किन बढ्दै छ रासायनिक मलको प्रयोग ?- समाचार - कान्तिपुर समाचार

किन बढ्दै छ रासायनिक मलको प्रयोग ?

जब एउटै जमिनमा पटकपटक फसल लगाउने र उत्पादन गर्ने क्रम बढ्छ, तब जमिनको पोषक तत्त्व घट्छ । एउटै जमिनबाट छोटो समयमै पटकपटक उत्पादन लिन रासायनिक मल प्रयोग बढेको हो ।
गोविन्द पोखरेल

काठमाडौँ — ठेकेदार कम्पनीले समयमै मल आयात गर्न नसक्दा यति बेला मुलुकभर रासायनिक मलको अभाव छ । विकल्पका रूपमा सरकारले बंगलादेश सरकारसँग युरिया मल पैंचो मागेको छ ।

सरकारले तेस्रो मुलुकबाट खरिद गरेर अहिले मल वितरण गरेपनि किसानले चाहे जति मल पाउन सकेका छैनन् । १५ किलो युरिया मल लिन किसानले घन्टौंसम्म लाइन बस्नुपरेको छ ।

किसानले धानमा दुई पटक युरिया मल हाल्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका पूर्वमुख्य कृषि बाली अधिकृत एवं धानविज्ञ भोलामान सिंह बस्नेत बताउँछन् । रोपाइँ गरेको २० देखि २५ दिनपछि र बाला लाग्ने बेलामा युरिया मल हालिँदै आएको उनको भनाइ छ । ‘अहिले धानमा बाला लाग्ने समय हो, यही बेला मल नपाएपछि हाहाकार भएको हो,’ उनले भने ।

धानमा किन प्रयोग हुन्छ युरिया ?

हरिया बिरुवा तथा वनस्पति उत्पादकत्व हुन् भने मानिसलगायत अन्य जीव उपभोक्ता । मानिसलाई जस्तै बोटबिरुवालाई पनि पौष्टिक तत्त्व चाहिने त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका प्राध्यापक इमिरेटस पीके झा बताउँछन् । बिरुवाहरूलाई वृद्धि विकासका लागि चाहिने मुख्य पोषक तत्त्वहरूमा नाइट्रोजन, फस्फोरस र पोटासियम अत्यावश्यक रहेको उनको भनाइ छ ।

अर्गानिक मलको साटो रासायनिक मलमा बढी मात्रामा पोषक तत्त्व पाइने भएकाले किसान यसतर्फ आकर्षित भएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक श्रीप्रसाद भण्डारीले जानकारी दिए । ‘एक किलो युरियामा ४६ प्रतिशत नाइट्रोजन पाइन्छ । तर अर्गानिक मलमा त्यो हुँदैन,’ उनले भने, ‘किसानले अर्गानिकमा भन्दा रासायनिकमा चाहिने मात्रामा नाइट्रोजन पाइने भएपछि त्यही प्रयोग गर्छन् ।’ उनका अनुसार अर्गानिक मलमा नाइट्रोजनको मात्रा धेरै कम भएकाले किसान रासायनिक मलतर्फ आकर्षित भएका हुन् ।

नाइट्रोजनले धान मात्रै नभएर सबै बिरुवालाई हरियो बनाउन भूमिका खेल्ने प्राध्यापक झाले बताए । फस्फोरसले वनस्पतिको प्रकाश संश्लेषण प्रक्रिया, श्वासप्रश्वास, ऊर्जाको खपत, कोष विभाजन, फल र फूलको विकासका साथै जराको विकासमा सहयोग गर्छ । पोटासियमले प्रोटिनको निर्माण, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा भागहरूको विकास गर्न भूमिका खेल्छ ।

किसानले विशेषगरी धान हरियो बनाउन र उत्पादनमा बढोत्तरी आओस् भनेर युरिया लगाउने गरेको कृषि वैज्ञानिक बताउँछन् । युरियाले बिरुवामा ‘क्लोरोफिल’ को मात्रा बढाउने भएकाले बाली हरियो हुन्छ । जसका कारण प्रकाश संश्लेषण प्रक्रिया राम्रोसँग हुन्छ । भण्डारी भन्छन्, ‘सबै प्रकारको बालीमा प्रयोग गर्न पनि मिल्ने पीएच मान ७ अर्थात् न्युट्रल हुने भएकाले पनि युरियाको प्रयोग हुने गरेको हो । ओसिलो तथा पानी भएको क्षेत्रमा युरिया हाल्दा बग्ने र त्यहाँ हुने नाइट्रोजन कम्पाउन्ड छिट्टै उड्ने भएकाले पटकपटक युरिया हाल्नुपर्ने धानविज्ञ बस्नेतको भनाइ छ ।

