कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल उल्लेख तर विदेशमै भएको शंकास्पद कारोबार

काठमाडौँ — गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपाली नाम, थर र ठेगाना उल्लेख भएका विदेशस्थित व्यक्तिहरु समेत संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

नेपाल उल्लेख तर विदेशमै भएको शंकास्पद कारोबार

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आˆना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।

नेपाली नाम, थर र ठेगाना उल्लेख

‘फिनसेन फाइल्स’ मा विदेशमा कारोबार गर्ने धेरै नेपाली अथवा नेपालीसँग मिल्दो नाम भएका व्यक्तिहरू पनि मुछिएका छन् । नेपाली नाम, थर, ठेगाना उल्लेख भएका त्यस्ता कारोबारहरूको संख्या झन्डै दर्जन हाराहारी छ ।

एउटा उदाहरण हो १ जुलाई २०१३ देखि १३ सेप्टेम्बर २०१३ सम्मको कारोबार । न्यूयोर्कको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गरेको समीक्षामा विदेशमा बस्ने नेपालीको नाम भेटिएको हो । जसलाई ‘फिनसेन’ ले शंकास्पद सूचीमा राखेको छ । ‘फिनसेन’ को विवरण अनुसार, अमेरिकाको ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) ले गरेको कारोबार सम्पत्ति शुद्धीकरण र शंकास्पद धनसँग सम्बन्धित छ । जीमएटीले यो अवधिमा ९ सय ३१ पटकमा ३ करोड ३९ लाख ४२ हजार २७२.८६ अमेरिकी डलर (रु. ४ अर्ब ३ करोड ९१ लाख ३० हजार ४७०) रकम पठाएको बैंकले पहिचान गरेको थियो ।

फिनसेनका अनुसार, यो कम्पनीले उक्त रकम पठाउन इजरायलको ‘इजरायल डिस्काउन्ट बैंक लिमिटेड’ लाई प्रयोग गरेको थियो । यो कारोबारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, न्यूयोर्कले मध्यस्थकर्ताको भूमिका खेल्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले उक्त कारोबार शंकास्पद रहेको २२ नोभेम्बर २०१३ मा मात्रै थाहा पायो ।

ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) मार्फत भएको शंकास्पद कारोबारहरूमा नेपाली थर भएका व्यक्तिहरू संलग्न देखिन्छन् । उनीहरूको सम्बन्ध हङकङसँग देखिन्छ । हङकङमा ठेगाना रहेको एड्भान्स बिजनेस इन्टरनेशनल लिमिटेडले १ जुलाई २०१३ देखि १२ सेप्टेम्बर २०१३ सम्मका ३१ पटकमा (४८ लाख ६७ हजार ५२८ अमेरिकी डलर (रु.५७ करोड ९२ लाख ३५ हजार ८३२) रकम पायो ।

उक्त रकम हङकङको हृयाङ सेङ बैंक लिमिटेडमार्फत एडभान्स बिजनेसले प्राप्त गरेको हो । जुन रकम न्यूयोर्कको जेपी मोर्गन चेज बैंकमार्फत टीकाबहादुर चौलागाईले पठाएको ‘फिनसेन’ले उल्लेख गरेको छ ।

चौलागाईले यस्तै अर्को कारोबार गरेको देखिन्छ । हङकङमा कार्यालय रहेको डायनामिक्स हङकङ लिमिटेडले ३ सेप्टेम्बर २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म १९ पटकमा ३७ लाख अमेरिकी डलर (रु.४४ करोड ३ लाख) पायो । उक्त रकम हङकङको विङ लङ बैंकमार्फत प्राप्त भएको थियो । अमेरिकाको न्यूयोर्कको मोर्गन चेज बैंकमार्फत टीकाबहादुर चौलागाईले नै सो रकम पनि पठाएका थिए ।

अर्को कारोबारमा पनि नेपाली थर भएका तीन व्यक्तिहरू संलग्न छन् । हङकङमा रहेको गोर्खा मल्टी सेवा इन्टरनेशनल लिमिटेडले १९ अगष्ट २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म ११ पटकमा ८ लाख ९९ हजार ७९२ अमेरिकी डलर (रु.१० करोड ७० लाख ७५ हजार २४८) रकम पायो । हङकङको इण्डस्ट्रियल कमर्सियल बैंक अफ चाइना एशिया लिमिटेडमार्फत उक्त रकम प्राप्त भएको थियो ।

