कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् निर्देशक छेतेन गुरुङ

काठमाडौँ — निर्देशक छेतेन गुरुङको ४२ वर्षको उमेरमा बुधबार निधन भएको छ । कलेजोमा समस्या देखिएपछि उनलाई २ दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान २ बजे निर्देशक गुरुङको निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

रहेनन् निर्देशक छेतेन गुरुङ

'१ महिना अगाडि कलेजोमा समस्या थियो । त्यतिबेला सामान्य नै थियो । तर एक्कासि धुलिखेलबाट आएको १ दिनपछाडि यस्तो समस्या आयो । शरीरभित्र सबै रगत लिक्ड भएछ,' सेनले भने ।

उनको परिवारमा आमा, भाइ र एक छोरी छन् । श्रीमतीको भने मृत्यु भइसकेको छ ।

छेतेनले निर्देशन गरेको 'प्रेमगीत ३'को पोस्ट प्रोडक्सनको काम कोरोनाले गर्दा पछाडि धकेलिएको थियो । फिल्ममा उनकै कथा छ । छेतेनले यसअघि 'नोभेम्बर रेन', 'क्लासिक', 'डायरी'को स्क्रिप्ट लेखेका थिए । फिल्म 'ए मेरो हजुर-३' मा पनि उनले पटकथा लेखेका थिए । उनले निर्देशकीय डेब्यू भने 'डमरुको डन्डिबियो' बाट गरेका थिए । यस फिल्मको मुख्य कलाकार खगेन्द्र लामिछाने छेतेनलाई निकै असल व्यक्तिका रुपमा लिन्छन् । 'एकदम अचम्म लागिरहेको छ । छेतेनको डेब्यू फिल्म नै गरेको हो मैले । मनको हिसाबले छेतेन असल मान्छे थियो,' उनले सुनाए ।

निर्माता सन्तोष सेनसँग त छेतेनले नयाँ फिल्म गर्ने घोषणा नै गरेका थिए, 'हुतुतु' । यसै फिल्मको स्क्रिप्टका लागि सन्तोष, छेतेन, स्क्रिप्टराइटर अभिमन्यू निरबी केही दिन अगाडि धुलिखेल पुगेका थिए । धुलिखेलबाटै सन्तोषले सामाजिक सञ्जाल फेसबुकबाट भिडियो लाइभ गर्दा उनी मुसुक्क मुस्काएरर सबैलाई अभिवादन गरेका थिए । २ वर्षदेखि छेतेनसँग संगत गरिरहेका निर्माता सन्तोष छेतेन सिर्जनशील निर्देशक रहेको बताए । 'उहाँ एकदम दयालु, इमान्दार अनि सकारात्मक स्वभावको हुनुहन्थ्यो । कसैको नराम्रो चिताउनुहुन्नथ्यो । एकदम सिर्जनशील हुनुहुन्थ्यो । उहाँको सोच अन्तराष्ट्रिय तहको छ । उहाँ कोहीबाट प्रभावित नभई आफै सिर्जना गर्नुहुन्थ्यो,' सेनले भावुक हुँदै भने, 'हुतुतुको स्क्रिप्ट लगभग सकिएको थियो । प्रेमगीत-३ को अन्तिम सम्पादन बाँकी थियो । हुतुतुको क्यानभास एकदम ठूलो सोच्नु भएको थियो । अन्तर्राष्ट्रिय तहको कमेडी ड्रामा बनाउनुपर्छ भन्नुहुन्थ्यो । सहकार्य गर्दै अगाडि बढेका थियौं । तर फिल्मको फस्ट ड्राफ्ट तयार भएपछि उहाँले बीचमै छोड्नुभयो ।'

आफूले छेतेनसँग निकै योजनाहरु बनाएको बताउँछन् सन्तोष । सन्तोषलाई छेतेनले नै निर्देशनमा डोर्याएका हुन् । सन्तोष पाँच वर्षपछि मात्रै निर्देशनमा आउने सोचिरहेका थिए । तर छेतेनकै प्रेरणाले आफूले 'प्रेमगीत-३' देखि नै निर्देशन थालेको उनी सुनाउँछन् । उनका अनुसार 'प्रेमगीत-३' छेतेनको 'ड्रिम प्रोजेक्ट' थियो । 'मेरो एउटा 'ड्रिम प्रोजेक्ट' छ 'छिरिङ डोल्मा' भन्ने त्यो ७ वर्षपछि बनाउँछु भन्नु भएको थियो । तर मैले उहाँलाई त्यसमै फिल्म बनाउँ भनें अनि 'छिरिङ डोल्मा'को नाम परिवर्तन गरेर 'प्रेमगीत-३' बनायौं,' सन्तोष सुनाउँछन्,' इपिक लभ ड्रामा भनेर कल्पना गर्नुभएको थियो । त्यो सपना पूरा भयो, म त्यसमा सहभागी हुन पाएँ खुशी लागेको छ । ऐतिहासिक फिल्म बनेको छ । उहाँको गाउँको कथा हो यो । अफसोच उहाँले फिल्म हेर्न पाउनु भएन । मलाई दु:खको कुरा त्यही लागेको छ ।'

छेतेन नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लाने सोच्थे । उनले यसबीच निर्देशक सबिर श्रेष्ठ र सम्पादक बनिष शाहलाई फिल्मको स्क्रिप्ट पनि दिइसकेको सन्तोष सुनाउँछन् । फिल्म सम्पादक बनिष शाह छेतेन व्यवहारिक रहेको बताउँछन् । 'निर्देशकभन्दा पनि व्यक्तिगत हिसाबले कसैको नराम्रो नसोच्ने । स्क्रिप्ट पनि राम्रो लेख्थ्यो । निर्देशकमा पनि उतिकै राम्रो । एकदमै व्यवहारिक मान्छे,' उनले भने ।

प्रकाशित : भाद्र २४, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?