यस कारण बढ्यो खपत

जब एउटै जमिनमा पटकपटक फसल लगाउने र उत्पादन गर्ने क्रम बढ्छ, तब जमिनमा पाइने पोषक तत्त्व घट्दै जान्छ । एउटै जमिनबाट वर्ष दिनमै तीन/तीन पटक उत्पादन लिन थालेपछि माटोमा पाइने पौष्टिक तत्त्व स्वत: घटेर जाने भएपछि उर्वराशक्ति विस्तारका लागि मल प्रयोग हुने प्राध्यापक झाको भनाइ छ ।

रासायनिक मल पानीमा सजिलै घुल्ने र अर्गानिक मल नघुल्ने नार्कको माटो विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक दिनेश खड्का बताउँछन् । ‘दुवै मलको उद्देश्य एउटै हुन्छ, बिरुवालाई चाहिने तत्त्व उपलब्ध गराउने,’ उनले भने, ‘रासायनिक मल रासायनिक प्रक्रियाबाट निर्माण गरिन्छ भने प्रांगारिक मल जैविक वस्तुबाट ।’

चाँडै नतिजा खोज्ने बानी भएकाले पनि रासायनिक मलको प्रयोग बढेको छ । किसानले अरूलाई पनि पुग्ने गरी उत्पादन गर्नुपर्ने भएकाले मलको प्रयोग बढ्दै गएको भण्डारीले सुनाए । ‘जुन बालीले जति धेरै उत्पादन दिन्छ, उसले त्यही मात्रामा मलको आवश्यकता माग्ने हो । मल लगाएपछि नतिजा र उत्पादन दिने भएपछि युरिया प्रयोग हुनु स्वाभाविक हो,’ उनले भने ।

प्रांगारिकभन्दा रासायनिक मलले दिने नतिजा बढी भएकाले किसान यसतर्फ आकर्षित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जीसी बताउँछन् । ‘धेरै अर्गानिक मल हाल्दा उत्पादन थोरै दिने र रासायनिक मल थोरै हाले पनि उत्पादन धेरै दिने भएकाले किसानले यसको प्रयोग गर्न थालेका हुन्,’ उनले भने । एक केजी युरियाले थप १२ देखि २० केजी धान उत्पादन बढाइदिने कृषिविज्ञहरूको भनाइ छ ।

जमिन नबढ्ने तर जनसंख्या बढेको बढ्यै गर्ने भएकाले सानो ठाउँमा धेरै मात्रामा उत्पादन बढाउनुपर्ने भएकाले रासायनिक मलको प्रयोग बढेको कृषिविज्ञ कृष्ण पौडेलले बताए । ‘धानमा युरिया त प्रयोग हुन्छ । तर यसले आवश्यक मात्रामा उत्पादन दिँदैन । युरियाको मुख्य उद्देश्य भनेको हरियो बनाउने हो । बाली पसाउने बेलामा राम्रोसँग प्रयोग भएन भने सबै धान नष्ट गरिदिन्छ ।’

घट्दै माटोको उर्वराशक्ति

खेतबारीमा धेरै रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आउने, अम्लीयपना ज्यादा हुने जस्ता समस्या देखापर्ने कृषिविज्ञ बताउँछन् । सन् २०१६ को विश्व बैंकको तथ्यांकअनुसार नेपालमा प्रत्येक १ हेक्टर जमिनमा ७४ किलो रासायनिक मल प्रयोग हुँदै आएको छ ।

धेरै मात्रामा रासायनिक मल प्रयोग गर्दा यसले माटोको उर्वराशक्ति पनि घटाउने र बालीलाई समेत असर गर्ने कृषिविज्ञ पौडेलको भनाइ छ । रासायनिक मल हालेर उत्पादन गरिएको खाद्यान्न तथा बालीको गुणस्तर पनि राम्रो नहुने उनको तर्क छ । उन्नत जातको बाली लगाउँदा उत्पादनका लागि सोहीअनुरूपको स्याहारसुसार आवश्यक पर्ने भएकाले मलको प्रयोग बढ्दै गएको उनले बताए ।

माटोको अम्लीयपना धेरै हुँदा त्यहाँ हुने पौष्टिक तत्त्व तथा खनिजहरूको मात्रा घट्ने नार्कको माटो विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक दिनेश खड्काको भनाइ छ । नेपालमा आवश्यक मात्रामा किसानले बालीमा मल नहालेको र यसले अहिले नै भयावह अवस्था नल्याउने उनले बताए । धेरै मात्रामा मल प्रयोग गर्दा यसले जलीय विविधतालाई समेत असर गर्ने अनुसन्धानहरूले देखाएका छन् । कृत्रिम युरियाले नचाहिने यौगिकहरू माटोमा छाड्ने र त्यहाँका सूक्ष्म जीवसमेत मर्ने कृषिविज्ञ पौडेलको भनाइ छ ।

