कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभामा गौतम कि खतिवडा ?, जुटेन ओली र दाहालबीच सहमति

राष्ट्रिय सभाको मनोनीत सदस्य बन्ने इच्छा देखाएका गौतमलाई फकाउन बालुवाटारबाट बोलावट
बबिता शर्मा

काठमाडौँ — सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभाको रिक्त एक सिटमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने कि अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने भन्ने टुंगो लगाउन बुधबार सत्तारुढ दलभित्र भएका कोसिस असफल भएका छन् । 

राष्ट्रिय सभामा गौतम कि खतिवडा ?, जुटेन ओली र दाहालबीच सहमति

राष्ट्रिय सभामा पठाउने सदस्यको नामलाई लिएर नेकपाका शीर्ष नेताबीच बुधबार गृहकार्य भए पनि सहमति भने जुटेको छैन । बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सचिवालय बैठक र राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउने भन्नेमा केन्द्रित रहेर छलफल भएको थियो । एक नेताका अनुसार छलफलमा ओलीले खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडान दोहोर्‍याएका थिए । तर, अर्का अध्यक्ष दाहालले गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालय बैठकको पूर्ववत निर्णय लागू हुनुपर्ने बताएका थिए ।

यसअघि भदौ १२ मा भएको भेटमा प्रधानमन्त्री ओलीले खतिवडालाई निरन्तरता दिने विषयमा अध्यक्ष दाहालसँग कुराकानी गरेका थिए ।

नेकपा सचिवालयको बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । त्यसअगाडि उपाध्यक्ष गौतम वा अर्थमन्त्री खतिवडा कसलाई राष्ट्रिय सभा सदस्यमा पठाउने भन्नेमा नेकपाभित्र मतभेद सुरु भएको छ ।

सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुनमा शपथ लिएका थिए ।

संघीय संसद् सदस्य नरहेका अर्थमन्त्री खतिवडाको म्याद भदौ २१ गते सकिँदै छ । उनलाई नै मन्त्रीमा निरन्तरता दिने हो भने सरकारले २० गतेअघि नै राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेर राष्ट्रपतिले मनोनित गरिसक्नुपर्ने हुन्छ । त्यसैले यस विषयमा सरकारले तत्काल निर्णय लिनुपर्ने बाध्यता छ ।

प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तवार्तामा गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयको 'च्याप्टर क्लोज' भएको बताएको दुई दिनपछि गौतम आफैंले पार्टी निर्णय कार्यान्वय गर्न माग गरेर ओलीमाथि दबाब बनाएका छन् ।

गौतमले फागुन १४ को निर्णय कार्यान्वयन हुनुपर्ने अडान राखेका हुन् । गौतमलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलको साथ छ ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने पक्षमा उभिने सहमति यी नेताहरूबीच भइसकेको बताइएको छ । अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने खतिवडालाई निरन्तरता दिने पक्षमा छन् ।

बिहीबारको बैठक कार्यदल प्रतिवेदनबाट सुरु हुने

दुई अध्यक्षबीच बिहीबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या समाधान कार्यदलको प्रतिवेदनबाट छलफल थाल्ने सहमति भएको छ । त्यसबाहेक अन्य विषय बैठकको माहौल हेरेर अगाडि बढाउने समझदारी पनि भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने एजेन्डा तय भएको हो ।

गौतमलाई फकाउन बालुवाटारबाट बोलावट

उपाध्यक्ष गौतमले अचानक राष्ट्रिय सभा सदस्य बन्ने चाहना व्यक्त गरेपछि ओली दबाबमा परेका छन् । गौतमले सार्वजनिक रूपमा नै आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि ओलीले फकाउने प्रयास थालेका छन् । उनले गौतमलाई बुधबार साँझ बालुवाटार बोलाएर छलफल गरेका छन् ।

गत शुक्रबारयता प्रधानमन्त्री ओली र गौतमबीच पटक-पटक संवाद भएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले डोल्पाबाट प्रतिनिधिसभाको चुनाव लड्न गौतमलाई प्रस्ताव गरेका थिए ।

गौतमले भदौ १५ मा प्रतिनिधिसभाको चुनाव सम्भव नभएको भन्दै आफूलाई राष्ट्रिय सभा र सरकारमा समेत लैजान ओलीसँग आग्रह गरेका छन् । गौतमको यस्तो अडानपछि अन्य कुनै आश्वासन दिएर फकाउने प्रयास भएको बालुवाटारले गरेको स्रोतले बतायो ।

फागुन १४ मा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको थियो । तर, बैठक सकिएको केही बेरपछि नै प्रधानमन्त्रीले उक्त निर्णय आफूले नमान्ने बताएका थिए ।

प्रकाशित : भाद्र १७, २०७७ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?