कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनद्वारा कोभिड-१९ महामारीका लागि आवश्यक सामग्रीको सूची माग

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालको कोभिड-१९ महामारीमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची माग गरेको छ ।

चीनद्वारा कोभिड-१९ महामारीका लागि आवश्यक सामग्रीको सूची माग

मंगलबार बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईसँग भएको भेटवार्तामा नेपालको महामारीमा अझै सहयोग गर्ने चीनको प्रतिबद्धता आएको हो ।

यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो । ‘महामारीले नेपालको अवस्थामा गम्भीर असर परिरहेका बेला चीनले ढाडस दिएको छ, आवश्यक स्वास्थ्य सामग्रीको सूचि पनि मागेको छ,’ राजदूत पाण्डेसँगै भेटवार्तामा सहभागी दूतावासका मिनिस्टर सुशील लम्सालले कान्तिपुरलाई जानकारी दिए ।

नेपालमा महामारी फैलिएदेखि नै चीनले सहयोग गर्दै आएको छ भने नेपालले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकोमा दुवै देशले आभार प्रकट गर्दै यसबीचमा आपसी सहयोगलाई अझै द्रूत बनाउने प्रतिबद्धता चीनले दोहोर्‍याएको छ ।

सीको नेपाल भ्रमण ताकाका सम्झौताप्रति चासो

राजदूत भएर चीन आएको दुई महिनापछि पहिलो पटक कुनै पनि चिनियाँ परराष्ट्र अधिकारीसँग भेट्ने क्रममा पाण्डेले चिनियाँ उपमन्त्री लुओ चौहुईसँग भेटेका हुन् । त्यस क्रममा उपमन्त्री लुओले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष भएको नेपाल भ्रमणका दौरान भएका सहमति सम्झौताहरू कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने धारणा राखे ।

सीको नेपाल भ्रमण तथा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका दौरान दूरगामी महत्वका सम्झौताहरू भएका थिए । ‘दुवै देशका नेताहरूबीच भएका उच्चस्तरीय सहमतिहरूलाई कार्यरूप दिने विषयमा कुराकानी भयो,’ लम्सालले भने, ‘दीर्घकालीन सिलसिलाका सहमतिहरूलाई क्रमशः अघि बढाउँदै लानुपर्नेमा दुवै पक्ष गम्भीर देखिएका छन् ।’

त्यसक्रममा राजदूत पाण्डेले बीआरआई अन्तर्गतका परियोजनाहरू कार्यान्वयन तथा थप अध्ययन, चीन-नेपाल द्विपक्षीय संयन्त्रका बैठकहरूलाई तीव्रता दिनुपर्ने धारणा राखेका थिए।

चीनको अन्तर्राष्ट्रिय चासो

कुनै पनि परराष्ट्र अधिकारीसँग नव नियुक्त नेपाली राजदूतको पहिलो भेटवार्ता भएकाले चीनले आफ्नो परराष्ट्र नीतिको बारेमा पनि व्याख्या गरेको छ । भेटमा उपमन्त्री लुओले चीन र नेपालबीच अन्तर्राष्ट्रिय तथा क्षेत्रीय हितमा भएका मतैक्यताका बारेमा चर्चा गरे ।

नेपाल र चीनले संयुक्त राष्ट्रसंघीय मानवअधिकार काउन्सिलमा उम्मेदवारी दिएकाले एकले अर्कालाई सघाउने विषयमा छलफल भएको छ । यसअघि अन्तर्राष्ट्रिय कोर्ट अफ जस्टिसमा नेपालको पनि मत पाएको चीन विजयी भएको थियो । भेटमा लुओले पछिल्लो समय चीन र छिमेकी मुलुकहरू तथा अमेरिका लगायतसँगको सम्बन्धमा बारेमा पनि बताए ।

कोभिड महामारीका सुस्त भइरहेको केरूङ नाका र तातोपानी नाकालाई सहज बनाउनका लागि चीनले ध्यान दिएको पनि चिनियाँ प्रतिनिधिले जानकारी दिए ।

भेटवार्ताका क्रममा राजदूत पाण्डेले आफ्नो तर्फबाट नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ, कोभिड-१९ महामारीमा चीनको सहयोग, दुई देशबीचका संयन्त्रहरूको पुनःताजगी, बीआरआई परियोजना, नाका तथा अध्ययनका लागि चीन आउनुपर्ने विद्यार्थीहरूलाई छिट्टै ल्याउन चीनले पहल गर्नुपर्ने लगायतका १५ बुँदा प्रस्तुत गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?