बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प- समाचार - कान्तिपुर समाचार

बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । 

रुप्से झरनामा लेदोसहितको बाढी आएपछि फेदीको सडक कटानमा परेको हो । मंगलबार बिहानैदेखि रुप्सेमा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएकामा सडक नै बगेपछि बुधबारदेखि पूरै ठप्प भएको हो । बाढीले दुवैतर्फको पूरै भित्तो बगाएकाले तत्काल नयाँ ट्र्याक खोल्नसमेत समस्या देखिएको छ ।

साउन २६ गतेको बाढीले एक महिनासम्म अवरुद्ध सडक रुप्से झरनामा नयाँ ट्र्याक खोलेर भदौ १ देखि यातायात सञ्चालन गरिएको थियो ।

‘मंगलबार रुप्सेमा पानीको सतह केही घटेसँगै पानी फिँजाई नयाँ ट्र्याक खोलेर सवारी पास गराउने प्रयास असफल भयो । राति बाढी उर्लेर वारिपारिको भित्तासमेत बगाएपछि तत्काल सडक खुल्ने सम्भावना नै छैन,’ सडकका स्थानीय सुपरभाइजर इन्द्रसिं शेरचनले भने, ‘रुप्सेमा पानीको सतह नघटी ट्र्याक खोल्न सकिँदैन ।’

त्यस्तै सदरमुकाम बेनीदेखि ११ किमी उत्तर रघुगंगा गाउँपालिका–१ बेगखोलामा बाढी आउँदा यातायात ठप्प भएको छ । त्यहाँ अहिले ‘स्ट्यान्ड बाई’ राखिएको डोजरले बोकेर यात्रु वारपार गराउने गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीमा लकडाउन उल्लंघन गर्नेलाई कारबाही

घनश्याम खड्का

म्याग्दी — लकडाउन उल्लंघन गरी भलिबल प्रतियोगिता र मेला आयोजना गर्ने क्लबका पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । धौलागिरि गाउँपालिका–७ ताकमस्थित सफल टोल सुधार क्लबका अध्यक्ष सुमन केसी, सचिव किरण गुरुङ र कोषाध्यक्ष दिनेश केसीलाई संक्रामण ऐनबमोजिम प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको आदेशले मंगलबार तीन दिन कैद र १ सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।

क्लबले भदौ २६ देखि २८ सम्म ताकम माविको प्रांगणमा भलिबल प्रतियोगिता र मेला आयोजना गरेको थियो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा पालना गर्नुपर्ने सुरक्षा मापदण्डसमेत बेवास्ता गरी मेला आयोजना गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले आयोजकलाई सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनाले कैद सजायको दैनिक तीन सय रुपैयाँका दरले ९ सय र जनही १ सय जरिवानासहित एकमुष्ट तीन हजार बुझाएर मंगलबार नै रिहा भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ २२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×