कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरमा बढ्दै भोकाहरू

कोही भोकै बस्न पर्दैन भन्ने राष्ट्रपति र प्रधानमन्त्रीको वाचा चटक्कै भुलाउने गरी खुलामञ्चको एकछेउमा ६ बजेतिर खाना पाउने आसमा लाइनमा उभिएकाहरुको कल्याङमल्याङ सुरू हुन्छ । विभिन्न व्यक्ति र संस्थाले राजधानीमै सयौं भोकाहरुलाई नि:शुल्क खाना खुवाइरहेका छन् । सरकारले भने यसलाई देखेर पनि नदेखेझैं गरिरहेको छ ।
जनकराज सापकोटा, गोकर्ण गौतम

काठमाडौँ — खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् । उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली प्लेट छ । 

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण सहर सुनसान छ । तर रत्नपार्कको छेउमा रहेको खुलामञ्चअघि जसको केही भागलाई अस्थायी बसपार्क बनाइएको छ, त्यहाँ दिउँसो २ बजेपछि सयौं मान्छेहरूको चहलपहल सुरु हुन्छ । निषेधाज्ञामा त्यतिका धेरै मान्छे कुनै जुलुस वा धर्ना गर्न वा बसपार्कबाट गाडी चढेर कतै जान भेला भएका होइनन् । काठमाडौंका विभिन्न चौकुनाबाट प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका हुन् ।

उनीहरूलाई नीलो पीपीई लगाएका स्वयंसेवकले खाना बाँडिरहेका छन् । भोकको झोंकमा तिनीहरूले न भौतिक दूरी कायम गरेका छन् न स्वयंसेवकले नै दूरी मिलाउन सकेका छन् । तिनैमध्येका केही भने छेवैको सार्वजनिक शौचालयमा आड लागेर र केही अलि परतिर एक्लै बसेर खाना खाइरहेका छन् ।

टन्टलापुर घाम बिस्तारै ओइलाउँदै छ । तीन लहरमा बसेर खाना खाइरहेको यो हूलभन्दा परतिर अर्को त्यस्तै हूल जम्मा भइसकेको छ । खाना खाइवरी चुठेको चिसै हात लिएर कोही भने अर्को लाइनमा उभिन पुगिसकेका छन् । हेर्दाहेर्दै अर्को लाइनमा लगभग चार सय जना पुगिसके । उनीहरू पनि अघिल्लो समूहजस्तै भोक टार्न काठमाडौंका विभिन्न ठाउँबाट हिँडेरै खुलामञ्च आइपुगेका हुन् ।

खुलामञ्चमा केही दिनयता दिउँसो ३ बजेतिर ‘हन्ड्रेड्स समूह’ र साँझतिर वर्षौंदेखि कारागारमा रहेका अभिभावकका बालबालिका संरक्षण गरिरहेकी इन्दिरा रानामगरले खाना खुवाइरहेका छन् । सोमबार खुलामञ्चमा देखिएको भीड यिनै दुई समूहले बाँड्ने खाना खान जम्मा भएका भोकाहरूको हो । हन्ड्रेड्स समूह र इन्दिराका अनुसार यहाँ खान आउनेहरूमा सडकमा आश्रितहरूदेखि डेरा गरी बस्ने तर काम नभएका कारण हातमुख जोर्न नसक्नेहरू छन् । कागजको प्लेट समातेर खानाको प्रतीक्षामा बसेकामध्ये एक थिए, काठमाडौंमा ज्यामी काम गर्ने सर्लाहीका शंकर यादव । गरिआएको काम पाउन छाडेपछि परिवारको मुखमा माड लगाउने उपाय खोज्दै आलसतालस भएका ४२ वर्षीय उनले खिन्न हुँदै भने, ‘भाइरस–भाइरस भन्छन्, हामीचाहिँ खान नपाएर मर्ने भयौं ।’

खुलामञ्चमा आएका खान र गरिखान नपाउने अधिकांशको भनाइ शंकरकै जस्तो छ । संक्रमणबाट बच्न प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा दिनभर काम गरेर साँझको छाक टार्ने वर्गहरू भोकै पर्न थालेका छन् । यसरी भोकै हुनेहरू प्रशासनको भय छल्दै निःशुल्क खाना पाइने ठाउँमा धाउन बाध्य छन् । शंकरले निधार खुम्च्याउँदै भने, ‘भोकबाट बाँचे पो रोगको डर, भोकैले मरे केको रोग !’

