कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामदारलाई रोजगारी गुम्‍ने चिन्ता

भवानी भट्ट

महेन्द्रनगर — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ खैरीघाटका राजेन्द्र टमटा कामको खोजीमा भारत जान दुईपटक गड्डाचौकी नाका पुगे । पहिलो दिन शनिबार दिउँसो निर्धारित समयभन्दा ढिलो पुगेको भन्दै फर्काइएका उनलाई आइतबार रोजगारदाता कम्पनीको पत्र नभएको भन्दै जान दिइएन ।

कामदारलाई रोजगारी गुम्‍ने चिन्ता

‘कहिले यो भएन भन्छन्, कहिले त्यो भएन,’ टमटाले भने, ‘यसो गर्दागर्दै ऋण लिएर ल्याएको पैसा पनि सकिन लाग्यो ।’

उनी दिल्लीको कागज कम्पनीमा काम गर्थे । चैत पहिलो साता घर आएका उनी लकडाउन भएपछि यतै रोकिए । ‘उता कम्पनीबाट दिनहुँ फोन आइरहेको छ,’ उनले सुनाए, ‘काममा आउने कि अर्को मान्छे राखौं भनेर दबाब दिइरहेको छ । ८/९ वर्षदेखिको बोनस पनि डुब्ने डर भयो ।’ उनी १५ वर्षकै उमेरमा कामको खोजीमा दिल्ली गएका हुन् । सुरुदेखि नै कम्पनीमा काम गरिरहेका थिए । कम्पनीमा स्थायी भएको र पारिश्रमिक पनि राम्रो भएकाले यतिबेला जसरी हुन्छ, उनलाई दिल्ली पुग्ने हुटहुटी छ ।

बेलडाँडीकै गणेश विक टमटासँगै काम गर्छन् । उनी पनि नाकासम्म दुई दिन धाए । तर छिर्न पाएनन् । ‘कहिले ढिलो भयो भन्छन्, कहिले कागजात भएन भन्छन्,’ विकले भने, ‘उता साहुले नयाँ मान्छे राख्ने भन्दै धम्क्याइरहेको छ ।’ चैत पहिलो साता आएका उनी ६ वर्षदेखि दिल्लीमा काम गरिरहेका छन् । ‘गाउँमा कमाइ केही छैन, रासन किन्न पनि ऋण निकाल्नुपर्ने भयो,’ उनले भने, ‘यस्तै अवस्था रहे हामीले भोकै बस्नुपर्छ ।’

उनीहरूजस्तै बेलडाँडीका चार युवा कम्पनीले बोलाएपछि भारत जान लागेका हुन् । तर नाकामा सुरक्षाकर्मीले जान नदिएपछि निराश भई फर्किएका छन् । उनीहरूजस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा पुगेर दिनहुँ ८/१० जना फर्किने गरेका छन् । कैलालीको गौरीफन्टा नाकाबाट दिनहुँ ठूलो संख्यामा नेपालीहरू कामको खोजीमा भारत गइरहेका छन् । उनीहरूलाई भारतको रासन कार्ड वा रोजगारदाता कम्पनीको पत्रका आधारमा जान दिइएको छ । उक्त नाकाबाट बिहान १० देखि ५ बजेसम्म मात्र जान पाइन्छ । तर कञ्चनपुरको गड्डाचौकी नाकामा भने फरक नियम लागू गरिएको छ । बिहान ६ देखि १० बजेसम्म मात्रै आउजाउ गर्न दिइएको छ ।

यहाँबाट भारत जाने कामदारलाई रोजगारादाता कम्पनीको पत्र अनिवार्य गरिएको छ । ‘आधार कार्ड भएकालाई सहजै जान दिइएको छ,’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत कल्पना भट्टले भनिन्, ‘काम गर्न जानेको हकमा रोजगारदाता कम्पनीको पत्रसँगै वडा र जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरिएको छ ।’

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २२, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?