलव २२ प्रतिशत गम्भीर खालका संक्रमित छन् । यसमा २ सय २७ जना आर्ईसीयूमा र ३९ जना भेन्टिलेटरमा छन् ।

धुलिखेल अस्पतालसहित काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै १ सय ६९ जना गम्भीर रूपमा थलिएका संक्रमित छन् । यसमा १ सय ३५ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा राखेर उपचाररत छन् । गम्भीर रूपमा थलिएका संक्रमितमध्येका झन्डै ६४ प्रतिशत काठमाडौं उपत्यकामै छन् । ‘पछिल्ला दिन गम्भीर रूपमा बिरामी परेका संक्रमितको संख्या बढेको छ । जसमा लक्षण देखिएका र जोखिमयुक्त छन् ।

उनीहरूको सघन कक्षमा राखेर उपचार भइरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘कोही कसैले अप्ठ्यारो अवस्थाको दुरुपयोग गरेर राज्यकोषको दुरुपयोग गर्ला कि भन्ने शंका पनि बढाएको छ ।’ सरकारले गम्भीर बिरामीको उपचार गरेमा दैनिक १५ हजारको दरले अस्पताललाई उपलब्ध गराउने व्यवस्था गरेको छ । यो रकम लिनकै लागि गम्भीर खालको संक्रमितको संख्या बढेको हो कि भन्ने शंका गरेर मन्त्रालयले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीको संयोजकत्वमा नौ सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ ।

मन्त्रालयका अनुसार गम्भीर खालका संक्रमित सुदूरपश्चिमा शून्य छन् । कर्णालीमा पनि आईसीयूमा १७ जना मात्रै छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा १ सय ३५ जना आईसीयूमा र ३४ जना भेन्टिलेटरमा छन् । यसबाहेक भेन्टिलेटरमा प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना उपचाररत छन् ।

प्रकाशित : आश्विन १०, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?