कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेखर्ची भएपछि गाउँ खाली गरेर बाहिरिँदै

विकल्प नभएपछि रोजगारीको खोजीमा भारततिर, जनप्रतिनिधि भन्छन्– ‘तत्काल रोजगारको कुनै कार्यक्रम छैन’
प्रदेश ब्युरो

बुटवल — भारतको मुम्बईस्थित भिमिन्डीमा मजदुरी गर्ने कपिलवस्तुको महाराजगन्ज–७ कुशहवाका धर्मराज कोहार गत वैशाखमा घर फर्किए । आउँदा ७ हजार भारतीय रुपैयाँ उनको साथमा थियो । मुटुरोगी श्रीमतीको उपचार गर्दा उक्त रकम सकिएको छ । अहिले उनको भान्सामा भरे खाने अन्न जुटाउन गाह्रो छ ।

बेखर्ची भएपछि गाउँ खाली गरेर बाहिरिँदै

लकडाउन खुलेपछि बजारमा मजदुरी गरौंला भन्ने उनको सोच थियो । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । ज्यालादारीका काम नपाएपछि छिमेकीसित ४ हजार रुपैयाँ सापटी खोजेर केही दिन टारे । ‘भोकै बस्नुभन्दा भारत जानु बेस,’ उनले भने, ‘कमाइ नभए ६ जनाको परिवार कसरी पाल्नू ?’ सीमा अझै सिल छ । त्यसैले लुकेर कोटिया नाका पार गरेको उनले सुनाए । तीन हजार भारु थप ऋण खोजेर उनी मुम्बई फर्किन लागेका छन् । पाँच वर्षदेखि मुम्बईमा कुल्लीको काम गर्दै परिवारको गर्जो टार्दै आएको उनले बताए ।

कृष्णनगर नगरपालिका–७ अजिगराका बुधई मुराउ खर्च टार्न नसकेपछि कोरोना कहरमै भारत फर्किन बाध्य भए । आफन्तका अनुसार उनी घर नजिकैको भिल्मी नाका हुँदै भारत पसेका हुन् । त्यहाँबाट बढनी हुँदै सरकारी बसमा दिल्ली पुगिसकेका छन् । दिल्लीमै गल्लाको काम गरेर ७ जनाको परिवार पाल्दै आएका उनी लकडाउन सुरु भएपछि स्वदेश फर्किएका थिए । यहाँ लकडाउन र निषेधाज्ञाले काम पाएनन् । परिवारलाई खानपिनकै समस्या भएपछि बाहिरिएको आफन्तले बताए । महाराजगन्ज–७ कुशहवाका सुकई तेलीले पनि खर्च सकिएपछि भारतको मुम्बईस्थित भिमिन्डी फर्किने तयारी गरेका छन् । ‘यहाँ बसेर एक छाक खान धौ भो,’ उनले भने, ‘फर्किने निर्णय लिनुअघि स्थानीय बजारमा काम खोजें । जनप्रतिनिधिलाई पीडा सुनाएँ तर भएन ।’

सीमावर्ती स्थानीय तहका सर्वसाधारण भारतीय सहरमा रोजगारीमा छन् । सीमा क्षेत्रको महाराजगन्ज र कृष्णनगर नगरपालिकाका एक हजारभन्दा बढी मुम्बई र दिल्लीमा मजदुरी गर्न फर्किइसकेका छन् । दुई सातायता लुकेर सीमा पार गर्ने क्रम बढेको छ । सीमावर्ती भारतीय बजारबाट कानपुर, दिल्ली र लखनउसम्म सिधा बस सेवा सञ्चालनमा छ । त्यहींबाट लुधियाना, पन्जाब र चण्डीगढका लागि निजी बस पाइन्छन् । कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाह भारतबाट फर्किएकालाई तत्काल रोजगार दिने कुनै कार्यक्रम नभएको बताउँछन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड २२ लाख आएको छ,’ उनले भने, ‘त्यसको लामो प्रक्रिया हुन्छ । यता लकडाउन छ । औपचारिक कार्यक्रम पनि गर्न मिल्दैन ।’ उक्त कार्यक्रमबाट १ सय दिन र ५ सय १७ जनाभन्दा बढीलाई काम दिन नसकिने उनले बताए ।

हाल आवतजावतमा रोक लगाइएको छ । नेपालबाट भारतीयबाहेक कसैलाई पनि जान नदिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक प्रताप पौडेलले बताए । ‘हामीलाई नेपाली नपठाउनु भनेका छन्,’ उनले भने, ‘त्यसपछि पूरै रोक लगाएका छौं ।’

