कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतमा युवक मृत्यु प्रकरण : पूर्वसांसद पासवान आमरण अनशनमा

शिव पुरी

रौतहट — प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन माग गर्दै पूर्वसांसद विश्वेन्द्र पासवान आमरण अनशन बसेका छन् । उनी मंगलबार रातिबाट इलाका प्रहरी गरुडाको मुख्य गेटकै आडमा अनशन बसेका हुन् । 

हिरासतमा युवक मृत्यु प्रकरण : पूर्वसांसद पासवान आमरण अनशनमा

उनको स्वास्थ्य अवस्था खराब हुन थालेपछि त्यहीँ स्लाइन दिइएको छ । महराको परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिले घटनाको छानबिन, दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्तिसहित दसबुँदे माग राखी एक सातादेखि गरुडामा प्रदर्शन गरिरहेको छ ।

गत साउन ३१ मा भएको गाउँकै निरञ्जन रामको हत्या आरोपमा हिरासतमा रहेका महरालाई सिकिस्त अवस्थामा अस्पताल लगिएकोमा उपचार क्रममा मृत्यु भएको थियो । विजयका बुबा पनिलालले प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै कारबाहीको माग राखेका छन् ।

यही क्रममा निरञ्जन राम र विजय महरा हत्याकाण्ड संघर्ष समिति गठन गरेर प्रहरीविरुद्ध चरणबद्ध आन्दोलन भइरहेको छ । प्रहरीले निरञ्जनको हत्यामा संलग्न रहेको आरोपमा विजयलगायत गाउँकै सात जनालाई पक्रेर कर्तव्य ज्यान मुद्दा चलाएको थियो । यातना दिन संलग्न रहेका भनिएका प्रहरीहरू निलम्बनमा परिसकेका छन् ।


यही घटनामा दोषीलाई कारबाहीको माग अघि सार्दै पूर्वसांसद पासवान अनशन बसेका हुन् । उनीसँगै राष्ट्रियसभाका पूर्वसदस्य रामप्रीत पासवान पनि अनशन बसेका छन् ।

प्रहरीले पक्राउ गरेका सिकेन्द्र पासवान, अजय राम, विवेक राय र अर्जुन रामलाई तत्काल रिहा गर्नुपर्ने, मृतक निरञ्जन र विजयलाई सहिद घोषणा गर्नुपर्ने, दोषी प्रहरीविरुद्ध मुद्दा दर्ता गरी कारबाही हुनुपर्नेजस्ता माग उनीहरूले अघि सारेका छन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक सोनेलाल रामले बताए । स्थानीय प्रशासनले उनीहरूलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कुनै पनि समस्याको समाधान वार्ताकै माध्यमबाट हुने भएकाले पीडित परिवारलाई मागसहित छलफलमा आउन भनेको बताए । ‘हामीले पटकपटक आन्दोलनरत पक्षलाई छलफलमा बसौं भनेका छौं,’ उनले भने, ‘तर उहाँहरू मान्नुभएको छैन ।’ संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले जाहेरी दर्ता गर्न नमानेको आरोप लगाएको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?