कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईडीसीडीले सातै प्रदेशमा र एनएचआरसीले उपत्यकाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमणबारे अध्ययन गर्ने

ईडीसीडीले ईएलआईएसए र एनएचआरसीले सीएलआईए विधिबाट नमुना परीक्षण गर्ने
ईएलआईएसए किट सहयोग गर्न विभिन्न देशलाई आग्रह
स्वरूप आचार्य

काठमाडौँ — ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले छुट्टाछुट्टै रुपमा समुदायमा कोरोनाभाइरस संक्रमणको अवस्था बारे जान्नका लागि ‘सेरोप्रिभेलेन्स’ अध्ययन गर्ने भएको छ । दुवै अध्ययनका लागि एनएचआरसीको इथिकल कमिटीमा प्राप्त प्रस्ताव आइतबार अनुमोदन भएपछि अध्ययन अगाडि बढ्ने निश्चित भएको हो ।

ईडीसीडीले सातै प्रदेशमा र एनएचआरसीले उपत्यकाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमणबारे अध्ययन गर्ने

ईडीसीडीले पहिलो चरणमा सातै प्रदेशमा गरी ४ सय ५० जनाको दरले कुल ३१ सय ५० जनाको एन्टिबडी परीक्षण गर्ने छ । सेरोप्रिभेलेन्स टेस्टका लागि सातै प्रदेशमा विभिन्न मापदण्डका आधारमा निर्धारण गरिएको स्थानबाट निश्चित व्यक्तिहरुका रगतको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिने छ । ईडीसीडीका महानिर्देशक डा. वासुदेव पाण्डेले पनि सो कुरा पुष्टि गर्दै भने, ‘हामीले सेरोप्रिभेलेन्स अध्ययन गरेर क्यूमिलेटिभ इन्फेक्सन हेर्न खोजेका हौं । सबै काम द्रूत गतिमा अगाडि बढिरहेको छ ।’

यस्तै एनएचआरसीले भने काठमाडौं उपत्यकाभित्र १ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेका अस्पतालका चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीका साथै तिनका परिवारको समेत एन्टिबडी परीक्षण गर्ने छ । एनएचआरसीले बनाएको मापदण्डअनुसार ७ सय ८४ जना स्वास्थ्यकर्मी तथा स्नोबल स्याम्पलिङका आधारमा ७ सय ८५ जना स्वास्थकर्मीका परिवारका सदस्यहरुको परीक्षण हुने छ ।

एनएचआरसीले संकलन गरेको नमुना भने कुनै एक सरकारी अस्पतालमा परीक्षण गरिने बताइएको छ । ‘ईडीसीडीले समुदायको परीक्षण गर्ने भएपछि हामीले स्वास्थ्यकर्मी र तिनका परिवारहरुमा मात्रै केन्द्रित भएर सेरोप्रिभेलेन्स अध्ययन गर्न लागेका हौं,’ एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्य–सचिव डा. प्रदिप ज्ञवालीले भने, ‘आइतबार मात्रै दुवै अध्ययनका लागि इथिकल कमिटीले प्रस्तावहरुलाई अनुमोदन गर्‍यो । अब अध्ययन कार्य अगाडि बढाउँछौं ।’

उनका अनुसार चैत ११ पछि काठमाडौं उपत्यका छोडेर बाहिर नगएका स्वास्थ्यकर्मी र तिनका परिवारलाई मात्रै यो अध्ययनमा सामेल गराइने छ । चार चरणमा हुने यस अध्ययनको पहिलो चरणमा स्वास्थ्यकर्मीहरको नमुना संकलन गरिने छ भने त्यसको एक हप्तापछि मात्रै परिवारका सदस्यहरुको नमुना संकलन गरिने छ । यस्तै स्वास्थ्यकर्मीहरुको पुनः ३ साता र ६ सातामा फेरि नमुना संकलन गरेर अध्ययनलाई मूर्तरुप दिइने छ ।

ईडीसीडीले सेरोप्रिभेलेन्स अध्ययनका लागि एन्टिबडी परीक्षण गर्न ईएलआईएसए (इन्जाइम लिंक्ड इम्यूनोअब्जर्बेन्ट एस्से) विधि प्रयोग गर्ने भएको छ भने एनएचआरसीले अध्ययनका लागि सीएलआईए (केमिल्युमिनिसेन्ट इम्यूनोएस्से) विधि प्रयोग गर्ने छ ।

ईडीसीडीस्थित उच्च स्रोतका अनुसार ईएलआईएसए विधिबाट परीक्षण गर्नका लागि आवश्यक पर्ने रिएजेन्ट सहयोगस्वरूप प्राप्त गर्नका लागि विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले विभिन्न मित्रराष्ट्र देशहरुसँग छलफल गरिरहेको छ । यस्तै अध्ययनका लागि नमुना संकलन गर्नका लागि संकलकहरु खटाउन विश्व स्वास्थ्य संगठनले मंगलबार एक संस्था छनोट गर्दैछ । त्यसपछि सो संस्थाले फिल्डमा खटाउने कर्मचारीहरुलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा ईडीसीडीले तालिम दिएपछि नमुना संकलनको काम सुरु हुने छ ।