अघिल्लो लकडाउन सकिएपछि शंकरले केही दिन काम पाएका थिए तर निषेधाज्ञापछि उनले काम पाउनै छाडे । काम नभएपछि कमाइ रोकियो अनि उनी सडकमै आइपुगे । पत्नी र दुई सन्तानलाई मैतीदेवीको डेरामा छोडेर शंकर बिहानै निस्कन्छन् । बिहानको खाना गौरीघाटतिर निःशुल्क पाइने ठाउँमा पुगेर खान्छन् । अनि डेरा फर्केर केही बेर सुस्ताएपछि खाना खान खुलामञ्च आउँछन् । हन्ड्रेड्स समूहले दिउँसो बाँड्ने खाना खाइसकेपछि उनी इन्दिराले साँझपख खाना बाँड्ने लाइनमा बस्छन् । दोस्रो लाइनमा बसेर पाउने प्याकेटको खाना भने उनले घरमा लगेर दिन्छन् । कहिलेकाहीं त उनी खुलामञ्चबाट प्याकेटको खाना लिएर कालीमाटीतिर पुग्छन् ।

रात छिप्पिसकेका बेला त्यहाँ पनि निःशुल्क खाना बाँडिने गरेको उनले बताए । भने, ‘मैले घरमा खाइनँ भने बच्चाबच्चाले अलि धेरै खान पाउँछन्, म त हिँड्न सक्छु, त्यसैले बिहानै निस्कन्छु ।’ अर्थात् निषेधाज्ञा भए पनि भोककै कारण शंकर बिहानदेखि साँझसम्मै निःशुल्क खान पाइने आसमा कैयन् ठाउँ चहार्छन् ।

स्वयंसेवकहरूका अनुसार शंकरजस्तै घरको चामल जोगाउने वा प्याकेटको खाना पाए घरका सदस्यको पनि भोक मार्न सकिन्छ भनेर खाना खोज्दै दिनभर काठमाडौंका अनेक कुना चहार्नेहरूको संख्या बढ्दै जान थालेको छ । शंकरको छेवैमा बसेर खाना खाइरहेका सेताम्मे दाह्री भएका एक वृद्धको व्यथा भने शंकरको भन्दा पृथक् रहेछ ।

‘कहाँ बस्नुहुन्छ ?’ भनेर सोध्दा एकछिन रोकिएर उनले भने, ‘जहाँ पुग्दा निद्रा लाग्छ, त्यहीं सुत्छु ।’ अर्थात् उनी सडकमै सुत्दा रहेछन् ।

गत वर्षको मंसिर २९ मा काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त’ सहर अभियान घोषणा गरेको थियो । ०७६ कात्तिक ४ मा त प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास कार्यक्रममा बोल्दै सडकका पेटीमा ‘सडक मानिस’ देख्न नपर्ने बताएका थिए । ‘अब सडकमा कोही पनि सुतेको, जिग्रिङ्ग भएर बसेको देख्नु पर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपुल,’ उनले भनेका थिए ।

गत जेठ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अब गरिबीका कारणले कोही भोकै नमर्ने बताएकी थिइन् । उसो त त्यसअघि पनि प्रधानमन्त्री ओलीले ०७५ पुस १३ मा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने बताउँदै भनेका थिए, ‘अब कोही भोकै बस्नै पर्दर्नै, भोकै मर्नुपर्दैन, कसैलाई पनि भोकै मर्न दिइँदैन, जाडोले कठ्यांग्रिएर कोही पनि मर्नुपर्दैन, अहिलेको सरकार जनताको सरकार हो । जनताको चाहना सम्बोधन गर्न सरकार तयार छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीले गरेको वाचा चटक्कै भुलाउने गरी खुलामञ्चको एकछेउमा ६ बजेतिर खाना पाइने आसमा लाइनमा उभिएकाहरूले कल्याङमल्याङ गरे । उनीहरू ‘आमा आउनुभयो’ भन्दै कराए । विद्युत् प्राधिकरण भएतिरबाट एउटा ट्याक्सी खुलामञ्चमा छिर्‍यो । त्यसमा थिइन्, प्याकेटको खाना लिएर आएकी इन्दिरा रानामगर । लकडाउनको तेस्रो दिनबाट निःशुल्क खाना खुवाउन थालेकी इन्दिराको अभियान आजसम्म निरन्तर छ । उनले भनिन्, ‘सुरु–सुरुमा सडकमा आश्रितहरूलाई खाना खुवाएको थिएँ । हिजोआज त डेरा भएर पनि खाना खानै नसक्नेहरूको संख्या बढ्दै गएको छ ।’

