किंवदन्तीजस्ता आरोही- समाचार - कान्तिपुर समाचार

किंवदन्तीजस्ता आरोही

सुरज कुँवर

काठमाडौँ — सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो ।

उनको पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । आरोही आङरिताका छोरीतर्फका नाति पेम्बाछिरी शेर्पाका अनुसार बौद्ध परम्पराअनुसार बुधबार उनको अन्त्येष्टि गरिनेछ ।

आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए । झन्डै दुई दशकअघि कलेजोमा संक्रमण देखिएपछि हिम आरोहण त्यागेका उनमा मस्तिष्कसम्बन्धी समस्या थपिएको थियो । ‘पर्वतारोहण क्षेत्रको एउटा तारा गुमेको छ,’ नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कान्तिपुरसँग भने, ‘आङरिता विश्वभर नेपाल प्रवर्द्धन गर्नेमध्येका एक हुन् । नेपालको पर्वतीय पर्यटन विश्वसामु पुर्‍याउन उनको ठूलो योगदान छ ।’

१५ वर्षे उमेरमा भरिया बनेर पर्वतारोहण जगत्मा प्रवेश गरेका आङरिताले ३४ वर्ष छँदा धौलागिरि हिमालबाट आरोहण क्षेत्रमा पाइला हालेका थिए । ‘हिउँचितुवा’ का नामले विश्वभर कहलिएका उनले नेपालका ८ हजार अग्ला सबै हिमाल बोतलको अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनले पाकिस्तानको केटु हिमाल पनि आरोहण गरे । सन् १९८३ देखि १९९६ सम्ममा १० पटक बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेपछि उनको कीर्ति विश्वसामु फैलिएको थियो । आङरिताले वसन्तकालीन र शरदकालीन दुई याममै बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेका थिए । उनको यो कीर्तिमानीलाई कसैले पनि तोड्न सकेको छैन । आङरिताले अन्तिमपटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।

‘हिमाली भेगमा सबैभन्दा बलियो जन्तु हिउँचितुवा कहलिन्छ,’ लामो समय पर्वतारोहण क्षेत्रमा सँगसँगै बिताएका आङछिरिङले भने, ‘उहाँ पनि हिउँचितुवाजस्तै बलियो हुनुहुन्थ्यो ।’ उनका अनुसार पर्वतारोहण क्षेत्रमा लागेका साथीहरूले नै सम्मानपूर्वक उनलाई हिउँचितुवा उपनाम दिएका थिए ।

सर्वाधिक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाका अनुसार अहिले पनि सगरमाथा आरोहणका क्रममा चुचुरोमा बादल लागे आरोहीहरू आधार शिविर वा त्यसभन्दा तल ओर्लिन्छन् । यो प्रचलन सुरु गर्ने आङरिता नै हुन् । ‘उहाँका पालामा अहिले जस्तो मौसमबारे जानकारी पाइँदैनथ्यो,’ कामीरिताले भने, ‘आङरिताले सगरमाथाको चुचुरोमा बादल लागे मौसम बिग्रिन्छ, तल ओर्लिनुपर्छ भन्ने गरेको (अनुमान) अहिले पनि मिल्छ ।’

तीन छोरा र एक छोरीका बुबा आङरिताकी पत्नी कान्छी शेर्पाको ७ वर्षअघि र जेठा छोरा कर्साङको सगरमाथा आरोहण क्रममा ८ वर्षअघि निधन भएको थियो । उनका माइला छोरा छेवाङ खुम्बु अमेरिकामा छन् भने कान्छा फुरानुरु गाउँमै छन् । आङरिता भने लामो समयदेखि छोरीको घरमा बस्दै आएका थिए । उनको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री योगेश भट्टराईले ट्वीटरबाट दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाका बिमितले पाएनन् भुक्तानी

बिमा कम्पनीले भुक्तानी नदिएर बिमितलाई मर्का परिरहेका बेला नियामक निकाय बिमा समिति भने मौन छ ।
यज्ञ बञ्जाडे