नेपालमा रासायनिक मलको प्रयोगले उर्वराशक्ति घटेको नदेखाए पनि ठाउँठाउँमा माटोको गुणस्तर तथा माटोमा चाहिने पौष्टिक तत्त्वको कमी भएको देखाएको माटो विज्ञान अनुसन्धान केन्द्रको तथ्यांक छ ।

रासायनिक मललाई बढी प्रोत्साहन

नेपालमा सन् १९५० को दशकबाट भारत र रसियाबाट रासायनिक मल आयात हुने गरेको कृषि प्रसार अधिकृत जीसीले जानकारी दिए । सरकारले सन् १९७३/७४ सालबाट मलमा अनुदान दिन थालेपछि यसको प्रयोग ह्वात्तै बढेको हो । सन् १९९७/९८ तिर अनुदान रोके पनि सरकारले सन् २००८/०९ देखि पुन: अनुदान दिन थालेपछि प्रयोग झन् चुलियो । यसमा पनि सरकारले पोटास, डीएपी र युरियालाई केन्द्रमा राखेर अनुदान दिँदा बिरुवालाई चाहिने अन्य आवश्यक पौष्टिक तत्त्वको प्रयोग भने घट्दै गएको छ ।

पछिल्लो ५ वर्षमा सरकारले मल खरिदका लागि मात्रै करिब ५० अर्ब रकम खर्चिइसकेको छ । सरकारले चालु आर्थिक वर्षका लागि भनेर रासायनिक मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको जीसीले बताए । जब कि प्रांगारिक मल किन्न ४३ करोड रुपैयाँ विनियोजन भएको छ । नेपालमा युरिया, पोटास र डीएपी मलको माग वार्षिक ७ लाख मेट्रिक टनको हारहारीमा भए पनि त्यसअनुसार आपूर्ति नभएको उनको भनाइ छ । अहिले देशमा वार्षिक करिब ४ लाख मेट्रिक टन आयात भइरहेको उनले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा सरकारले रासायनिक मल खरिदका लागि ९ अर्ब छुट्याए पनि उक्त रकम अपुग भएपछि थप १ अर्ब ६८ करोड थपेर १० अर्ब ६८ करोडको मल आयातमा खर्च भएको थियो । चालु आर्थिक वर्षसहित पछिल्ला ५ वर्षमा सरकारले रासायनिक मलका लागि ४५ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष ०७२/७३ मा ५ अर्ब ४४ करोड, ०७३/७४ र ७४/७५ मा दुवै आर्थिक वर्षमा ४ अर्ब ८० करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । ०७५/७६ मा ८ अर्ब ३७ करोड र ०७६/७७ मा रासायनिक मल खरिदका लागि १० अर्ब ६८ करोड खर्च भएको जीसीले बताए ।

सरकारले प्रांगारिक खेती तथा मल प्रयोगका लागि भने कार्यक्रम मात्रै गर्ने गरेको छ । किसानलाई प्रत्यक्ष लाभ हुने किसिमका नवप्रवर्तनका कार्य कृषि मन्त्रालयले ल्याउन नसकेको कृषिविज्ञहरूको भनाइ छ । प्रांगारिक मल सुधारका कार्यक्रम सञ्चालनमा रहे पनि उक्त बजेट प्रदेश तथा स्थानीय तहसम्म पुग्दा किसानको हातमा नपुग्ने मन्त्रालयकै एक अधिकारी बताउँछन् ।

विकल्प के त ?

नेपालमा रासायनिक मल नहालेको माटो पाउन गाह्रो पर्ने माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक भण्डारीको भनाइ छ । प्रत्येक सिजनमा बाली लगाउँदा धेरै मात्रामा त्यो माटोबाट पौष्टिक तत्त्व सकिने गरेको छ । त्यही भएर रासायनिक मल प्रयोग बढिरहेको हो । नेपालको माटो सुहाउँदा रैथाने बालीका लागि मलको आवश्यकता नपर्ने उनले बताए । ‘नेपाली माटोसँग सुहाउँदा कोदो बालीका लागि मल चाहिँदैन । तर यसको हाइब्रिड प्रयोग गर्न थालियो भने आवश्यक पर्छ । धानमा पनि हाइब्रिड तथा अन्य प्रजाति ल्याइयो, रैथानेलाई विस्थापित गरेपछि मलको आवश्यकता देखिएको हो,’ उनले भने ।

