कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने

काठमाडौँ — बिहीबार बिहानका लागि तय भएको सत्तारुढ नेकपाको सचिवालय बैठक सरेको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो ।

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि बिहीबारका लागि सारिएको थियो । बिहीबारको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

त्यस्तै बिहीबारको बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ ।

बिहीबार बस्ने सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद्बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ । तर बुधबार साँझको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडाको पक्षमा अडान राखेको र दाहालले पार्टी सचिवालयको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने भनाइ दोहोर्‍याएको उनीहरूनिकट स्रोतले जानकारी दियो ।

प्रकाशित : भाद्र १८, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?