कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवाद्वारा मनोनयन जारी

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको आचारसंहिता र विधानविपरीत गठन गरिएका केन्द्रीय विभागहरू खारेज गर्न माग गरिरहेका बेला सभापति शेरबहादुर देउवाले दुई दिनमा थप ९६ जनालाई मनोनयन गरेका छन् ।

देउवाद्वारा मनोनयन जारी

सभापति देउवाले एनपी सावद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरेका हुन् ।

अहिलेसम्म २० वटा विभागमा करिब ९ सय स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुक मनोनयन भएका छन् । पद बाँडेर महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै पौडेल पक्षले निरन्तर विरोध गर्दै आएको छ । उसले पार्टीको महाधिवेशनको कार्यतालिका घोषणा भइसकेपछि विधानको प्रावधानसमेत ख्याल नगरी गठन भएका विभागहरूको मनोनयन खारेज गर्नुपर्ने माग गर्दै त्यसो नगरे धर्ना र अनशनका कार्यक्रम गर्ने चेतावनी दिँदै आएको छ ।

पार्टी विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागसहित पार्टीका समितिहरू गठन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । देउवाले चार वर्षको कार्यकाल सकिएर महाधिवेशनको मिति घोषणा गरिसकेपछि विभाग गठन गरेका हुन् । अघिल्लो विधानमा त दुई महिनाभित्रै गठन गरिसक्नुपर्ने व्यवस्था थियो ।

देउवाले भने पौडेल पक्षको विरोधको बाबजुद थप विभागसमेत गठन गर्ने तयारीमा छन् । देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार उनी विजयकुमार गच्छदारको समूहलाई दिने ३ सहित करिब ९ वटा विभाग गठनको तयारीमा जुटेका हुन् । ‘पौडेल पक्षका लागि ४० प्रतिशत संख्यामा विभाग खाली छाडेर अरू गठन गर्ने तयारीमा सभापतिजी हुनुहुन्छ,’ ती सदस्यले भने, ‘गच्छदार समूहलाई दिने भनिएका तीन वटा विभाग अब चाँडै गठन हुनेछन् ।’ विभागका सदस्यमा समेत ४० प्रतिशत खाली छाड्ने मापदण्ड बनाइएको थियो । विधानअनुसार एउटा विभागमा ५० जना मनोनयन गर्न पाइन्छ । तर पछिल्ला दुई विभागमा ४० प्रतिशतभन्दा बढी मनोनयन गरिएको छ । ‘पौडेल पक्षबाट सहभागिता नै नहुने निश्चित भएपछि कति कुर्ने भनेर पूर्णता दिन लागिएको हो,’ शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख सावदले भने ।

कार्यकर्ताको ठूलो पंक्तिलाई जोड्नकै लागि देउवाले पार्टी विधानमा व्यवस्था भएको २८ वटा विभागलाई केन्द्रीय कार्यसमितिको बहुमतबाट बढाएर ४७ वटा पुर्‍याएका थिए । ४० प्रतिशतले हुन आउने १८ जति विभाग खाली राखेर अन्य गठन गर्ने तयारीमा उनी जुटेका छन् ।

देउवाले शुभेच्छुक संस्था समन्वय विभागको उप्रमुखमा लमजुङका विष्णु धिताल, सचिवमा दोलखाकी विनिता अधिकारीलाई मनोनयन गरेका छन् । सूचना, सञ्चार तथा प्रचार विभागको उपप्रमुखमा पत्रकार सुरेश आचार्य र सचिवमा दिनेश थापालाई मनोनयन गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०७७ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?