अमेरिकाको न्यूयोर्कमा रहेको मोर्गन चेज बैंकमार्फत कुलचन्द्र रिमाल, रामबहादुर केसी र तेन्जिन शेर्पाले उक्त रकम पठाएको ‘फिनसेन’ प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै स्वीट्जरल्याण्डको किकलेक्ट कम्पनीले १४ अगष्ट २०१३ देखि ४ नोभेम्बर २०१३ सम्म ११ पटकमा १ लाख ८६ हजार ९५८ अमेरिकी डलर (रु.२ करोड २२ लाख ४८ हजार २) रकम पाएको थियो । उक्त रकम स्वीट्जरल्याण्डको जुरिचस्थित युबीएस एजी नामक बैंकमार्फत प्राप्त गरेको थियो ।

अमेरिकाको वासिंगटन डीसीमा रहेको युबिएस एजी बैंकको शाखामार्फत सेन्दाङ जंग खड्गा, विनोद बिक र राजी विश्वकर्माले उक्त रकम पठाएका थिए । त्यस्तै हङकङमा ठेगाना भएका नगेन्द्रकुमार लिम्बूले १९ अगष्ट २०१३ मा एक पटकमा ६० हजार अमेरिकी डलर (रु.७१ लाख ४० हजार) रकम पाएका थिए । उनले उक्त रकम हङकङको बैंक अफ चाइना हङकङ लिमिटेडको खातामा प्राप्त गरेका थिए । न्यूयोर्कको बैंक अफ चाइनाबाट उक्त रकम कुलचन्द्र शर्माले पठाएका थिए ।

व्यक्ति मात्रै हैन, नेपाली नामसँग मिल्ने गरी स्थापना भएको एक विदेशी कम्पनीबाट पनि शंकास्पद आर्थिक क्रियाकलाप भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

नाइजेरियाको इटिल्सन् मर्चेन्ट लिमिटेडले १८ डिसेम्बर २००६ देखि १० मे २०१२ सम्ममा २ करोड ८ लाख २१ हजार १८२ अमेरिकी डलर (रु.२ अर्ब ४७ करोड ७७ लाख २० हजार ६५८) शंकास्पद मानिएको रकम कारोबार गर्दा नाइजेरियामा स्थापित ‘नेपाल ओइल एण्ड ग्याँस सर्भिसेस लिमिटेड’ नामक कम्पनी पनि संलग्न भएको देखिन्छ । यो कम्पनीले पेट्रोलियम पदार्थको व्यापार तथा निर्यात गर्ने काम गर्छ । यो नाइजेरियामा सन् २००४ मा दर्ता भएको कम्पनी हो ।

नाइजेरियामा नेपाल र नेपाली जोडिने नाम भएको नेपाल ओइल एण्ड ग्याँस सर्भिसेसको शाखा कम्पनी हो– नेपाल फ्लाई लिमिटेड । यो सन् २०१७ मा त्यहाँको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको देखिन्छ । यसको वेबसाइट अनुसार, विदेशीले नै यो कम्पनी स्थापना गरेका हुन् । त्यहाँस्थित स्रोतले ‘नाइजेरियामा बस्ने केही नेपालीको समेत यो कम्पनीमा संलग्नता रहेको हुनसक्ने’ दाबी गरे पनि यसको पुष्टि हुन सकेन ।

आर्थिक कारोबारको दृष्टिले सुशासनयुक्त मानिने अष्ट्रेलिया समेत शंकास्पद कारोबारमा नेपालसँग जोडिन पुगेको छ । फिनसेन प्रतिवेदन अनुसार, १ डिसेम्बर २०१४ देखि ६ डिसेम्बर २०१५ सम्म २० पटकमा विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गरेर २४ लाख १ हजार ४०३.०३ अमेरिकी डलर (रु.२८ करोड ५७ लाख ६६ हजार ९५७) को कारोबार भएको छ । न्यूयोर्कको ‘डच बैंक ट्रष्ट कम्पनी अमेरिकाज’ मार्फत कारोबार भएको हो ।

अष्ट्रेलियाको काठमाडौं पीटीवाई लिमिटेडले हङकङको सिनोवे इण्डस्ट्रियल लिमिटेडलाई अष्ट्रेलियाकै कमनवेल्थ बैंकमार्फत यो रकम पठाएको थियो । सिनोवेले रकम लिने क्रममा हङकङमा रहेको हङकङ एण्ड साङघाई बैंकिङ कर्पोरेसन र हङकङमा रहेको बैंक अफ चाइनालाई प्रयोग गरेको थियो । ग्राहकहरूलाई कम्पनीहरूको व्यापार र कानूनी विषयमा सूचना प्रदान गर्ने अमेरिकाको लेक्सिस्नेक्सिस्का अनुसार, काठमाडौं पीटीवाई लिमिटेड साउथ मेलबर्न भिक्टोरिया अष्ट्रेलियामा ठेगाना भएको कम्पनी हो । यो खेलकुदका कपडाहरूको अनलाइन र खुद्रा बिक्रेता कम्पनी हो ।

नेपाल र एकमुष्ट ट्रान्सफर

‘फिनसेन’मा उल्लेख भए अनुसार, सम्पत्ति शुद्धीकरण र आर्थिक कारोबारका दृष्टिले उच्च जोखिमयुक्त मुलुकहरूमा एकमुष्ट रकम ट्रान्सफर भएको देखिन्छ । एउटा उदाहरण हो ४ नोभेम्बर २०१५ देखि १९ जनवरी २०१६ सम्म लक्जेम्बर्गको डुओडिकड नामक आईटी कम्पनीले गरेको कारोबार– जसले १५ पटकमा (२४ हजार ७१२.३५ अमेरिकी डलर (रु.२९ लाख ४० हजार ७६९) ‘ट्रान्सफर’ गरेको थियो । ‘फिनसेन’का अनुसार, उक्त रकम नेपाल, क्यानडा, कतार, जाम्बिया र हङ्गेरीका नाम नखुलेका पाँच व्यक्तिका नाममा जम्मा भएको छ ।

डुओडिकड आईटी कम्पनी, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र लक्जेम्बर्गर्को सोसाइटी युरोपेनी डी बैंक एस.ए कम्पनीले ७ अप्रिल २०१५ देखि २२ जून २०१५ सम्ममा २० पटक २९ हजार ८०५.२३ अमेरिकी डलर (रु.३५ लाख ४६ हजार ८२२) पठाएको देखिन्छ । उक्त रकम १८ पटकमा नेपाल, क्यानडा, हङ्गेरी र लक्जेम्बर्गका विभिन्न व्यक्तिका नाममा पठाइएको थियो ।

२ डिसेम्बर २०१४ देखि २३ मार्च २०१५ सम्म ड्युडेकड, लक्जेम्बर्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र जर्मनीको यूनिक्रेडिट बैंक एजीले ४७ पटकमा २ करोड ९९ लाख ३९ हजार ५६.८४ अमेरिकी डलर (रु.३ अर्ब ५६ करोड २७ लाख ४७ हजार ७६४) ट्रान्सफर गरेको थियो । यसमध्ये डुओडिकड आईटीले ३६ पटकमा जोर्डन, बलिज, नेपाल, क्यानडा, हङ्गेरी र बेलायतस्थित अर्थपोर्टका विभिन्न व्यक्तिलाई रकम पठाएको थियो ।

डुओडिकड आईटीले पेअनियरका विभिन्न खाता प्रयोग गरेर १५२ पटकमा १ करोड ११ लाख ८२ हजार ९२९.६३ अमेरिकी डलर (रु.१ अर्ब ३३ करोड ७ लाख ६८ हजार ६२६) ट्रान्सफर गरेको थियो । जुन रकम कोस्टारिका, सिङ्गापुर, रोमानिया, चीन, रसिया, क्यानडा, अमेरिका, नेपाल, जर्मनी, युक्रेन, पोल्याण्ड, सेसल्स, काजकिस्तान, युगाण्डा, हङ्गेरी, बाङ्लादेश, ग्वाटेमाला, नेदरल्याण्ड्स र फिलिपिन्सका विभिन्न व्यक्ति र संस्थालाई पठाइएको थियो ।

सबै कारोबार गैरकानूनी भएकाले ‘फिनसेन’ ले शंकास्पदको सूचीमा राखेको हो । फिनसेनले उक्त कारोबार ‘नेपाल, भारत, पाकिस्तान, लेबनान, रसिया, इथियोपिया, इजिप्ट, नाइजेरिया, कम्बोडिया, क्यामरुन, युगान्डा, युएई, बहराइन, रुवान्डा र अफगानिस्थान जस्ता सम्पत्ति शुद्धीकरणको काम हुने उच्च जोखिमयुक्त मुलुकमार्फत भएको’ उल्लेख गरेको छ ।

