२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

विजय तिमल्सिना

काठमाडौँ — विदेशी टेलिभिजनमा नेपाली विज्ञापन हाल्न नपाइने प्रावधानसहित आगामी कात्तिक ८ भित्र क्लिन फिड लागू गर्न संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले अघिल्लो वर्ष पारित गरेको विज्ञापन ऐनमा कात्तिक ८ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था छ ।

कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सरोकारवालासँगको छलफलमा यस्तो निर्देशन दिएको हो । समितिले सरकारलाई विज्ञापन ऐनबमोजिम गठन गर्नुपर्ने विज्ञापन बोर्ड कात्तिक ७ भित्र गठन गर्न र क्लिन फिड लागू गर्न निर्देशन दिएको छ । ऐन लागू भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान छ । गत वर्ष कात्तिक ८ मा राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको हो ।

समितिले नेपाली टेलिभिजनको प्रवर्द्धन गर्न विदेशी च्यानलमा नेपाली विज्ञापन प्रसारण गर्न नपाइने प्रावधान राख्न पनि सरकारलाई निर्देश गरेको छ ।

‘नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन हाल्ने नीति (फिड इन) नलिन समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ,’ समितिको तीनबुँदे निर्णयमा भनिएको छ । समितिले ऐनको कार्यान्वयनबाट कतिवटा विदेशी च्यानलको प्रसारण रोकिने अवस्था छ, तिनले पार्ने सकारात्मक एवं नकारात्मक प्रभावबारे मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न पनि भनेको छ ।

क्लिन फिड कार्यान्वयनका लागि विज्ञापन एजेन्सीसहित विदेशी च्यानलको डाउनलिंक अनुमति पाएका कम्पनीले समेत माग गर्दै आएका छन् । विदेशी टेलिभिजन च्यानलको नेपालमा डाउनलिंक अनुमति लिएर वितरण गर्दै आएको डिजिटल सिस्टम अफ नेपालका प्रमुख कार्यकारी अधिकृत शिव निरौला समितिको निर्णय सही भएको टिप्पणी गर्छन् । उनको कम्पनी सोनी पिक्चर नेटवर्क इन्डिया प्रालि, इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन, डिस्कभरी नेटवर्क एसियाको नेपालका लागि आधिकारिक वितरक हो ।

क्लिन फिड तोकिएको समयमा लागू गर्न मन्त्रालयलाई पहिलोपटक आफ्नो कम्पनीले प्रतिबद्धतापत्र दिएको उनको दाबी छ । ‘तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा पदमा रहेको अवस्थामै हामीले डाउनलिंक अनुमति पाएका विदेशी च्यानलमा क्लिन फिड लागू गर्छौं भनेर प्रतिबद्धतापत्र बुझाइसकेका छौं,’ उनले भने, ‘क्लिन फिड लागू भएपछि उपभोक्ताले विदेशी विज्ञापन हेर्नुपर्दैन भने नेपाली कलाकार र प्राविधिकका लागि रोजगारीको अवसर सिर्जना हुनेछ ।’

पछिल्लो पटक सरकारले २०७३ सालमा पनि क्लिन फिड लागू गर्ने नीति कार्यान्वयन गर्ने भने पनि अन्तिम समयमा आएर योजना स्थगन भएको थियो । क्लिन फिड लागू भएसँगै विशेषगरी भारतीय च्यानल प्रभावित हुनेछन् । २०७६ कात्तिक ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी च्यानलले क्लिन फिड प्रसारण गर्नुपर्ने प्रावधान छ ।

ऐनमा विदेशी च्यानलले नेपालमा प्रसारण हुँदा विज्ञापन बजाउन नपाउने साथै विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने व्यवस्था पनि छ । विज्ञापनको नियमनसम्बन्धी काम गर्न विज्ञापन बोर्ड गठन गर्ने प्रावधान पनि ऐनमा छ । बोर्डको अध्यक्ष नेपाल सरकारले नियुक्त गरेको व्यक्ति हुने र यसको सदस्यमा गृह मन्त्रालयका सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ ।

बोर्डमा सरोकारवाला निकायबाट मन्त्रालयले मनोनयन गरेका एक सदस्य र उपभोक्ता हित वा आमसञ्चारको क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको एक महिलासहित तीन जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सदस्यका रूपमा मनोनयन गर्न सक्ने प्रावधान ऐनमा छ । ०७३ साउन ७ मा मन्त्रिपरिषद्ले विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन प्रसारण गर्न नपाउने गरी क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो ।

सरकारले राष्ट्रिय आमसञ्चार नीति, ०७३ स्वीकृत गर्दै ०७४ साउन १ देखि क्लिन फिड लागू गर्ने निर्णय गरेको भए पनि योजना कार्यान्वयनमा आएन । सरकारले ०७५ साउनदेखि क्लिन फिड नीति लागू गर्ने भनी सार्वजनिक सूचना प्रकाशन गरे पनि अन्तिम समयमा आएर रद्द गरियो ।

प्रकाशित : आश्विन ५, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?