औसतमा दिनहुँ पाँच सय प्याकेट खाना बाँड्ने इन्दिराले लकडाउनको सुरुवाती दिनतिर ठमेलको सञ्चयकोष भवन र सरस्वती क्याम्पसछेउमा खाना बाँडिन् । तर होहल्ला र फोहोर भएको भन्दै स्थानीयले विरोध गरेपछि उनी विभिन्न ठाउँमा खाना बाँड्दै हिँड्छिन् । रत्नपार्कमा बाँडेर इन्दिरा लैनचौर, विष्णुमती, बसपार्क, बालाजु र शोभाभगवतीमा खाना पर्खेर बसेकालाई खाना खुवाउँछिन् । दिनभर आफैं खटिएर खाना बनाउने र साँझ ट्याक्सी भाडामा लिएर भोकाहरू खोज्दै हिँड्ने उनले भनिन्, ‘कसैको पेट भोको नहोस् भनेर सकेसम्म दौडने गर्छु ।’

अहिलेसम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको बताउने इन्दिरालाई खाद्यान्न सरसामग्री किन्न विदेशमा रहेका, विद्यार्थी र आफन्ती मनकारीहरूले सघाइरहेका छन् । भात, मिक्स तरकारी अनि सागसहितको खानाको प्याकेट बाँड्दै आएकी उनले शनिबार भने मासुभात नै खुवाउँछिन् । भनिन्, ‘कतैबाट सहयोग आयो भने फलफूल, सलाद पनि प्याकेटमा राख्छु ।’

इन्दिराभन्दा अघि खुलामञ्चमा खाना खुवाउने ‘हन्ड्रेड समूह’का संस्थापक बब्लु गुप्ताका अनुसार लकडाउनलगत्तै समूहले निःशुल्क खाना खुवाउन थालेको हो । पहिले अनामनगर, शान्तिनगर, जडीबुटीमा खाना पकाएर विभिन्न ठाउँमा खुवाउने समूहले हिजोआज भने खुलामञ्चमा मात्रै खुवाइरहेको छ । ‘हामी अनुदान जति छ, त्यति खाना बनाएर खुवाउने गर्छौं । अहिले घटेको छ, त्यसैले खुलामञ्चमा मात्र खुवाइरहेका छौं,’ गुप्ताले भने । यही समूहका अन्य स्वयंसेवकहरू तीनवटा मोटरसाइकलमा खाना बोकेर चक्रपथ चहार्छन् । अनि जहाँ भोको मान्छे देख्यो, त्यहीं खुवाउँछन् ।

गुप्ताका अनुसार खुलामञ्चमा दैनिक साढे तीन सयदेखि साढे पाँच सयसम्मले खाना खाइरहेका छन् । त्यसरी खाना खानेमध्ये सहचालक, भरिया, रिक्सावाला, ज्यामी काम गर्ने र अपांगता भएका व्यक्तिहरूसम्म छन् । उनले कहिले दाल, भात, तरकारी खुवाउने त कहिले स्रोत नभएका बेला दालमोठ र चिउरा मात्रै भए पनि खुवाउने गरेको बताए । यद्यपि सोमबार त्यहाँ आउने अधिकांशले खाना नमिठो भएको र समूहका सदस्यहरूले रुखो व्यवहार गरेको गुनासो पोखे । कति जनासँग त स्वयंसेवकको भनाभन परिरहेको थियो ।

गुप्ताले भने रक्सी खाएर होहल्ला गर्ने भएकाले सम्झाउनुपरेको बताए । ‘रत्नपार्कमै नियमित बस्ने केटाहरूले पैसा मागेर हैरान गर्छन्, कोही मातेर आउँछन्, भौतिक दूरी कायम गर्दैनन्, त्यसैले कहिलेकाहीं अलि ठूलो स्वरमा बोल्नुपर्ने हुँदो रहेछ,’ उनले भने, ‘त्यस्तै, हाम्रा कतिपय नयाँ स्वयंसेवक साथीहरूले परिस्थति सम्हाल्न नसकेको पनि हुन सक्छ । हामी सहज बनाउँदै छौं ।’ खाना खाने ठाउँमा स्प्रे छर्केको, सेता घेरामा बस्ने ठाउँ बनाएको, नियमित त्यहाँ पुग्ने स्वयंसेवकलाई पीपीईको व्यवस्था गरेको तर मान्छेको भीड बढ्दै गएपछि ज्वरो नाप्न नसकेको उनले जानकारी दिए ।