काठमाडौँ — करिब डेढ महिनाअघि कोरोनाबाट संक्रमित भएको प्रमाणित भएपछि चार्टर्ड एकाउन्टेन्ट प्रवेश आचार्यले बिमा दाबीका लागि आफूले बिमा गरेको कम्पनीमा आवेदन दिए । आवेदन दिएको ३५ दिन भयो । तर उनले दाबी भुक्तानी पाएका छैनन् । बिमा कम्पनीले मागेको सबै कागजात पेस गरेका आचार्यले कोरोना परीक्षण पनि सरकारी अस्पतालमै गराएका हुन् ।

झन्डै एक महिनाअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि प्रभा पन्थीले पनि दाबी भुक्तानीका लागि बिमा कम्पनीमा आवेदन दिइन् । अहिले उनी पूर्ण रूपमा निको भइसकेकी छन् । तर बिमा दाबी भुक्तानी पाएकी छैनन् । पन्थीले बुटवलस्थित निजी अस्पतालमा कोरोना परीक्षण गराएकी थिइन् । आचार्य र पन्थी दुवैले जनरल इन्स्योरेन्सअन्तर्गत एक लाख रुपैयाँ बिमांकको कोरोना बिमा गरेका थिए ।

गत भदौ पहिलो साता कोरोना संक्रमण पुष्टि भएका दीपेश केसी (नाम परिवर्तन) ले दोस्रो साता युनाइटेड इन्स्योरेन्स कम्पनीमा रिपोर्टसहित दाबी भुक्तानीका लागि आवेदन दिए । असोज पहिलो साता भइसक्दा पनि उनले रकम पाएका छैनन् । यो अवधिमा न त कागजात पुगेन भनेर कम्पनीबाट खबर नै आएको छ । न उनले दाबी भुक्तानी नै पाएका छन् । ‘खोइ के भएको रहेछ, बुझ्न जानुपर्ला अब त निको पनि भइसकें,’ उनले भने ।

कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि करिब २५ दिनअघि शिखर इन्स्योरेन्समा बिमा दाबीका लागि सञ्चारकर्मी प्रवीण शर्मा (नाम परिवर्तन) ले आवेदन दिए । झन्डै तीन साता क्वारेन्टाइनमा बसेर निको भइसक्दा पनि उनले बिमा दाबी भुक्तानी पाउन सकेनन् । कम्पनीमा बुझ्दा अझै केही दिन लाग्ने जानकारी आएको उनले कान्तिपुरलाई बताए ।

यी केही उदाहरण मात्र हुन् । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका दर्जनभन्दा बढी बिमितसँगको कुराकानीमा यस्तो रहस्य बाहिर आएको हो । कोरोना बिमा मापदण्ड– ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । तर अनेक बहानामा बिमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गरेका छन् । केही बिमा कम्पनीले बिरामी (बिमित) निको भएको रिपोर्ट (नेगेटिभ रिपोर्ट) चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जब कि बिमा दाबीमा चाहिने कोरोना पोजिटिभ रिपोर्ट हो । नेगेटिभ रिपोर्ट चाहिने व्यवस्था मापदण्डमा छैन । यसकारण अनेक बहाना झिकेर कम्पनीले दाबी भुक्तानी नदिएको जानकारहरू बताउँछन् । मापदण्डअनुसार बिमा कम्पनीले भुक्तानी नदिएर बिमितलाई मर्का परिरहेका बेला नियामक निकाय बिमा समिति भने मौन छ । कम्पनीले किन भुक्तानी नदिएको भन्ने जिज्ञासामा समितिका उच्च अधिकारी भन्छन्, ‘यसबारे अहिले नबोलौं, अदालतमा मुद्दा परेको छ ।’ अहिले कोरोना बिमामा दाबी भुक्तानी ढिलाइ भएको बिमा कम्पनीहरूले पनि स्विकारेका छन् । भदौ दोस्रो साता बिमा समितिबाट निजी प्रयोगशालाको रिपोर्टका आधारमा दाबी भुक्तानी नदिनू भन्ने पछिल्लो निर्देशन जारी भएपछि बिमा कम्पनीहरूले दाबी भुक्तानी रोकेको स्रोतले बताएको छ ।