धान, मकै र गहुँका रैथानेभन्दा पनि हाइब्रिड तथा उन्नत जात प्रयोग हुन थालेपछि मलको आवश्यकता देखिएको उनले औंल्याए । उन्नत जातको बीउ तथा बाली लगाएपछि माटोको उर्वराशक्ति पनि त्यहीअनुसार घट्दै जाने विज्ञहरूको भनाइ छ । आधुनिक खेतीका लागि मल आवश्यक भए पनि अब प्रांगारिकतर्फ केन्द्रित हुनुपर्ने कृषिविज्ञ कृष्ण पौडेल बताउँछन् । अहिलेका बाली रासायनिक मलसँग ‘एडप्ट’ भइसकेको प्राध्यापक झा बताउँछन् । भन्छन्, ‘हाम्रोमा रैथाने बाली पनि थिए । तर तिनमा पनि पोषक तत्त्व भन्दै रासायनिक मल राख्न थालियो । अन्तत: मलबिना उत्पादन नै दिन नसक्ने अवस्थामा पुगे ।’

धानमा युरिया प्रयोगको विकल्पमा हरियो मल प्रयोग गर्नुपर्ने धानविज्ञ बस्नेत सुझाउँछन् । धान खेतीका लागि माटोको उर्वराशक्ति राम्रो हुनुपर्ने उनको भनाइ छ । धानमा हरियो मलका रूपमा रोस्टाटा प्रजातिको बिरुवा प्रयोग गर्न सकिने उनले बताए । यस्ता बिरुवा धान रोप्नु केही महिनाअघि छरेर त्यत्तिकै माटोमा पल्टाइदिनाले उर्वराशक्ति विकास हुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्

प्लाज्मा दानले हटायो विभेद

‘निको भएकाको रगतले अरू संक्रमितलाई बचाउन सकिने थाहा पाएपछि छरछिमेकको हेराइ एकाएक बदलिएको छ ।’
अमृता अनमोल

बुटवल — बुटवल–११ देवीनगरका व्यवसायी सुरज क्षत्रीलाई भदौ १ गते कोरोना संक्रमण देखियो । उनको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भयो । कुनै लक्षण नभएकाले उनीहरू घरमै बसे । तर, छरछिमेकले विरोध गरे ।

आइसोलेसनमा जान दिएको दबाब नमानेपछि बोलीसमेत बारेर बसे । ‘के चाल छ भनेर सोध्ने पनि कोही भएन,’ सुरजले भने, ‘फोन र इन्टरनेटबाट बोल्दा पनि सर्लाजस्तो गरे ।’

१४ दिनपछि उनी निको भए । तर पनि छरछिमेकको स्वभाव बदलिएन । तिनै सुरजलाई एक सातायता छरछिमेकले नियमित सोधखोज थालेका छन् । ‘जब प्लाज्मा थेरापी सुरु भयो । मैले रक्तदान गरें,’ सुरजले भने, ‘छरछिमेकले हाम्रो मात्रै रगत काम लाग्ने थाहा पाएछन् । त्यसपछि एकाएक सोधीखोजी सुरु भयो ।’ नचिनेका व्यक्तिले समेत फोन गरेर हालचाल सोध्ने र आवश्यक परे रगत दिन भनेको उनले बताए ।

बुटवल–१२ तामनगरका राजु आचार्यलाई साउन २२ गते संक्रमण देखियो । दुई दिनपछि तामनगर खानेपानीमा कार्यरत पत्नी भगवतीमा पनि संक्रमण पुष्टि भयो । सँगै घरमा रहेकी ९३ वर्षीया हजुरआमा, बुबाआमा र छोराछोरीमा संक्रमण थिएन । कुनै लक्षण नभएकाले आचार्य दम्पतीले घरमै आइसोलेसनमा बस्ने निधो गरे । त्यसले छरछिमेक रुष्ट भए । घरअगाडिको बाटो हिँड्न छाडे । ‘कतिपयले घरमा बस्न दिनुहुन्न भन्नुभयो । भैंसी चराउन खेतमा जान दिइएन,’ भगवतीले सुनाइन्, ‘१४ दिनमा कोरोना जित्यौं । तर, नकारात्मक प्रभाव जित्न समय लाग्यो ।’ अहिले यी दम्पतीको प्रशंसा भइरहेको छ । प्लाज्मा थेरापी सुरु भएपछि उनीहरूको सोधीखोजी भएको हो ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीलाई प्लाज्मा थेरापी गर्न निको भएका संक्रमितको रगत आवश्यक परेको थियो । भदौ १८ गते रक्त सञ्चार केन्द्रले तिनै दम्पतीलाई रक्तदान गर्न आग्रह गर्‍यो । दम्पतीले नै खुसीखुसीले रक्तदान गरे । ‘संक्रमण निको भएपछि पनि समाजमा घुलमिल हुन सकेका थिएनौं,’ राजुले भने, ‘त्यस्तोमा हाम्रै रगत काम लाग्ने र कोही बाँच्ने थाहा पाएपछि खुसीको सीमा रहेन ।’

