दाउन्‍नेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु, ४० घण्टापछि राजमार्ग एकतर्फी खुल्यो- समाचार - कान्तिपुर समाचार

दाउन्‍नेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु, ४० घण्टापछि राजमार्ग एकतर्फी खुल्यो

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ  भने ७ जना घाइते भएका छन् ।

बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।

माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको बिहीबार राति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दाउन्ने खण्डमा सानाठूला गरी ६ वटा पहिरो खसेको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

जोखिमको बेवास्ता गर्दा पहिरोले १० को मृत्यु

घरमाथिबाट खनिएको ग्रामीण सडकका कारण डाँडा चर्किएको र गत वर्ष पनि त्यसै ठाउँमा पहिरो खसेको थियो । कुनै पनि बेला पहिरो खस्न सक्ने जिल्ला प्रशासन, नगरपालिका, प्रहरीलगायतलाई पनि थाहा थियो तर घरपरिवार सार्नेतर्फ कसैले चासो दिएनन् । घरमा नबस्न र अन्यत्र सर्नमात्रै भनिरहे ।
प्रतीक्षा काफ्ले, लालप्रसाद शर्मा

पोखरा — पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए । एकछिनसम्म केही मेसो पाएनन् । ‘बचाऊ, बचाऊ’ भन्दै चलेको रुवाबासी बाहिरैसम्म सुनिन्थ्यो । उनीसँगै भएका अरू छिमेकीले पनि यताउता हेरे । उद्धार गर्ने ठाउँ भेटिएन । यत्तिकैमा लुइँटेलको खुट्टा कसैले समात्यो । टिन उठाएर हेर्दा १६ वर्षीया मनीषा नेपाली आधा पुरिएको अवस्थामा भेटिइन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान खसेको पहिरोमा घरसँगै पुरिएका एकै परिवारका १० जनामध्ये मनीषाको मात्रै उद्धार भएको छ । अन्य ९ जनाको मृत्यु भएको छ । मनीषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनको दाहिने खुट्टा भाँचिएकाले बिहीबारै शल्यक्रिया गरिसकिएको छ ।

६० वर्षकी सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षका दीपक, २१ वर्षीय कुलदीप, १९ वर्षीया विनीता, १४ वर्षका विक्रम, ९ वर्षका विवश, २८ वर्षकी उमाकला र ७ महिनाका समीर नेपालीको घटनास्थलमै मृत्यु भएको हो । सानी र माया धनबहादुर नेपालीका श्रीमती हुन् । उनीहरू माइतीमा पनि एकैघरका दिदीबहिनी हुन् । धनबहादुरको १० वर्षअघि

मृत्यु भएको थियो । दीपक, कुलदीप, विक्रम र विवश मायाका छोरा हुन् । विनीता कुलदीपकी श्रीमती (मायाकी बुहारी) र समीर छोरा हुन् । उमाकला सानी र मायाकी बहिनी हुन् ।

मायाका माइला छोरा भोजराज रोजगारीको सिलसिलामा भारतको मुम्बईमा बस्दै आएका छन् । एसपी बोगटीका अनुसार कुलदीप र विनीता भैरहवा बस्दै आएका थिए । उनीहरू बिहीबार भैरहवा जाने योजनामा थिए । कुलदीप भैरहवामा गाडी चलाउँथे । घाइते मनीषा मायाकी छोरी हुन् ।

लुइँटेलका अनुसार बिहान पौने ६ बजेतिर पानी झमझम परिरहेको थियो । एक्कासि ठ्लूो आवाज सुनियो । बाहिर निस्केर हेर्दा मायाको घर पहिरोले पुरिइसकेको थियो । हारगुहार गर्दै उनी र अन्य २०/२२ छिमेकी घटनास्थल पुगे । ‘पुरिएको घरभित्रबाट ‘गुहार गुहार, बचाऊ बचाऊ’ आवाज आएको थियो, रुवाबासी पनि सुनिन्थ्यो,’ उनले भने, ‘कतै प्वाल भेटिएर उनीहरूलाई निकाल्न सकिन्छ कि भनेर प्रयास गरियो तर सकिएन ।’

भित्रको आवाज १० मिनेटपछि ओझेल परेको उनले बताए । ‘जिन्दगीमा यस्तो घटना पहिलो पटक व्यहोर्नुपर्‍यो,’ प्र्वूजनप्रतिनिधिसमेत रहेका ५० वर्षीय लुइँटेलले भने, ‘एक जनाबाहेक अरूलाई बचाउन नसक्दा थकथक लागिरहेछ ।’ झन्डै एक घण्टाको प्रयासबाट मनीषालाई जीवितै उद्धार गरिएको उनले बताए ।

भिरालो जमिनमा ढुंगामाटोको एकतले घर बनाएर बसेका नेपाली परिवारलाई डाँडा चर्किएर कुनै पनि बेला पहिरो खस्ला भन्ने डर थियो । यही डरले उनीहरूले गत वर्षायाम स्थानीय एक विद्यालयमा गुजारेका थिए । यसपालि पनि छिमेकीका घरमा सुत्दै आएका थिए । असोज लागेपछि घाम लाग्न थालेको थियो तर बुधबार बिहानैदेखि पानी पर्‍यो । तैपनि उनीहरू राति घरमै सुते । ‘पानी परिरहेको छ, दिउँसो घरमा बसे पनि रातिचाहिँ नबस्नु है भनेर मायालाई सम्झाएको त थिएँ, आज यस्तो भयो,’ लुइँटेलले भने ।

स्थानीय किरण न्यौपानेले घर पहिरोको जोखिममा छ भन्ने सबैलाई जानकारी भए पनि अन्यत्र जाने ठाउँ नभएपछि जोखिम मोलेर बस्न बाध्य भएको बताए । ‘नगरपालिकाले उच्च जोखिमका बस्तीलाई बेवास्ता गर्दा यो अवस्था आयो,’ उनले भने, ‘जिल्ला प्रशासनले पनि खासै चासो देखाएन ।’

घरमाथिबाट खनिएको ग्रामीण सडकका कारण डाँडा चर्किएको छ । गत वर्ष पनि त्यस स्थानमा पहिरो खसेको थियो । डाँडा चर्किएको र कुनै पनि बेला पहिरो खस्न सक्ने जिल्ला प्रशासन, नगरपालिका, प्रहरीलगायतलाई पनि थाहा थियो तर घरपरिवार सार्नेतर्फ कसैले चासो दिएनन् । खालि घरमा नबस्न र अन्यत्र सर्नमात्रै भनिरहे । स्थानीय कल्पना अर्यालका अनुसार घरमाथि सडक र सडकमाथि खरबारी छ । खरबारीबाट पहिरो खसेको हो । ०६७/६८ मा खनिएको वालिङ–भुर्मे–अर्यालडाँडा–डुम्रेभन्ज्याङ–हुवास ग्रामीण सडक दुई वर्षअघि चौडा गरिएको थियो । त्यसपछि डाँडा चर्किएको हो । ‘सडककै कारण एउटै परिवारमा यति ठ्लूो बज्रपात भयो,’ उनले भनिन्, ‘त्यहाँका ३/४ घर र गायडाँडाको ३० वटा घर जोखिममा छन् । उनीहरूलाई तत्कालै सार्नुपर्छ ।’

त्यसैगरी कालीगण्डकी गापा–४ गौतमडाँडामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बुधबार राति २ बजे खसेको पहिरोमा १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको एसपी बोगटीले बताए । पहिरोका कारण स्थानीय बाबुराम र जगतबहादुर दमाईको घर प्र्णू रूपमा क्षति भएको छ । विष्णु बाबुरामका छोरा हुन् । पोस्टमार्टमका लागि मृतक १० जनाकै शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको थियो । पोस्टमार्टमपछि सबैको सामूहिक रूपमा रामनदीधाम राम्दीमा दाहसंस्कार गरिएको छ ।