‘त्यतिबेला अन्योल भयो, निजी प्रयोगशालाको रिपोर्टका आधारमा भुक्तानी दिने/नदिने भन्नेमा,’ बिमक संघका अध्यक्ष एवं शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले भने, ‘अब निजी प्रयोगशालाका रिपोर्टले पनि दाबी पाउँछन् । अब अन्योल छैन, मापदण्ड पुगेका सबै बिमितले दाबी भुक्तानी पाउँछन् ।’ संशोधित मापदण्डमा बिमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ । यही कारण सबै कम्पनीमा प्राप्त दाबी केन्द्रीकृत गर्न र भुक्तानीको आवश्यक व्यवस्था मिलाउन समय लागेकाले भुक्तानी ढिलाइ भएको अध्यक्ष पाण्डेले बताए । ‘बिमा पुलबाट भुक्तानी गर्न अझै दुई–चार दिन लाग्छ,’ उनले भने, ‘अर्को साताबाट सहज रूपमा नियमित दाबी भुक्तानी गर्न सकिन्छ ।’ सबै कम्पनीमा प्राप्त दाबी एकीकृत गर्न र भुक्तानीका लागि कर्मचारी तोक्न गृहकार्य भइरहेको छ । ‘भुक्तानीलाई एकद्वार गर्न काम भइरहेको छ,’ उनले भने, ‘यस्तो बेलामा २/४ दिन ढिलो भयो भनेर भन्नु भएन ।’ मापदण्ड पुगेका बिमितले पनि लामो समयसम्म दाबी भुक्तानी नपाए सिधै आफूलाई सम्पर्क गर्न उनले आग्रह गरे ।

विगतमा कोरोना बिमालेख जारी गर्दाको तुलनामा अहिले पीसीआर परीक्षण, उपचार प्रक्रिया सबै परिवर्तन भएकाले सोहीअनुसार कोरोना बिमा मापदण्ड पनि परिमार्जन गरिएको पाण्डेले बताए । स्रोतका अनुसार गत भदौ तेस्रो सातायता अपवादबाहेक कुनै पनि कम्पनीले कोरोना बिमा भुक्तानी गरेका छैनन् । नयाँ मापदण्डअनुसार भुक्तानीका लागि स्थानीय निकायको सिफारिस चाहिने व्यवस्था गरिएको छ । यसअघि सरकारी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिए त्यसैका आधारमा भुक्तानी पाउने व्यवस्था थियो । कोरोना बिमा मापदण्ड परिमार्जन गरी अब निजी प्रयोगशालाका रिपोर्टले पनि मान्यता पाएका छन् । निजी प्रयोगशालाको रिपोर्टलाई भने बिमा समितिले सक्कली वा नक्कली भएको प्रमाणित गर्नेछ ।

स्रोतका अनुसार हालसम्म ३ हजारभन्दा केही बढी दाबी परेका छन् । तीमध्ये झन्डै ८५ प्रतिशत दाबी भुक्तानी हुन बाँकी छ । समितिका अनुसार गत भदौ २८ सम्म बिमा गरेका बिमितले पुरानै मापदण्डअनुसार ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् । तर दाबी भुक्तानीका लागि तिनले पनि नयाँ बिमितले जस्तै घरमै आइसोलेसनमा बसेको भए पोजिटिभ पीसीआर रिपोर्टसहित स्थानीय तहको सिफारिस र अस्पतालमा उपचार गराएको भए डिस्चार्ज रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेछ ।

कोरोना बिमामा बिमा समिति र सरकारले दायित्व वहन गर्नुपर्ने व्यवस्था बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालतले छलफलका लागि भन्दै असोज ८ गते विपक्षीहरूलाई डाकेको छ । तर केही कम्पनीले मुद्दा विचाराधीन रहेको भन्दै दाबी लिन पनि इन्कार गरिरहेको स्रोतले बताएको छ ।

प्रकाशित : आश्विन ६, २०७७ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×