बुटवलको कोरोना विशेष अस्पतालले भदौ पहिलो सातादेखि संक्रमितलाई प्लाज्मा थेरापीद्वारा उपचार परीक्षण सुरु गरेको हो । चिकित्सकहरूका अनुसार कोरोना संक्रमण भएका व्यक्तिको शरीरमा त्यसको प्रतिक्रियाका लागि प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गर्छ । रगतमा हुने एन्टिबडीले भाइरससँग लड्ने काम गर्छ । संक्रमण निको भएकाको रगतमा हुने त्यही प्लाज्मा संकलन गरी संक्रमितलाई दिइन्छ । जसलाई प्लाज्मा थेरापी भनिन्छ । त्यसका लागि संक्रमण निको भएका व्यक्तिले रगत दिनुपर्ने हुन्छ । यही रगतका कारण दुव्र्यवहारमा परेका संक्रमितको सम्मान र सोधखोज सुरु भएको छ ।

प्लाज्मा दानकै कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ की ४१ वर्षीया गीतादेवी चापागार्इं खुलेर बोल्न सक्ने भएकी छन् । संक्रमणपछि गुम्सिएकी उनी भदौ २३ गते रक्तदानका लागि बाहिर निस्किन् । ‘समाजमै दोस्रो दर्जाका रूपमा बसेका बेला निको भएका संक्रमित खोज्दै बुटवलबाट आउनुभयो,’ उनले भनिन्, ‘निको भएकाको रगतले अरू संक्रमितलाई बचाउन सकिने थाहा पाएपछि छरछिमेकको हेराइ एकाएक बदलिएको छ ।’

संक्रमितलाई प्लाज्मा थेरापी दिन सुरु गरिएसँगै बुटवलमा प्लाज्मा बैंक स्थापना गरिएको छ । संक्रमितलाई आवश्यक परेका बेला तत्काल प्लाज्मा उपलब्ध गराउने उद्देश्यले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ को समन्वयमा रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना गरिएको हो । अहिलेसम्म ४७ जना संक्रमणबाट निको भएकाले रक्तदान अर्थात् प्लाज्मा दान गरेका छन् । स्वयंसेवी रक्तदाता समाज, रेडक्रस सोसाइटीलगायतले कपिलवस्तुको तौलिहवा, पश्चिम नवलपरासीको बर्दघाट र रूपन्देहीका गाउँगाउँमा पुगेर अहिले प्लाज्मा संकलन गरिरहेका छन् ।

‘संक्रमित पत्ता लगाउने र रक्तदानका लागि प्रेरित गर्ने काम जारी छ,’ रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले भने, ‘यसले एकातिर लुकेर बसेका संक्रमितलाई समाजमा स्थापित गर्न सहज भएको छ । अर्कोतिर संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी गराएर बाँच्ने दर बढाउन सकिएको छ ।’ संक्रमितलाई हुने हेयभाव घट्ने र बिरामी निको हुने भन्दै सुरुवातमा चिकित्सकहरू नै प्लाज्मा दान गर्न अघि सरे । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा. साजन श्रेष्ठले पहिलो पटक भदौ ८ गते प्लाज्मा दान गरे ।

त्यसलगत्तै भदौ १८ गते कपिलवस्तु जिल्ला अस्पतालमा अस्पतालका मेसु डा. किशोर बन्जाडेसहित अस्पतालका १६ जना पूर्वसंक्रमितले रक्तदान गरे । ‘संक्रमितहरू जीवनमरणको दोसाँधमा छटपटिरहेका बेला हाम्रो रगतले कसैको ज्यान बच्छ भने किन अघि नसर्ने ?’ उनले भने, ‘त्यसैले अस्पतालका सबै पूर्वसंक्रमित स्वास्थ्यकर्मीले रक्तदान गर्‍यौं । अरूलाई पनि रक्तदानका लागि हौसाएका छौंं ।’ बुटवलमा अहिलेसम्म १७ जना संक्रमितमा प्लाज्मा थेरापी गरिएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×