२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हिरासतमा कुटपिटबाट मृत्यु भएको भन्दै प्रदर्शन

पत्रकार पनि आन्दोलित
अर्जुन शाह

धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कोठाभित्र शुक्रबार आत्महत्या गरेको भनिएका धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकको कुटपिटबाट मृत्यु भएको दाबी गर्दै आफन्तले आइतबार पनि धनगढीमा प्रदर्शन गरेका छन् ।

हिरासतमा कुटपिटबाट मृत्यु भएको भन्दै प्रदर्शन

छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेका उनीहरूले धनगढीको चौराहबाट र्‍याली गरेर जिल्ला प्रहरी कार्यालय अगाडि पुगी धर्ना दिएका हुन् ।

विकलाई मोबाइल चोरीको आरोपमा प्रहरीले भदौ २२ मा पक्राउ गरी हिरासतमा राखेको थियो । शुक्रबार बिहान साढे ९ बजे प्रहरीले आत्महत्याका कारण मृत्यु भएको जानकारी दिएको मृतकका बुबा टेकबहादुर विकले बताए ।

घटनाको छानबिन गर्न शुक्रबारै प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई पाँच दिनको म्याद दिइएको छ ।

आफ्नो भाइको निधारमा घाउ रहेको, नाकबाट रगत बगेको र घाँटीमा चोट रहेको मृतकका दाजु रवि विकले बताए । रोशनकी काकी वसन्तीले घटना सुनियोजित रहेको बताइन् । शव नबुझ्दासम्म प्रहरीले दाजु रवि र बुबाबाहेक अरू कसैलाई हेर्न नदिएको आफन्तले बताएका छन् । परिवारले शुक्रबार साँझ पोस्टमार्टमपछि शव बुझेर शनिबार अन्तिम संस्कार गरेका थिए ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले मृतक रोशनसँगै पक्राउ परेका र घटनाका बेला पनि कोठाभित्रै रहेका मृतकका साथी रोहित विकले अघिल्लो दिन प्रहरीले कुटपिट गरेको जानकारी आफूलाई दिएको बताइन् । ‘पाँचौं दिन भइसक्दा पनि आफूलाई हिरासतबाट निकाल्न बुबाले प्रयास नगरेको भन्दै ऊ निराश थियो,’ रोहितको भनाइ उद्धृत गर्दै उपप्रमुख मिश्रले भनिन्, ‘अघिल्लो साँझ जेल जानुभन्दा त मर्छु भन्थ्यो ।’ प्रहरीले भने कुटपिटको आरोपलाई अस्वीकार गरेको छ ।

पत्रकार पनि आन्दोलित

सञ्चारकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका धनगढीका पत्रकारहरु । तस्बिर : अर्जुन शाह

रोशनको मृत्युसम्बन्धी समाचार प्रसारणलाई लिएर दिनेश सञ्चार गृहका पत्रकारमाथि शुक्रबार भएको कुटपिटको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै धनगढीका पत्रकार आन्दोलित भएका छन् । किटानी जाहेरी दिए पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि पत्रकार महासंघको अगुवाइमा पत्रकारहरू आइतबार प्रदर्शनमा उत्रिए ।

प्रकाशित : भाद्र २९, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?