बर्दियाका सीमावर्ती गाउँका धेरै जना रोजगारीका लागि भारत फर्किन बाध्य छन् । दुई सातायता गुलरिया–९ र १० का ६ सय युवा बाहिरिएका छन् । गुलरिया–९ झगरुपुरकी सुमित्रा मल्लाहका दुई छोरा रोजगारीका लागि भारत गएका छन् । उनका छिमेकी श्यामगिरा मल्लाहका छोराले भारतको गाजियावाद पुगेर काम सुरु गरिसके । ‘यहाँ कसलाई दुःख सुनाउने,’ सुमित्राले भनिन्, ‘भोकभन्दा रोग ठूलो होइन ।’ पीडा सुन्ने कोही नभएपछि छोरालाई भारतमा काम गर्न पठाएको उनले बताइन् ।

दुई गाउँमा अहिले बूढाबूढी र केटाकेटीबाहेक देखिँदैनन् । ६३ घर रहेको महजिदिया गाउँका ४० घरका करिब ५० जना पलायन भइसकेको स्थानीय दीपु चौधरीले बताए । यहाँ विकल्प नभएपछि फर्किन थालेको उनको भनाइ छ । रोजगारी नपाएपछि गाउँ रित्तिन थालेको गुलरिया–१० का वडाध्यक्ष वीरेन्द्र चौधरीले बताए । ‘मेरो वडाबाट ४ सयभन्दा बढी युवा भारत गइसकेका छन्,’ उनले भने, ‘कोरोनाका कारण काम नपाएपछि पलायन भएका हुन् ।’ सीमावर्ती क्षेत्रका अधिकांश युवा भारतबाट तरकारी, दैनिक उपभोग्यका सामान ल्याएर बजारमा बेचबिखन गर्थे । लकडाउनपछि सीमा सिल भएकाले उक्त रोजगारी पनि गुमेको छ ।

गोडियनपुरुवा, थपुवा, कालाबन्जरलगायत गाउँबाट करिब दुई सय युवा भारत गएका छन् । स्थानीय सुभास मल्लाहले चाडपर्व आउन थालेकाले नयाँ लुगाफाटा र मीठा परिकारको जोहो गर्न रकम नभएपछि बाध्यतावश जानुपरेको बताए । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले स्थानीय तहमा रोजगारीका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र सीपमूलक तालिमका लागि बजेट रहेकाले वातावरण सहज भएपछि सुरु गर्ने बताए ।

मुलुकमै रोजगारीको अवसर नपाएपछि र गरिबीको कारणले रूपन्देहीको सीमावर्ती स्थानीय तहबाट सर्वसाधारण कामको खोजीमा भारततर्फ जाने क्रम बढ्न थालेको छ । भारतमा लकलडाउन भएपछि गत जेठमा स्वदेश फर्किएका उनीहरू महामारीका बेला जोखिम मोलेरै फर्किन थालेका छन् । ‘मेरो गाउँपालिकाबाट करिब ४ सय जना रोजगारीका लागि भारततर्फ गइसकेका छन्,’ मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले भने । बेलहिया नाकास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले रोजगारीका लागि भारत जान खोजेका नेपालीलाई सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले आधार कार्ड र पहिला काम गरेको स्थानको परिचयपत्रका आधारमा मात्र जान दिने गरेको बताए । उनका अनुसार अहिले भारततर्फ लाग्ने नेपालीको संख्या दैनिक १५/२० जनाको हाराहारीमा छ ।

स्थानीय सरकारको बेवास्ता

स्वदेश फर्किंदा अधिकांश युवाको घरमै बसेर इलम गर्ने सोच थियो । स्थानीय तहले पनि गाउँमै रोजगारी सिर्जना गर्ने आश्वासन दिएका थिए । लकडाउन भएको पाँच महिना बितिसक्दा पनि गाउँमा रोजगारीका कुनै अवसर आएका छैनन् । भारतबाट फर्केका सबैजसो बेरोजगार छन् ।

पाँच महिनाअघि भारतबाट फर्केका दाङको बंगलाचुली–५ का ऋषिराम विश्वकर्मा अहिलेसम्म खाली बसेका छन् । ‘गाउँमा काम पाइएको छैन । भएको खाने, सक्ने र काल पर्खने भएको छ,’ उनले भने, ‘महामारी भइरहेकाले भारत जान पनि सकिएको छैन । कता जाऔं, के गरौं भन्ने भएको छ ।’ उनले कामका लागि जनप्रतिनिधिलाई गुहारे । पहल गर्दै छौं भन्नेबाहेक केही उपलब्धि हात पारेनन् । दुई दशक भारतमा बिताएका विश्वकर्मा अब गाउँमै खेतीपाती गर्ने, कुखुरा, बाख्रा पाल्नेजस्ता पुरानो पुस्ताले गरेका कामलाई निरन्तरता दिने कि भन्ने निष्कर्षमा पुगेका छन् । १२ वर्ष भारतमा मजदुरी गरेर फर्केका घोराही उपमहानगरपालिका–१ तेर्छेगाउँका टेकन भण्डारीले ५ बिघा जमिनमा बेसार, अदुवा, पिँडालु र कागती खेती सुरु गरेका छन् । ‘कृषि पेसा नै भरपर्दो लाग्यो । अनि, जग्गा भाडामा लिएर बाँझो जमिन खोजेर खेती गर्न थालेको छु,’ उनले भने । भारतबाट फर्केका घोराही–१८ का कृष्ण वली पनि फेरि भारत फर्कन सकेका छैनन् । उनी यतै होटल व्यवसाय गर्ने सोचमा छन् ।

गाउँमा कमाइ थोरै हुने र भनेका बेला काम नपाइने भएपछि फेरि भारततर्फ जानेहरूको संख्या बढ्दै गएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘भन्नेबित्तिकै काम दिन पनि सकिएको छैन । वर्षा र कोरोनाले गर्दा विकासका काम कम भएका छन्,’ उनले भने, ‘गाउँमा कामै पाए पनि भारतमा जस्तो बढी कमाइ हुँदैन । यसले गर्दा युवा गाउँमा अडिन सकेनन् ।’ उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक वडामा ४ सय जनाले फाराम भरेका छन् । सबैलाई काम दिन सक्ने अवस्था छैन ।

लकडाउनकै कारण भारतबाट फर्केकालाई तत्कालै काम दिन नसकिएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । ‘रोजगारी कसरी दिने भन्ने योजना बनाइरहेका छौं । लकडाउनका कारण कामै हुन पाएका छैनन्,’ उनले भने, ‘भारतबाट आउने क्रम अहिले पनि जारी छ । विभिन्न सीपमूलक तालिम दिने, व्यवसायमा अनुदान दिने, दैनिक ज्यालादारी काम दिनेजस्ता योजना बनाएका छौं ।’

चाडबाडमा उल्टो दृश्य

गत वर्षसम्म चाडपर्वका बेला नेपालगन्जको जमुनाह नाकामा भारतबाट फर्किनेको धुइरो लाग्थ्यो । यात्रु बोक्न रिक्सादेखि टाँगाको हानाथाप हुन्थ्यो । पाहुना राख्न होटलबीच तँछाडमछाड चल्थ्यो । यसपालि नाकामा उल्टो दृश्य देखिन्छ । रोजगारीका लागि भारत गएकाहरू कोरोना महामारीका कारण गत वैशाख/जेठमा स्वदेश फर्किए । यहाँ खर्चको जोहो नभएपछि अहिले उनीहरू भारत फर्किरहेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका ३१ वर्षीय हुमबहादुर जैसीले भारतमा काम गर्न थालेको १५ वर्ष भयो । तर, आधार कार्ड बनाएका थिएनन् । त्यही कार्ड नहुँदा उनले अहिले नाका पार गर्न पाएका छैनन् । दिल्लीको एक होटलमा काम गर्दै आएका उनी कोरोनाको महामारीले होटल बन्द भएपछि घर फर्किएका थिए । अहिले होटल साहुले काममा फिर्ता बोलाएपछि उनी भारत जान जमुनाहा नाकासम्म आएका हुन् । आइतबार बिहान निराश मुद्रामा नाकामा भेटिएका जैसी भारत जान नपाइने हो कि भन्ने चिन्तामा थिए । ‘आफ्नो समस्या पनि हेर्नुपर्‍यो, दसैंको मुखमा घर छोड्ने रहर कहाँ थियो र ?’ उनले भने, ‘भोकको सवाल छ । बाध्यताले नै भारत जाँदै छौं ।’ उनीसँगै ९ जनाको समूह दिल्ली जान शनिबार नेपालगन्ज आएको थियो ।

अहिले भारतबाट फर्किनेभन्दा जमुनाहा नाका भएर भारत जानेको संख्या बढेको नाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । ‘गत वर्ष यतिबेला स्वदेश फर्किनेको भीड थामिनसक्नु हुन्थ्यो,’ उनले भने, ‘अहिले काम खोज्न भारत फर्किनेको भीड छ ।’

-मनोज पौडेल (कपिलवस्तु), दुर्गालाल केसी (दाङ), कमल पन्थी (बर्दिया), माधव ढुंगाना (भैरहवा) र रूपा गहतराज (नेपालगन्ज)

प्रकाशित : भाद्र २२, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?