'बञ्‍चरे डाँडा ल्याण्डफिल साइट दसैंअघि नै'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बञ्‍चरे डाँडा ल्याण्डफिल साइट दसैंअघि नै'

तस्बिर : दीपक केसी

काठमाडौँ — सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम दसैं अगाडि नै सम्पन्‍न हुने बताएका छन् ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल्ड साइट निर्माणको काम दसैं अगाडि नै सम्पन्‍न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दसैंअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

ल्याण्डफिल्ड साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कार्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।

बन्चरे डाँडामा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौंसम्म फोहोर व्यवस्थापन गरिँदा ल्याण्डफिल्ड साइट भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

प्रकाशित : आश्विन ४, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

हेर्नुहोस् पानी भरेपछि रानीपोखरीको रुप [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको कार्य एक हप्ताभित्र सकिने जनाएको छ । प्राधिकरणका सीईओ सुशील ज्ञवालीले एक साताभित्र पोखरीको पुनर्निर्माणको पहिलो चरणको कार्य सम्पन्न हुने बताएका हुन् ।

पोखरीको पहिलो तह(लेयर)मा पानी भर्ने कार्य आइतबारसम्ममा सकिने उनले बताए । पोखरीमा मेलम्ची खानेपानी आयोजनाको पाइप प्रयोग गरेर पानी भरिएको ज्ञवालीले कान्तिपुरलाई बताए ।

यस्तै मन्दिरको पुनर्निर्माण कार्य पनि सकिन लागेको उनले बताए । 'मन्दिरको गुजरको काम सुरु भइसकेको,' ज्ञवालीले कान्तिपुरसित भने,'एक हप्ताभित्र सुनको लेपन लगाइसकेपछि पुनर्निर्माण कार्य सम्पन्न हुनेछ ।' पहिलो चरणको काम सकिएपछि दोस्रो चरणको कार्य पनि सुरु गरिने उनले बताए ।

पोखरीमा ३ करोड लिटर पानी भरिने रानी पोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले कान्तिपुरलाई बताए । पोखरीको ३ वटै तहमा करिब १४ करोड लिटर पानी अट्छ । अहिले भरिएको पानी स्थिर भएपछि विस्तारै अन्य तहहरुमा पानी भरिने बताइएको छ । सचिव तुलाधारका अनुसार पोखरीको उद्घाटन चाँडै नै हुनेछ । यस वर्षको भाइटिकाबाट पोखरी पूर्ण रुपमा खुला हुने उनले बताए ।


प्रकाशित : आश्विन ३, २०७७ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×