कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा पहिरोले पुरिएकाको खोजी हुन सकेन

पहिरोमा ३ घर पुरियो, १७ घर जोखिममा 
माधव अर्याल

पाल्पा — निरन्तर वर्षा र पुन: पहिरो खसेपछि जिल्लाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजामा पहिरोमा पुरिएका ५ जनाको खोजी हुन सकेको छैन । बुधबारको पहिरोले घर पुर्दा ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीय धनीसरा गाहा, १७ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीय खुमीसरा गाहा बेपत्ता भएका छन् ।

पाल्पामा पहिरोले पुरिएकाको खोजी हुन सकेन

पुन: पहिरो खसेर अर्को घर समेत पुरेपछि उनीहरुको खोजी कार्य हुन नसकेको रम्भा–२, फोक्सिङकोटका वडाध्यक्ष उमानसिंह सारुले बताए । उनका अनुसार वर्षा पनि रोकिएको छैन ।

पुन: पहिरो खसेर दलबहादुर गाहाको घरस पुरिएको छ । राती नै हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरेको थियो ।

विकट गाउँ भएको र सडकमा ठूला पहिरो खसेकाले तानसेनबाट गएको उद्धार टोली बाटोमै अड्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई नेतृत्वको टोली आर्यभन्ज्याङ–रामपुर सडकको ताँहु देउरालीबाट माथिल्लो झोंकेदीसम्म पुगेर फर्किएको छ । ‘धेरै ठूलो पहिरो खसेकाले अगाडि बढ्न सकिएन,’ उनले भने, ‘पहिरोको जोखिम छलेर डोजर लगाउने प्रयास थालिएको छ ।’

घटनास्थलमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, हुँगी प्रहरी चौकीका दुई जना प्रहरी र स्थानीय बासिन्दा पानी रोकिएपछि उद्धार गर्नका लागि तयारी अवस्थामा छन् । पानी र पहिरो नरोकिएकोले उद्धारको काम हुन नसकेको सानोहुँगी माविका प्रधानाध्यापक तथा स्थानीय पत्रकार एवतकुमार सारुले बताए । उनका अनुसार सशस्त्रको टोली पनि पहिरोका कारण फर्किएको छ ।

वडाध्यक्ष सारुका अनुसार तीन घर पुरिएसँगै १७ घर पुन: जोखिममा परेको छ । भागेर ज्यान जोगाउन सफल मनबहादुर गाहाका अनुसार यसअघि ५० वर्षभन्दा पहिलो पहिरो खसेको थियो । त्यसपछि अहिलेसम्म उक्त स्थानमा पहिरो खसेको छैन । बुधबार राति साढे ३ बजे पहिरो खसे पनि दिउँसो साढे ३ बजेसम्म उद्धार हुन नसकेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले पहिरो खसेको र निरन्तर वर्षा भएकाले घटनास्थल पुग्न समस्या भएको बताए । उनले स्याङ्जासँग सम्पर्क गरेर डोजर, एक्स्काभेटर मगाइएको र सडक खुलाउना साथ प्रहरी, सशस्त्र, नेपाली सेनाको टोली जान तम्तयार अवस्थामा रहेको बताए ।

यस्तै रम्भा गाउँपालिका २, फोक्सिङकोटकै सुरुमडाँडामा पहिरोले घर पुरिँदा घाइते भएकी १४ वर्षीया अन्जु पुनलाई उद्धार गरी ताँहुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । पहिरोले घर पुरिँदा २७ वर्षीया मोतिसरा गाहाको मृत्यु भएको छ । उनी गर्भवती थिइन् ।

मोतीसराको श्रीमान् वीरबहादुर भने पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएको घटनास्थलबाट जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

तस्बिर : एवतकुमार सारू

प्रकाशित : आश्विन ८, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?