खुलामञ्चमा खाना खोज्दै पुग्नेमा अर्का थिए, धादिङ खानीखोलाका राजेश राई । खानाको प्याकेट हातमा बोकेका उनले भने, ‘भारी बोकेर खान्छु भन्दा पनि पाइएन । यसरी अरूले दिएको खानुपर्‍यो ।’ एक दशकयता असन क्षेत्रमा भारी बोक्ने काम गर्दै आएका उनले अरू बेला पसिना बगाएर जसोतसो पेट भरे पनि लकडाउन र निषेधाज्ञापछि थाप्लो र नाम्लोको नाता टुटेकाले भोको पेट हुन थालेको सुनाए ।

लकडाउनको सुरुवाती दिनमा जस्तो स्थानीय तहले चामलसहितको खाद्यान्न सहायता नबाँड्दा र निषेधाज्ञाको १४ दिन पुगिसक्दा विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले बाँड्ने निःशुल्क खाना खान आउनेहरूको भीड उपत्यकामा बढ्दै गएको छ । एक्सन फर सोसल चेन्ज नामक अभियानका विनयजंग बस्नेतले लकडाउनको दसौं दिनयता निरन्तर काठमाडौंका विभिन्न स्थानमा भोकाहरूलाई निःशुल्क खाना खुवाइरहेका छन् । औसतमा दैनिक ५ सय हाराहारीलाई खाना खुवाउँदै आएका विनयले पछिल्ला दिनमा सडकमा आश्रित मात्र नभएर ज्यामी र दैनिक ज्यालादारीमा काम गर्ने डेरावालाहरू पनि खाना खोज्दै आउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘काम पाए काम गर्थेम्, नपाएर सडकमा खाना खोज्दै आएको भन्नेहरू पनि हिजोआज भेट्न थालेको छु ।’

पाटन, मंगलबजार, बालकुमारी, कौशलटार र पशुपति क्षेत्रमा नियमित दैनिक एक छाक खाना खुवाउँदै आएका विनयले पछिल्ला दिनमा बाटोछेउमा खानाको आसमा बस्ने एकै परिवारका चार/पाँच सदस्य पनि आफूले देख्न थालेको बताए । उनले निषेधाज्ञा लम्बिँदै जाँदा गरिखाने वर्ग साँच्चिकै मर्कामा परेको सुनाउँदै भने, ‘सडकमा देखिनेहरू त सानो संख्या मात्रै हो । राजधानीमा मात्रै खान नपाउनेको संख्या हजारौं छ ।’

सामाजिक अभियन्ता पुकार बमसहितले लकडाउन सुरु भएयता हाम्रो सानो प्रयास नामक अभियानबाट करिब ६० हजारभन्दा धेरैलाई निःशुल्क खाना खुवाइसके । लकडाउनको सुरुवाती दिनमा दैनिक एक हजारसम्मलाई खाना खुवाएको यो समूहले पछिल्ला दिनमा २/३ सयलाई खुवाएको थियो । हाम्रो सानो प्रयासले सातै प्रदेशका विभिन्न स्थानीय समूह र साथीहरूसँगको सहकार्यमा खाना खुवाइरहेका छौं । पछिल्लो दिनमा संक्रमण बढ्दै गएपछि सार्वजनिक रूपमा खाना खुवाउन समस्या पर्न थालेको तर खानाको खोजीमा बाटो छेउछाउ आउनेहरूको संख्या बढेको पुकारले बताए । पछिल्लो १ सय ३४ दिनयता सयौं साथीहरूसँगको सहकार्यमा भोकाहरूलाई खाना खुवाउँदाको अनुभव साट्दै पुकारले भने, ‘लकडाउन खुलेपछि ज्यालादारी काम गर्ने धेरै मान्छे काठमाडौं फर्के तर तिनीहरूले काम पाएनन् । बरु उल्टै निषेधाज्ञामा बस्नुपर्‍यो । अहिले त्यो समूह सबैभन्दा धेरै भोकै पर्न थालेको छ ।’