तमादीको पहिरोका कारण उच्च जोखिममा परेका दुई घरका १२ जनालाई बिहीबार स्थानान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए । स्थानीय गिरबहादुर खनाल र राजु खनालको परिवारलाई सारिएको हो । उनीहरूको घर बिहीबार बिहान पुरिएको माया नेपालीको घरभन्दा तल छ । ‘उनीहरूलाई केही पर सरकारी विद्यालयमा सारिएको छ,’ उनले भने, ‘नगरपालिकाबाट स्थायी व्यवस्थापन गर्ने कुरा भइरहेको छ ।’

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले पटकपटक पहिरो खस्दा तीन वर्षदेखि तमादीको सिंगो बस्ती जोखिममा रहेको बताए । ‘यो बाटो सडक विभागले खनेको हो,’ उनले भने, ‘हामीले बस्ती जोखिममा छ भनेर बारम्बार कुरा उठाउँदै आएका थियौं, सडकले वाल लगाइदिन्छौं भन्यो । वाल त लगाइयो तर घरनजिक होइन, अन्यत्रै ।’ मृतक मायाले पनि घर पहिरोको जोखिममा पर्छ भनेर सडक खन्न बारम्बार अवरुद्ध गर्दै आएको उनले बताए । प्रदेश र संघले सडक ९ मिटर चौडा बनाउँदा ठाउँ नै नरहेको र ठेकेदारको मनपरी पनि उस्तै रहेकाले यस्तो समस्या आएको खाँडले बताए ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवार गुमाउने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनामा तदारुकतासाथ प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘भनेकै सुन्दैनन्’

मनीषा नेपाली, घाइते

हाम्रो घर वालिङबाट पर्वतको हुवास जाने बाटोको तलपट्टि थियो । पोहोर–परार पनि पहिरो गइरहने ठाउँ हो त्यो । पोहोर बाटोको कुनामा ठ्लूै पहिरो खसेको थियो । यसपालि घरभन्दा दुई मिनेट टाढा एक महिनाअघि सानो पहिरो खस्यो । बिहीबार अकस्मात् पहिरो आयो । पोहोर पनि डराइडराइ बसिएको थियो । असार–साउनमा घरमै बसेनौं । अघिल्लो महिना सबैजना बुटवल झरेर उतै बस्ने सल्लाह भएको थियो । बुटवलमै बस्ने छ्यामा कृष्णा परियारले बोलाउनुभएको थियो । गाउँलेले यत्रो परिवार गएर कहाँ बस्छौ भनेर सम्झाए । त्यसपछि गइएन ।

बिहीबार बिहान पौने ६ बजेको थियो । सबै सुतिरहेका थिए । म उठेर पानी लिन भनेर ढोकामा निस्किएको थिएँ । एक्कासि पहिरो खस्यो । मेरो टाउको मात्रै बाहिर थियो । छ्यामा (उमाकला) छेउमै हुनुहुन्थ्यो । उहाँलाई मैले देखिनँ । पानी आएपछि प्रायःजसो कहिले पनि निदाउँथेनौं । पानी पर्दा सधैं छिमेकी मोतीलाल खनालको घरमा सुत्न जान्थ्यौं । हिजो (बुधबार) पनि उतै जाम भन्दा दाइ (कुलदीप) ले मान्नुभएन । अहिले यस्तो भयो । पोहोरै पहिरो जाँदा वडालाई भनेका थियौं । पहिलापहिला पहिरो खसेको वडा, नगरपालिका सबैलाई थाहा थियो । रोकथाम गर्न कसैले वास्ता गरेनन् । गरिब परिवार हो हाम्रो । जेठो दाइ (दीपक) बुटवलबाट दुई

महिनाअगाडि घर आउनुभएको थियो । ६ गते बुटवल फर्किने योजना भए पनि फर्कनु भएन । माइलो दाइ (भोजराज) बम्बईमा हुनुहुन्छ । साइँला दाइ (कुलदीप) को छोराको अर्को महिना भात खुवाइ गर्ने घरसल्लाह भएको थियो । दुई भाइ (विक्रम र विवश) सानै छन् । हाम्रो बोली सुनिएन । हामीले भनेको कसैले सुनेन । आज यो दिन देख्नुपर्‍यो ।

(दीपक परियारसँगको कुराकानीमा आधारित)

प्रकाशित : आश्विन ९, २०७७ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×