डराई-डराई स्कुल

आश्विन ७, २०७७

आनन्द गौतम

ताप्लेजुङ — बहानन्दे दोखुस्थित महाराजा आधारभूत विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको छ । तर तेस्रो दिनसम्म ४५ प्रतिशत विद्यार्थीमात्रै आएका छन् । ‘हाम्रो क्यानेम टोलका कोही पनि आएका छैनन्,’ त्यही टोलकी शिक्षिका तुलसा घिमिरेले भनिन्, ‘गाडी पनि खुलेपछि कोरोना फैलिने डरले अभिभावकले पठाएकै छैनन् ।’

पढ्न आएकाहरूमा पनि डर थियो । कक्षा ६ की विनिता मगरले भनिन्, ‘आमाले कसैसँग नभेटी सरासर जानू, सरासर आउनू भन्नुभएको छ । कोरोना सर्ला भन्नुहुन्छ, डर त लागिहाल्छ नि ।’ बहिनीलाई आफ्नै छेउमा राखेकी उनी अरू साथीभन्दा अलग्गै बसेकी थिइन् । उनको कक्षाकोठामा नौ जना थिए । यहाँ बिहान १० देखि दिउँसो ३ बजेसम्म पढाइ हुने गरेको छ ।

सदरमुकामको लिटिल बुद्ध आवासीय माविका प्रधानाध्यापक युवराज गिरी विद्यालय प्रांगणबाहिर उभिएका थिए । आफ्नो आँखाले भ्याएका विद्यार्थीलाई दूरी कायम गरेर हिँड भनेर कराउँथे । प्रवेशमा एकद्वार नीति अपनाइएको विद्यालयमा प्रत्येक विद्यार्थीको ज्वरो मापन गरिँदै थियो ।

सरकारले शैक्षिक सत्र सञ्चालनको निर्देशिका जारी गरेपछि जिल्लाका निजी तथा सामुदायिक विद्यालय खुल्न थालेका छन् । जिल्लामा अनलाइनमार्फत कक्षा चलाउने उपाय नभएपछि विद्यार्थीलाई स्कुलमै बोलाउन थालिएको छ । शिक्षकहरूका अनुसार उनीहरूलाई बाध्यकारी भने बनाइएको छैन । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल विद्यालय सञ्चालनको जिम्मा स्कुल र अभिभावकलाई दिएको बताउँछन् । ‘मैले प्रस्ट रूपमा भनेको छु,’ उनले भने, ‘पहिला अभिभावकलाई बोलाउनुहोस्, उहाँहरूलाई सोध्नुहोस् । जे भन्नुहुन्छ त्यही गर्नुहोस् ।’ यातायात र विद्यालय एकैचोटि खोल्दा संक्रमणको जोखिम फैलिएला कि भन्ने चिन्ता लागेको उनले बताए ।

जिल्लामा सबैभन्दा बढी विद्यार्थी भएको भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राई प्राविधिकतर्फको मात्रै कक्षा चलाउन थालेको बताउँछन् । १२ सय विद्यार्थी भएको यो विद्यालयमा ८, ९ र १० बाहेक सानो कक्षा चलाउन गाह्रो हुने उनको भनाइ छ । सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतम टोलमा गएरै पढाउन थालेको बताउँछन् । ‘हामीले पहिला पनि केही समय टोल कक्षा चलाएकाले परीक्षाको तयारी गरिरहेका छौं,’ उनले भने, ‘पहिला प्रयोगात्मक प्रणालीको पढाइ गरेका छौं, त्यसलाई पनि आधार मान्छौं ।’  कतिपय अभिभावक भने तत्काल विद्यालय खुलाउने पक्षमा छैनन् ।

सिद्धार्थ बोर्डिङका प्रधानाध्यापक देवराज गुरुङले सबैको कुरा सुनेर स्कुल आउने विद्यार्थीका लागि १० देखि १ सम्म एउटा र १ देखि ४ बजेसम्म अर्को गरेर दुई सिफ्टमा पढाउन थालेको बताए । 

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully