कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–चीन सीमाको स्तम्भ हरायो

छपाल लामा

हुम्ला — नेपाल–चीन सीमास्थित लिमी लाप्चामा गाडिएको ११ नम्बरको सीमास्तम्भ हराएको छ । सीमास्तम्भ हराएको खबर आएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको नेतृत्वमा सुरक्षा निकायको टोली सीमाक्षेत्र लाप्चा हिँडेको छ ।

टोलीले अन्य सीमा स्तम्भको अनुगमन समेत गर्नेछ । स्थानीय बासिन्दाले सीमा स्तम्भ नभएको खबर गरेपछि ११ नम्बर स्तम्भ हराएको पुष्टि भएको हो ।

टोलीमा नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरीका डीएसपी मोहन विष्ट, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जिव चौधरीसहित ३० जना छन् । ‘टोलीले अन्य सीमास्तम्भको अनुगमनसहित चिनियाँ टोलीसँग आवश्यक छलफल गर्नेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले भने, ‘सीमा क्षेत्रका विभिन्न समस्याबारे पनि टोलीमार्फत आवश्यक अध्ययन गरिनेछ ।’

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हमालको टोलीले सीमास्तम्भबारे अध्ययन गरी गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । हराएको ११ नम्बरको सीमास्तम्भको खोजी गर्न पनि टोली लाप्चा हिँडेको प्रमुख जिल्ला अधिकारी गिरीले बताए । उनका अनुसार चिनियाँ पक्षसँग लाप्चामै वार्ता गर्ने तय भएको छ । ‘सिमानामा देखिएका विभिन्न समस्या र दुई देशको पारस्परिक सम्बन्धबारे पनि छलफल गर्नेछौं,’ उनले भने ।

प्रकाशित : आश्विन ४, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?