कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाले मंसिरभित्र सदस्यता नवीकरणका लागि कार्ययोजना बनाउने

काठमाडौँ — आगामी चैतमा महाधिवेशनको मिति तोकेको नेकपाले मंसिरभित्र सबै सदस्यको नवीकरण टुंग्याउने भएको छ । आइतबार बसेको पार्टी संगठन विभागको बैठकले स्थायी कमिटी बैठकबाट पारित प्रस्तावअनुसारको कार्ययोजना बनाएर सदस्यता नवीकरणको काम टुंगाउने निर्णय लिएको हो । 

नेकपाले मंसिरभित्र सदस्यता नवीकरणका लागि कार्ययोजना बनाउने

शुक्रबार बसेको स्थायी कमिटी बैठकले संगठन विभागको कार्ययोजनामा आगामी कात्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरुले पार्टीको संगठित सदस्ता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने, मङ्सीर महिनाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने तथा प्रवास क्षेत्रमा पनि सोही अनुरुप गर्ने निर्णय लिएको छ । यही निर्णयअनुसार संगठन विभागले कार्ययोजना बनाएर नवीकरणको काम सक्ने निर्णय लिएको संगठन विभाग सदस्य मातृका यादवले बताए ।

तत्कालीन एमालेका पाँच र माओवादीका तीन लाख गरी नेकपाले आफूसँग आठ लाख सदस्य रहेको दावी गर्दै आएको छ । तर, यसअघि नवीकरण गर्ने मिति पटकपटक तय भए पनि एकताको काम नसकिँदा रोकिदै आएको थियो । पछिल्लोपटक कोभिड- १९ का कारण नेकपाका संगठनात्मक काम रोकिएका थिए ।

नेकपाले एकता महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौमा गर्ने निर्णय गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकबाट नै लिइसकेको छ । सोही निर्णयलाई पछिल्लो स्थायी कमिटी बैठकले पनि दोहोर्‍याउँदै तयारीसम्बन्धी थप निर्णय लिएको हो । महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने स्थायी कमिटीको निर्णय छ । बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल ब्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने तथा महाधिवेशनको कार्ययोजना सम्बन्धि प्रस्तावमा छलफल गरी आवश्यक निर्णय गर्ने नेकपाको तयारी छ ।

नेकपाले पार्टी एकताको भावना एवम् मर्मअनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने, महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्बन गर्ने तथा महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धति एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने निर्णय पनि लिएको छ ।

विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्वपूर्ण बिषयका रुपमा ग्रहण गर्ने र तदनुरुप मस्यौदा दस्तावेजहरु तयार गर्ने एवं मस्यौदा दस्तावेज तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत बिषयमा पार्टीव्यापी बहस, छलफल सञ्चालन गर्ने पनि नेकपाको निर्णय छ ।

फरक–फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमिले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरुका बीचमा बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका संगठनात्मक बिषयहरुमा सहमति हुन नसक्ने जस्ता समस्याहरुले एकीकरण प्रकृयामा अनपेक्षित विलम्ब हुनपुगेको भन्दै नेकपाले एक महिनाभित्र एकीकरणका काम सक्ने निर्णय लिएको छ ।

विभाग सदस्य यादवका अनुसार नेकपा प्रदेश २ अन्तर्गतका केही जिल्लामा रहेको विवाद १५ दिनभित्र हल गर्ने जिम्मा संगठन विभाग प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मालाई दिइएको छ । ती जिल्लाहरुमा विवादका कारण झडपसमेत भएको थियो भने केही जिल्ला कमिटीको सपथसमेत हुन सकेको छैन । बैठकले ज्ञानबहादुर भुजेल र हेमराज भण्डारीलाई विभाग सदस्य बनाउने गरी पार्टी सचिवालयमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : भाद्र २८, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?