कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्ची आउन अझै ६ महिना लाग्‍ने

ऋषिराम पौड्याल

काठमाडौँ — एक वर्षअघि ९७ प्रतिशत काम सकिएको भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी ल्याउन अझै कम्तीमा ६ महिना लाग्ने भएको छ । गत असारको अन्तिम साता पानी परीक्षणका क्रममा भत्किएको सुरुङको ढोका मर्मत र जडान गर्न ढिलोमा फागुनसम्म लाग्ने आयोजनाले जनाएको हो ।

मेलम्ची आउन अझै ६ महिना लाग्‍ने

त्यसपछि पुनः परीक्षण सकेर पनि सुरुङको प्राविधिक प्रक्रिया पूरा गर्न थप समय लाग्ने आयोजनाका प्रवक्ता तथा उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले कात्तिकसम्ममा ढोकाको काम सकेर मंसिरमा परीक्षण सुरु गर्न सकिने अनुमान गरिएको बताए । ‘परीक्षण सुरु गरेपछि पनि कम्तीमा २ महिनापछि मात्र पानीको सप्लाइ गर्न सकिन्छ,’ उनले भने । सुरुङमा पानी भरिन दुई साताभन्दा बढी लाग्छ । भरिएको पानी फेरि सुकाएर सुरुङ खाली गर्नुपर्छ । खाली सुरुङको अवस्था प्राविधिक विशेषज्ञहरूले जाँच गरेपछि मात्र पानी सप्लाइ गर्न सकिने जानकारी उनले दिए ।

दसैंअगावै राजधानीमा पानी ल्याउने योजनाअनुसार असारमा आयोजनाले सुरुङमा पानी परीक्षण गर्ने क्रममा मुहान नजिकैको ढोका भत्केको थियो । ढोकाको निर्माण, डिजाइन र जडान भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले गरेको थियो । खानेपानी मन्त्रालयले गठन गरेको छानबिन समितिले चारैवटै ढोकाको डिजाइन र जडान फेर्न सुझाव दिएको छ । त्यहीअनुसार अहिले काम भइरहेको श्रेष्ठले जानकारी दिए । ढोका बाहिर खुल्ने बनाउनु नै सबैभन्दा ठूलो त्रुटि भएको मन्त्रालयको भनाइ छ । भित्र खुल्ने गरी ढोका डिजाइन गरेर जडान गर्न निर्देशन दिए पनि कम्पनीले तोकिएको समयमा काम पूरा गर्ने सम्भावना कम रहेको आयोजना स्रोतको भनाइ छ ।

सुरुङमा भएको दुर्घटनामा एक जना इन्जिनियरको मृत्यु भएको थियो भने चालक एक जना अझै फेला परेका छैनन् । घाइते दुई जना भने निको भएका छन् । ‘टेस्ट’ गर्दागर्दैको अवस्थामा ढोकाको एक भाग पूरै खुलेपछि निर्माण पूरा हुनै लागेको मेलम्चीको डिजाइन र गुणस्तरमाथि प्रश्न उठेको हो । पुनः डिजाइन र जडान गर्नुपर्नेमध्ये अम्बाथान र ग्याल्थुम अडिटको ढोका जडान गरिसकिएको छ । ‘अब सिन्धु र सुन्दरीजलको ढोका बन्न बाँकी छ,’ प्रवक्ता श्रेष्ठले भने ।

सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म करिब २७ किमि सुरुङमा चारवटा मुख्य ढोका छन् । तीमध्ये भत्केकोसहित सबै ढोकाको डिजाइन र जडान फेर्ने काम भारतीय ठेकेदार कम्पनीले गरिरहेको छ ।

प्रकाशित : आश्विन ५, २०७७ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?