सर्वोच्च अदालतका प्रवक्ता भन्छन्– ‘गौतमलाई थप जिम्मेवारी मात्रै नदिनु भन्ने आदेश हो’

रिट निवेदक त्रिपाठी भन्छन्- 'सांसद पदसमेत यथास्थितिमा राख्न आदेश भएको हो'

आश्विन ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले सोमबार सर्वोच्च अदालतले जारी गरेको आदेशमा थप संवैधानिक जिम्मेवारी नदिनु भन्नेसम्मको आदेश भएको बताएका छन् । आदेशमा निर्णय यथास्थितिमा राख्नु भन्ने व्यहोरा उल्लेख भए पनि त्यो विषय थप संवैधानिक जिम्मेवारी दिनेबारेको हकमा मात्रै रहेको उनले बताए ।

‘आदेश हेर्नुभयो भने शपथ ग्रहण भइसकेको देखिएकाले विपक्षी (वामदेव गौतम)को जवाफ सुनेर समेत निर्णय गर्नुपर्ने भयो भन्ने व्यहोरा छ,’ पोखरेलले कान्तिपुरसित भने, ‘हामीले त आदेशमा जे छ त्यही भन्ने हो । आदेशको व्यहोरा हेर्दा थप जिम्मेवारीका बारेमा मात्रै निर्णय यथास्थितिमा राख्नु भनिएको हो । दुवैपक्षको छलफलपछि मात्रै अन्तरिम आदेशमा थप कुरा आउला ।’ 

आदेशमा गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भन्ने व्यहोरा भएकाले अब अन्तरिम आदेश हुनुअघि मन्त्रीका रुपमा नियुक्त गर्न नमिल्ने देखिन्छ । तर सांसदकै भूमिकाबारे भने फरक/फरक कोणबाट टिकाटिप्पणी आएका छन् । 

रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सांसद पद समेत यथास्थितिमा रहेको भन्ने आदेशको आशय रहेको दावी गरेका थिए । तर सर्वोच्च अदालतकै प्रवक्ता पोखरेलले थप जिम्मेवारीको हकमा मात्रै यथास्थिति भन्ने व्यहोरा उल्लेख भएको प्रतिक्रिया दिएका हुन् ।

कान्तिपुर

Link copied successfully