कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जहाँ भीड, त्यहीं संक्रमण विस्तार’

अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोभिड–१९ का कुल संक्रमित र सक्रिय संक्रमितमध्ये करिब एक तिहाइ वाग्मती प्रदेशमा रहेका छन् । पछिल्लो समय हरेक दिन संक्रमण पुष्टि भएकामा आधाजसो काठमाडौं उपत्यकाका हुने गरेका छन् । बिहीबार १ हजार ४ सय ९७ नयाँ संक्रमित देखिएकामा उपत्यकाका ७ सय ५५ जना छन् । जुन कुल संक्रमितको ५०.४३ प्रतिशत हो । 

‘जहाँ भीड, त्यहीं संक्रमण विस्तार’

निषेधाज्ञा सकिएको केही दिनमै उपत्यकामा संक्रमणको दर तीव्र रूपमा वृद्धि भएको छ । सडक, कार्यालय, बजार, सार्वजनिक स्थलमा भीड बढेको छ । राजधानीका बासिन्दाले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा कोभिड–१९ संक्रमणको विकराल स्थिति देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘जहाँ भीड, त्यहाँ संक्रमणको विस्तार भएको छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयले सेवा सञ्चालन गर्दा तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरे स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिए पनि प्रभाव देखिएको छैन । बिहीबार संक्रमणको दर १३.०७ प्रतिशत छ अर्थात् एक सय जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार संक्रमणबाट भएको कुल मृत्युमध्ये एक तिहाइभन्दा बढी ३७.८ प्रतिशत वाग्मती प्रदेशमै छ । उपत्यकाको मात्रै २६.९३ प्रतिशत र काठमाडौं जिल्लाको १८.९८ प्रतिशत हिस्सा छ । हाल देशभरमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन् । वाग्मती प्रदेशमा सक्रिय संक्रमित ५८.८२ प्रतिशत छन् । उपत्यकामा कोभिड संक्रमित ४९.९५ प्रतिशत छन् । काठमाडौंमा मात्र ४१.१० प्रतिशत सक्रिय संक्रमित छन् । संक्रमण फैलिँदै गए पनि बैंक, सरकारी कार्यालय, विभिन्न संस्थान, यातायात, सपिङ मल, बजारलगायतमा भीड नियन्त्रित र अनुशासित हुन सकेको छैन । ‘जहाँ भीड छ, त्यहाँ संक्रमणको विस्तार द्रुत छ । भीडका कारण केही समयमै धेरै संक्रमित हुन्छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘भीडको फरक संक्रामक विज्ञान हामीले बुझ्न सकेका छैनौं ।’

उपत्यकामा घरबाहिर निस्कँदा जनस्वास्थ्यको मापदण्ड पूरा नगरे संक्रमणको विस्तार अझ भयावह हुने चेतावनी उनले दिए । ‘सामाजिक दूरी कायम राख्दै लाइनमा बसेर सेवा प्रवाह हुने अवस्था अझै देखिएको छैन,’ डा. मरासिनीले भने, ‘सपिङ मलमा समेत एक ढोकाबाट पसेर अर्को ढोकाबाट निस्किने व्यवस्था मिलाउनुपर्ने हो ।’ सार्वजनिक यातायात सञ्चालनले संक्रमणको जोखिम अझ बढ्ने भएकाले यसमा थप स्वास्थ्य सुरक्षा आवश्यक रहेको उनले बताए । ‘जति सानो सार्वजनिक सवारीसाधन, त्यति बढी संक्रमणको जोखिम हुन्छ,’ उनले भने, ‘सम्भव भएसम्म सार्वजनिक सवारीसाधन प्रयोग गर्नु हुँदैन ।’

सहप्रवक्ता डा. अधिकारीले पनि अत्यावश्यक काम नभएसम्म घरबाहिर ननिस्कनुपर्नेमा जोड दिए । ‘घरबाहिर निस्किनै पर्दा मास्क लगाउनुपर्छ, सम्भव भएसम्म दुई मिटरको सामाजिक दूरी कायम राख्दै नियमित रूपमा हातको सफाइमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘खोक्दा, हाच्छिउँ गर्दा रुमाल वा कुमको प्रयोग गर्नुपर्छ ।’ सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले पनि जोड दिए ।

‘कार्यालय, काम गर्ने ठाउँ, मान्छे पुग्ने ठाउँमा हावाको ओहोरदोहोर (भेन्टिलेसन) प्रशस्त हुनुपर्छ । बन्द कोठा हुनुभएन,’ उनले भने । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको हो । यो कुल संक्रमितको ७२.७४ प्रतिशत हो ।

प्रकाशित : आश्विन ९, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?