जुजुकाजी महर्जनसहितको समूहले बालाजुस्थित मिर्गौला अस्पतालका बिरामी, कुरुवा र कर्मचारी गरेर करिब सय जनाजतिलाई निःशुल्क खाना खुवाउँदै आएको छ । महर्जनले आफूहरू खाना लिएर अस्पताल जाँदै गर्दा बाटो छेउछाउमा खान पाइने आसमा उभिएका मान्छेहरू देख्न थालेको बताए । उनीसहितको समूहले केही दिनअघि ठमेल, छेत्रपाटी र वसन्तपुर क्षेत्रका २० रिक्सा चालकलाई निःशुल्क खाना खुवाएको थियो । महर्जनले भने, ‘बिस्तारै भोकै पर्नेहरूको संख्या बढ्दै जान थालेको छ ।’ उनले अघिल्लो लकडाउनमा निःशुल्क खाना बाँड्ने धेरै समूह सक्रिय रहेको तर अहिले भोकाहरूको संख्या बढ्दै जाँदा त्यस्ता समूहको अभाव भएको र सरकारीस्तरबाट पनि प्रयास हुन नसकेको बताए ।

सडकमा आश्रित र परिवारविहीनहरूको उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमले लकडाउनयता देशैभरिबाट १ सय ७० जनालाई उद्धार गर्‍यो । आश्रमले केही दिनअघि कालीमाटीबाट सडकमा आश्रित चार जनालाई उद्धार गरेको थियो । जसमा दुई जना कोरोना संक्रमित थिए । आश्रमका अनुसार ती दुवै संक्रमित कैयन् दिनयता काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क बाँडिने खाना खाइरहेका थिए । आश्रमले केही दिनअघि ललितपुरका विभिन्न स्थानबाट सडक आश्रित ६ जनालाई उद्धार गरेको थियो । जसमा ५ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

प्रकाशित : भाद्र १७, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘लाइभ’ गरेर ‘लाइफ’ समाप्त !

सामाजिक सञ्जालमा पूर्वजानकारी दिएर र ‘लाइभ स्ट्रिमिङ’ गरेर आत्महत्याका घटना बढ्दै । विज्ञ भन्छन्– ‘आफन्त र साथीहरूले समयमै पहिचान गर्ने र साथ दिने हो भने बचाउन सकिन्छ ।’
जनकराज सापकोटा, गोकर्ण गौतम

काठमाडौँ — १८ असारको मध्यरातमा दाङ तुलसीपुरकी २३ वर्षीया एलिसा गौतम फेसबुक लाइभमा आइन् । उनी सार्वजनिक महत्त्वको कुनै कुरा सुनाउन वा आफ्नो प्रतिभा देखाउन लाइभमा आएकी थिइनन् । अनुहार मलिन थियो । घरी नमस्ते गर्थिन्, घरी रुन्थिन् । उनको यो अस्वाभाविक गतिविधि देख्नेहरूले जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरीको साइबर ब्युरोसम्म खबर पुर्‍याए । तर उनको कोठासम्म प्रहरी नपुग्दै उनले लाइभमार्फत दुनियाँलाई थाहा दिएर आफैंलाई सिध्याइसकेकी थिइन् ।

एलिसाले आत्महत्या गर्न लागेको सूचना राति नै काठमाडौंमा रहेको प्रहरीको साइबर ब्युरोले पनि पाएको थियो । ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार फेसबुक लाइभको लिंकका आधारमा एलिसाको लोकेसन र उनलाई तत्काल उद्धार गर्न सक्ने सम्भावित व्यक्तिको पहिचान राति नै गरिसकिएको थियो । ब्युरोले सिंगापुर र अमेरिकामा रहेको फेसबुक कार्यालयको आत्महत्यासम्बन्धी घटनाहरू केलाउने शाखामा सम्पर्क गरेर केही सूचना लिएको थियो । त्यस्तो सूचनाका आधारमा उनीहरूले आत्महत्या गर्ने युवतीको छिमेकीलाई पनि सम्पर्क गरेका थिए । एसएसपी अर्याल भन्छन्, ‘अरू कैयन् घटनामा हामीले समयमै आत्महत्या गर्ने तरखर गरिरहेकाहरूलाई बचाएका थियौं । तर, यो घटनामा सकिएन ।

