कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहरलाई ३५५ घर

दुधौली नगरपालिकामा ५ सय ९० मुसहरको घर निर्माण गर्ने लक्ष्यका साथ सर्भे भएकामा पहिलो चरणमा ३ सय ५५ घर निर्माण गरिएको हो ।
राजकुमार कार्की

सिन्धुली — छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका मुसहरका लागि एकीकृत नमुना मुसहर बस्ती निर्माण सकिएको छ । दुधौलीका आठवटा वडामा तीन सय ५५ घर निर्माण गरिएको हो ।

मुसहरलाई ३५५ घर

सहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार एकीकृत बस्तीका सबैभन्दा बढी वडा ९ मा १ सय ७३ वटा घर बनाइएको छ । त्यस्तै वडा ११ मा ८६, वडा १० मा ५०, वडा ७ मा ३१, र वडा ४, ५, ६ मा १५/१५ वटा घर निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा रहेको भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले बताए ।

दुई कोठे प्रत्येक घरमा दुई ढोका र दुई झ्याल छन् । रंगीन जस्तापाताको लहरै बनेका घरले मुसहरको नमुना बस्ती यतिखेर उज्यालिएको छ । ती सबै भवन निर्माण दुई वर्षअघिदेखि थालिएका हुन् । भवन निर्माणमा प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयमार्फत ३ लाखका दरले १० करोड ६५ लाख खर्च भएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । शौचालयसहित प्रत्येक घर निर्माणको लागत ६ लाख ३६ हजार रहेकामा स्थानीय सरकार तथा लाभग्राहीबाट ३ लाख ३६ हजार व्यहोर्ने सम्झौता भएको छ ।

दुधौली नगरपालिकामा ५ सय ९० मुसहरको घर निर्माण गर्ने लक्ष्यका साथ सर्भे भएकामा ३ सय ५५ घर पहिलो चरणमा निर्माण गरिएको हो । बजेट प्राप्त हुनासाथ बाँकी घरको निर्माण थालनी गरिने कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।

लाभग्राहीको श्रमदान र स्थानीय सरकारले उपलब्ध गराएका निर्माण सामग्रीबाट भवन बनाइए पनि शौचालय निर्माण सकिएको छैन । सबै घरमा शौचालय अनिवार्य गरिएकामा लाभग्राही आफैंले खर्च गर्न सक्ने अवस्था नभएकाले ढिला हुन पुगेको कार्यालय प्रमुख घिमिरेले जनाए ।

मुसहरहरूको जीवनस्तर उकास्नका लागि प्रदेश सरकारले गरेको लगानीमा आफूहरू पनि समाहित भएर भवन निर्माण सम्पन्न भएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए । ‘छाप्रे जीवनबाट पक्की घरमा ल्याउन सफल भएका छौं, अब मुसहरहरूलाई आयआर्जनको काममा लगाइनेछ,’ उनले भने । छाप्रे घरमा रहँदा सर्पदंशका घटना र रोगको प्रकोप फैलिने गरेकामा अब केही हदसम्म त्यसबाट छुटकारा पाउनेमा आफू आशावादी रहेको नगरप्रमुख राउतको भनाइ छ ।

वडा नं ११ को पत्रिङ्गामा रहेको ४२ घर आउँदो असोज २ गते वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुसहर समुदायलाई हस्तान्तरण गर्ने र बाँकी घरको साँचो नगरप्रमुख राउतमार्फत वितरण गरिने सहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । तीनपाटन गाउँपालिकामा रहेका पाँच सय ९० घरपरिवार मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माणका लागि डिटेल सर्भे नक्सांकन भइसकेको तर बजेट अभावमा सुरु गर्न नसकिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?