‘सबै काम सकेर असोज १ गतेको हाराहारी नमुना संकलन गर्न फिल्डमा सबैजना खटिन्छन् भन्ने हाम्रो अनुमान छ,’ स्रोतले भन्यो, ‘नमुना संकलनको कार्य भइरहँदासम्ममा रिएजेन्ट पनि आइपुग्छ भन्ने हाम्रो सोच हो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार ईडीसीडीले गर्ने सेरोप्रिभेलेन्स टेस्टका लागि गरिने परीक्षणमा प्रयोगशालाको तर्फबाट ईएलआईएस गर्ने मेसिन र जनशक्ति मात्रै प्रदान गर्न लागिएको हो । ‘ईडीसीडीले ल्याएर दिएको नमुना हामीले परीक्षण गरिदिने हो । अहिलेसम्म ईएलआईएसए विधिबाट परीक्षण गर्ने तय भएको छ,’ उनले भनिन्, ‘उक्त परीक्षणमा प्रयोग हुने रिएजेन्ट पनि उहाँहरुले नै दिनुहुन्छ । त्यो भन्दा बढी मलाई पनि केही थाह छैन ।’

एनएचआरसीले गर्ने अध्ययनका लागि आवश्यक पर्ने सीएलआईएको रिएजेन्ट कुन प्रयोग गर्ने भन्ने मापदण्ड बनाइएको र सोही अनुसार खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सदस्य सचिव डा. प्रदिप ज्ञवालीले जानकारी दिए । ‘हामीले कस्तो खालको रिएजेन्ट प्रयोग गर्ने भनेर पनि मापदण्ड तय गरेका छौं । सोही अनुसारको समाग्री लिएर प्रयोग गर्छौं,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने नयाँ प्रविधि तथा परीक्षणहरु लगायतको नेपालमा प्रयोग गर्ने सम्बन्धी सुझाव दिनका लागि गठन गरेको ‘एच–टेक कमिटी’का सदस्यका अनुसार सो कमिटीले ईएलआईएसए वा सीएलआईए (केमिल्युमिनिसेन्ट इम्यूनोएस्से) मध्ये जुन गरे पनि हुने भनेर सुझाव दिएको थियो । ती सदस्यका अनुसार ईएलआईएसएभन्दा सीएलआईए नयाँ प्रविधि हो । परीक्षणको हिसाबमा पनि सीएलआईएको प्रभावकारिता ईएलआईएसएभन्दा केही बढी देखिएको छ । ‘हाम्रो कमिटीको काम सुझाव दिने मात्रै हो । हामीले निर्देशन दिन मिल्दैन,’ उनले भने, ‘यो प्रविधि राम्रो छ भनेर सुझाव दिनुको अर्थ बुझ्नेले आफैं बुझ्नुपर्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार भने सेरोप्रिभेलेन्स परीक्षणका लागि धेरै समय खेर गइसकेको छ । त्यसैले हाल नेपालमा ईएलआईएसए र सीएलआईएमध्ये जुनको गुणस्तरीय रिएजेन्ट सजिलैसँग प्राप्त हुन्छ त्यही प्रयोग गरेर परीक्षण गरिहाल्नु उचित हुन्छ । ‘जहिले अन्तिम समयमा आएर कहाँबाट कसले दिन्छ भनेर कुरेर बस्नु हुन्न,’ उनले भने, ‘समय घर्किएपछि गरेर केही अर्थ हुँदैन । त्यसैले अन्यत्र देशसँग हात फैलाउनुभन्दा देश भित्र के उपलब्ध छ त्यो पनि खोजखबर गरे राम्रो हुन्छ ।’

बेलायतबाट प्रकाशित हुने विश्व प्रसिद्ध ब्रिटिस मेडिकल जर्नलमा एन्टीबडी परीक्षणका लागि प्रयोग हुने विभिन्न विधिको प्रभावकारिता बारे प्रकाशित विभिन्न ४० वैज्ञानिक लेखहरुको समीक्षा तथा सुक्ष्म विश्लेषण अनुसार भने एन्टिबडी परीक्षणका लागि सबैभन्दा बढी उपयुक्त सीएलआईए देखिएको दाबी गरिएको छ । त्यसपछि ईएलआईएसए र अन्तिममा एलएफआईए (ल्याटरल फ्लो इम्यूनोएस्से) देखिएको उल्लेख छ । पहिला विवादमा तानिएको आरडीटी किटमा एलएफआईए विधिबाट नै परीक्षण हुने गर्छ ।

ईडीसीडीले गर्न लागेको सेरोप्रिभेलेन्स टेस्टमा समुदायमा गएर संकलन गरिएको रगतको नमुनामा इम्यूनोग्लोब्यूलिन जी (आईजीजी) छ या छैन भनेर हेरिने छ । स्रोतका अनुसार सकेसम्म आईजीजीको क्वान्टिटेटिभ परीक्षण गर्ने तय गरिएको छ । ‘आईजीजी छ या छैन भनेर मात्रै होइन कति छ भनेर पनि हेर्ने भन्ने छ,’ ईडीसीडी स्रोतले भन्यो, ‘तर, त्यसका लागि किट पनि त्यही अनुसारको चाहिन्छ । अहिलेसम्म कहाँबाट कुन किट आउने भन्ने तय भएको छैन ।’

एन्टिबडी परीक्षणमा रगतमा कुनै पनि संक्रमण विरुद्ध रोग प्रतिरोधी प्रोटिन छ या छैन भनेर हेर्ने गरिन्छ । यही प्रोटिनलाई एन्टिबडी भनिन्छ जुन दुई प्रकारको हुन्छ, ‘इम्यूनोग्लोब्यूलिन–एम’ (आईजीएम) र ‘इम्यूनोग्लोब्यूलिन–जी’ (आईजीजी) । आईजीएम भनेको शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । अनि संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी उत्पादन गर्न थाल्छ । सामान्य रुपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भयो भन्ने बुझिन्छ ।

प्रकाशित : भाद्र २२, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?