औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री- समाचार - कान्तिपुर समाचार

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । विपिन अधिकारीद्वारा सम्पादित  ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्

व्यावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला ।

जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ,’ उनले भने ।

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमै विमोचन गरेका हुन् । ।

प्रकाशित : आश्विन २, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्

बौद्धिक अपांगता भएकाहरू : हिंसा खेप्छन्, भन्न सक्दैनन्

विद्या राई

काठमाडौँ — शारीरिक रूपमा तन्दुरुस्त देखिए पनि उनी बोल्न सक्दिनन् । लवाइखवाइ, सरसफाइदेखि हरेक क्रियाकलापमा परिवारको सहयोग चाहिन्छ । विराटनगरकी यिनै १४ वर्षीया किशोरीमाथि भदौ ४ गते नसोचेको घटना भयो । 

परिवारका सदस्य खेतीपातीको काममा निस्किएका थिए । घरमा उनी एक्लै थिइन् । त्यही मौका छोपेर छिमेकी ३५ वर्षीय सञ्जय राजवंशीले उनलाई बलात्कार गरे । परिवार घर फर्कंदा छोरी पीडाले छटपटाइरहेकी थिइन् । उनले राजवंशीले बलात्कार गरेको संकेत गरेपछि पीडित पक्षले मोरङ प्रहरीमा उजुरी दियो ।

राजवंशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । ‘उजुरी आएलगत्तै पीडकलाई पक्राउ गर्‍यौं, हिरासतमा राखेर अनुसन्धान गरिराखेका छौं,’ उनले शुक्रबार फोनमा भने ।

बौद्धिक अपांगता भएका बाराको जितपुरसिमरा उपमहानगरपालिकाका १८ वर्षीय पवन साहलाई घरनजिकै मदिरा पसल गर्ने मुकेश गुप्ताले ललाई–फकाई एसिड खुवाए । पवनका बुबा नन्दकिशोरका अनुसार साउन १८ गते दिउँसो छोरा खेल्न घर बाहिर निस्किएका थिए । गुप्ताले ‘मासु खान दिन्छु, पहिले यो झोल पिऊ’ भन्दै एसिड खुवाइदिएछन् । पिउन नसकेपछि जबर्जस्ती मुखमा कोच्याइदिएछन् । ‘पोलेको सहन नसकेर छोरा आत्तिँदै घर आयो, बेहोस भएर लड्यो, उतिखेरै स्वास्थ्य संस्था लैजाँदा रिपोर्टमा एसिड पिएको देखायो,’ नन्दकिशोरले भने ।

एसिडको छिटा दुवै खुट्टामा परेर जलेको थियो । छोराको उपचार बारामा सम्भव नभएपछि साउन २० गते ललितपुरको पाटन अस्पताल ल्याए । ‘स्लाइन चढाएको छ, पाइपबाट खाना खुवाइएको छ, मेरो छोरो बर्बाद भयो, भगवान् भरोसामा छु,’ उनल भने । गुप्तालाई हिरासतमा राखिएको प्रहरीले बताए ।

०६८ सालको जनगणनाअनुसार बौद्धिक अपांगता भएकाको संख्या १४ हजार ८ सय ८८ छ । जसमा महिला ६ हजार ६ सय ८ र पुरुष ८ हजार २ सय ८० छन् । कोरोना महामारीको मौकामा बौद्धिक अपांगता भएकाहरूमाथिको हिंसा बढेको सरोकारवाला बताउँछन् । ‘बौद्धिक अपांगता भएकाहरू बोल्न सक्दैनन्, स्मरणशक्ति हुँदैन, यही मौकामा अरू बेलाभन्दा फुर्सदिलो भएर घरैमा बसेकाहरूबाट उनीहरूमाथि यौन हिंसा, कुटपिट, एसिड खुवाउनेजस्ता आपराधिक घटना भइरहेका छन्,’ बौद्धिक अपांगताका अभिभावकको महासंघ, नेपालका अध्यक्ष राजु बस्नेत भन्छन्, ‘अरू बेला पनि हिंसा नहुने होइनन्, यो बेला पीडकहरूलाई झन् सजिलो भएको छ ।’

बौद्धिक अपांगता भएका पुरुषभन्दा महिला र बालिका बढी हिंसामा पर्ने गरेका छन् । नेपाल अपांग महिला संघकी महासचिव मीना पौडेलका अनुसार अपांगता भएकालाई परिवार र समाजले दीर्घरोगीजस्तै ठान्छन् । ‘कोरोना महामारी मात्रै होइन, जुनसुकै विपद्मा अपांगता भएकाहरू प्रभावित हुन्छन्, बौद्धिक अपांगता भएकालाई हिंसाको जोखिम धेरै छ,’ उनले भनिन् । गत शुक्रबार मात्र बाबुबाट बलात्कृत भएकी बालिकाको केस आफूहरूकहाँ आएको पौडेलले बताइन् । ‘न्यायिक निकायसम्मको पहुँच छैन, सकभर लुकाउने नै चलन हुन्छ, कमै मात्र हामीकहाँ आइपुग्छन्,’ उनले भनिन् ।

राष्ट्रिय महिला आयोगमा हेल्पलाइन परियोजना व्यवस्थापक पलिता थापाले पनि अपांगता भएका महिला सेवाग्राही नगण्य रहेको बताइन् । ‘लकडाउनअघि एक–दुई ह्विलचियर प्रयोगकर्ताहरू आउनुहुन्थ्यो, महामारीयता आउनुभएको छैन, हिंसा नै नभएकाले त पक्कै होइन, हामीसम्म पहुँच नपुगेरै नआएको हो कि,’ उनले भनिन् ।

बौद्धिक अपांगता भएकाहरूले सामान्य मानिस जसरी सहजै घटना व्यक्त गर्न सक्दैनन् । चोटपटक र असहज व्यवहार देखिँदा मात्र परिवारले बुझ्ने कोसिस गर्छन् । कतिपय घटनामा इज्जत जाने डरले अभिभावक नै चुप बस्छन् । यसो गर्दा पीडकहरूलाई नै बल पुग्ने गरेको डीएसपी राई बताउँछन् । पीडितहरूको कमजोर पारिवारिक पृष्ठभूमि, ललाइफकाइ गर्न सजिलो हुने, पोल खोल्न नसक्ने ठानेर पीडकहरूले मौका छोप्ने गरेको उनको भनाइ छ ।

एक वर्षअघि अछाम, रामारोसनकी बौद्धिक अपांगता भएकी १२ वर्षीया बालिका गर्भवती भइन् । उनी गर्भवती भएको परिवारले पाँच महिनापछि मात्रै थाहा भयो । आफूलाई कसले बलात्कार गर्‍यो, बालिका भन्न सक्दिनन् । उनका बाआमा पनि बोल्न सक्दैनन् । बालिकालाई उनका ठूलाबुबाले उपचारका लागि काठमाडौंमा ल्याएका छन् । उनलाई काठमाडौंकै एक संस्थामा राखिएको छ ।

बौद्धिक अपांगता भएका बालबालिकालाई बलात्कारबाट जोगाउन मुस्किल पर्ने भन्दै अभिभावकले नै पाठेघर निकालिदिने गरेका घटनासमेत रहेको बौद्धिक अपांगताका अभिभावकको महासंघका अध्यक्ष बस्नेतले बताए ।

प्रकाशित : आश्विन २, २०७७ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×