कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भात खान नपाएपछि’ गर्भवतीद्वारा आत्महत्या

सधैं रोटीकै भरमा छाक टार्दै गरेकी उनले त्यस दिन भात खान मन लागेको बताएकी थिइन् तर चामल कम भएको भन्दै त्यसका लागि अनुमति मिलेन । माइतीमा सापटी लगेर पकाउँछुभन्दा समेत सासूबुहारीबीच भनाभन भयो । अन्तत: सबैलाई आँगनमा मकै भुटेर खान दिई उनी कोठाभित्र छिरिन् र पासो लगाइन् ।
कमल पन्थी

काठमाडौँ — पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् । तर, भात पकाउने विषयमा सासू–बुहारीबीच एकमत बनेन । अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ ।

‘भात खान नपाएपछि’ गर्भवतीद्वारा आत्महत्या

गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन । भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाउन अनुमति मिलेन ।

निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए । ‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन्,’ उनले भने, ‘आमासँग अनुमति लिएकी हुन् ।’

त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् । लक्ष्मीले भने बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग झगडा नभएको दाबी गरिन् । ‘बुहारीले के कारणले आत्महत्या गरिन्, बुझ्न सकिनँ,’ उनले भनिन् । रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन् । धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा झुन्डिएको अवस्थामा देखेको ओमकारले बताए । नीलमले आत्महत्या गर्दा कोठाका झ्यालढोका खुलै थिए । झ्यालढोका नलगाएकाले पनि आत्महत्या गरेको मेसो नपाएको परिवारको भनाइ छ ।

गोडिया परिवारको सम्पत्तिका नाममा दुई कठ्ठा जमिन र एउटा घर छ । उनीहरू अरूको खेत अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । कोरोना संक्रमणका कारण मजदुरीसमेत नपाउँदा घरखर्च टार्न निकै समस्या थियो । ‘श्रीमतीलाई गर्भवती अवस्थामा भात खाने इच्छासमेत पूरा गर्न नसक्दा यस्तो विपत्ति आयो,’ ओमकारले भने, ‘कोरोनाले गर्दा यो सबै भएको हो ।’

नीलमका माइती पनि मजदुरीमा निर्भर छन् । ६ दिदीबहिनीमध्ये नीलम काइँली हुन् । नीलमको माइतीमा पनि भात नपाकेको एक महिना भयो । त्यही कारण छोरीले भात खाने मनसायले आफ्नो घरबाट एक किलो चामल लिएर माइत आएकी नीलमका बाबु रमेशले बताए । परिवारको नमिठो कुरा सुनेरै छोरीले आत्महत्या गरेको उनको दाबी छ । स्थानीयसमेत रहेकी नगर कार्यपालिका सदस्य विष्णुकुमारी शर्माले पनि खानाका विषयमा झगडा भएकाले नीलमले आत्महत्या गरेको हुन सक्ने बताइन् । ‘गाउँका अधिकांश गरिब छन्,’ उनले भनिन्, ‘उनीहरूको आम्दानीको स्रोत मजदुरी हो ।’

वडाध्यक्ष राजकुमार यादवले भने भातकै विषयमा भनाभन भएपछि नीलमले आत्महत्या गरेकोबारे आफूलाई जानकारी नभएको बताए । ‘समस्या रहेको थाहा पाएको भए चामल, दाल दिएर पठाउँथें,’ उनले भने, ‘मेरो वडामा कसैलाई पनि भोकै मर्न दिन्नँ ।’ बर्दिया प्रहरीको मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक सुशील थापा मगरले भने घटना खानाकै वा अन्य कारणले भएकोबारे अनुसन्धान भइरहेको बताए ।

पोस्टमार्टम रिपोर्टबाट भने आत्महत्या गरेको पुष्टि भएको उनको भनाइ छ । ‘परिवार वा माइती पक्षबाट हालसम्म कुनै जाहेरी आएको छैन,’ उनले भने, ‘त्यसकारण पनि कसैको बयान लिन सकिएको छैन ।’ ५ वर्षअघि विवाह गरेका ओमकार र नीलमका दुई वर्षकी छोरी छन् ।

प्रकाशित : आश्विन १, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?