त्यसैगरी अमेरिकाको केन्टकीस्थित सुरक्षा सेवा प्रदान गर्ने एमएस सेक्युरिटी कम्पनीले विभिन्न कारोबार गरेको देखिन्छ । कम्पनीको खाताका हस्ताक्षरकर्ता याकुब ए सिद्या र इस्मेल पिनो हुन् । अमेरिकामा भएको उक्त कम्पनीमार्फत नेपाल र शंकास्पद आर्थिक गतिविधि हुने उच्च जोखिमयुक्त मुलुकमा १७ लाख ३७ हजार ४५८.२९ अमेरिकी डलर (२० करोड ६७ लाख ५७ हजार ५३६) पठाएको देखिन्छ । यो कारोबारमा अमेरिकाको फस्ट फाइनान्सियलमार्फत अन्य बैंकहरू प्रयोग भएको ‘फिनसेन’ ले औंल्याएको छ ।

उक्त कारोबारका बारेमा सम्बन्धित बैंकहरूको ‘एन्टी मनी लाउन्डरिङ’ निगरानी प्रणालीले सम्पत्ति शुद्धीकरणको गतिविधि भएको भन्दै सचेत गराएको थियो । उक्त कारोबारबारे बैंकहरूले गरेको समीक्षा अनुसार १८ अक्टोबर २०१३ देखि ११ फेब्रुअरी २०१४ बीचमा १२० पटक गरेर न्यूनतम ३०० देखि अधिकतम १ लाखसम्म गरी कुल ११ लाख ७२ हजार ४०५.९१ अमेरिकी डलर (रु.१३ करोड ९५ लाख १६ हजार ३०३) कारोबार भएको थियो ।

धेरैजसो कारोबार पश्चिम अफ्रिकामा रहेका विभिन्न व्यक्तिका नाममा मासिक रूपमा पठाइएको सानो रकमको छ, जुन उही वा उस्तै आकारको छ । विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) मार्फत पठाइएको सानो आकारको रकम नेपाल, दक्षिण अफ्रिका, युएई, फ्रान्स, चीन, स्पेन, रिपब्लिक अफ आयरल्याण्ड, बेलायत, भारत, नेदरल्याण्ड र मोरिटेनियामा रहेका विभिन्न व्यक्तिका नाममा पठाइएको छ ।

उल्लिखित कारोबारका सम्बन्धमा लक्जेम्बर्गको डुओडिकड कम्पनीलाई हामीले इमेल मार्फत सोधेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

कारोबार नखुली भुक्तानी

८ अक्टोबर २०१५ देखि १६ मे २०१६ सम्म इडनबर्ग, स्कटल्याण्डको इपोक आफ्लुअन्ट भेन्चर कम्पनीले विभिन्न देशका कम्पनी तथा संस्थालाई ५६ पटक रकम पठाएको थियो । कम्पनीले लाट्भियारिगस्थित रिजनल इन्भेष्टमेन्ट बैंक र रसियाको मस्कोस्थित नोभिकोम बैंकमा रहेको आफ्ना खाताबाट ३६ लाख ६८ हजार २०८.११ अमेरिकी डलर (रु.४३ करोड ६५ लाख १६ हजार ७६५) पठाएको छ ।

कम्पनीले यो रकम नेपाल, चीन, हङकङ, अमेरिका, रसिया, डेनमार्क, कोलम्बिया, थाइल्याण्ड, पानामा, टर्की, इजरायल, बेल्जियम, जर्मनी, भियतनाम र नेदरल्याण्डका विभिन्न संस्था तथा व्यक्तिको बैंक खातामा पठाएको थियो ।

‘फिनसेन’ का अनुसार, अमेरिकाको न्यूयोर्कस्थित बैंक अफ चाइनाले उक्त कारोबारलाई शंकास्पद भनेको छ । बैंकका अनुसार, उक्त कारोबार आर्थिक, व्यापार वा कानूनी उद्देश्यका लागि भएको देखिंदैन ।

प्रकाशित : आश्विन ४, २०७७ २३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?