दाङ घटनाको दुई दिनपछि चितवनमा उस्तै प्रकृतिको घटना दोहोरियो । असार २१ गते राति साढे ९ बजेतिर जिल्ला प्रहरी कार्यालय चितवनमा टोल फ्री नम्बर १०० मार्फत सूचना आयो– ‘एउटी युवती फेसबुकमा लाइभमा आत्महत्या गर्दैछिन् ।’ प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा रहेको घरमा पुग्दा १९ वर्षीया ती युवतीले आत्महत्या गरिसकेकी थिइन् ।

जगतपुर घर भई भरतपुरको स्याउली बजारमा अन्य दुई साथीसहित फ्ल्याटमा बस्ने युवती घटनाका बेला एक जना साथीसँग थिइन् । प्रहरीका अनुसार दुवैले मदिरा सेवन गरेको र कसैसँग फोनमा केही विवाद भएपछि युवती आफ्नो कोठामा छिरेर आत्महत्या गरेको देखिन्छ । ढोका फोरेर प्रहरी पुग्दा उनको मोबाइल खुल्लै थियो र फेसबुकमा सबै दृश्य लाइभ भइरहेको थियो । जिप्रका चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले आत्महत्याको कारण यकिन नखुले पनि विवादपछि आवेगमा आत्महत्या गरेको हुन सक्ने बताए ।

लकडाउनयता मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गरेर आत्महत्याको प्रयास गर्न खोज्ने दुई जनालाई प्रहरीले बचाइसकेको छ । यो संख्याले सामाजिक सञ्जालमार्फत युवाहरूमा कसरी आफ्नो जीवन सिध्याउने गम्भीर घटना दुनियाँलाई बताउने प्रवृत्ति देखिँदै छ भन्ने अनुमान लगाउन सकिन्छ । भलै लाइभमा आफैंलाई सिध्याउने घटना नेपाली समाजका निम्ति नयाँ होइन ।

‘युवामा नयाँ प्रयोग गरौं भन्ने हुन्छ, अरूको ध्यान तान्न र देखाउन पनि फेसबुकमार्फत देखाउन खोजिएको हुन सक्छ,’ मानसिक रोग विशेषज्ञ डा. अजय रिसाल भन्छन्, ‘निराशालाई सहने क्षमता घटेको छ । अलिकति समस्या हुनासाथ मरिहाल्छु भन्ने ठान्छन् ।’

विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । कोरोना महाव्याधिले यो संख्या अझ बढ्ने विज्ञहरूको दाबी छ । नेपालमै प्रतिदिन औसतमा १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहमा मृत्युको दोस्रो कारण आत्महत्या हो । यही उमेर समूह फेसबुकमा अत्यधिक सक्रिय हुने गर्छ । नेपालमा फेसबुक लाइभमा आत्महत्या गर्ने र गर्न खोज्ने पनि युवायुवती नै छन् ।

२१ असोज २०७५ मा चितवन कालीकानगर बस्ने २५ वर्षीय निश्चल तामाङले राति ९ बजेतिर फेसबुकमा स्टाटस लेखे, ‘समथिङ भेरी सिरियस गोइङ टु ह्याप्पन । आई विल बी लाइभ एट टुभेल । प्लिज डु रेकर्ड माई लाइभ ।’ यस्तो लेखेको केही घण्टापछि लाइभमा देखापरेका ट्याटु आर्टिस्ट निश्चलले आफूलाई पासो लगाए । उनले आत्महत्या गर्न लागेको सूचना नजिकका साथीभाइ र प्रहरीले थाहा त पाएको थियो । तर मध्यरातमा लोकेसन पत्ता लगाउन र आफन्तलाई सम्भावित घटनाबारे खबर दिएर प्रहरीले उनलाई बचाउन सकेन । उनी लागूऔषध दुव्र्यसनमा फसेका थिए । उनी ठ्याक्कै के कारणले आत्महत्या गर्न अग्रसर भए भन्ने अन्तिम निष्कर्ष प्रहरीले निकाल्न नसके पनि निश्चल डिप्रेसनमा फसेको प्रारम्भिक निक्र्योल थियो ।

सामाजिक सञ्जालमा पोख्त, पढालिखा तर तनावको व्यवस्थापनमा चुक्ने र छिट्टै हतास हुने युवा पुस्ता सामाजिक सञ्जालमा देखाएर आफ्नो जीवन सक्काउन अग्रसर भएको देखिन्छ । कतिपय आफैंलाई हानि गर्ने तथा अन्य खालका मनोवैज्ञानिकबाट पीडित हुन्छन् । मनोविद् करुणा कुँवर भन्छिन्, ‘दुनियाँलाई भन्दा आफूलाई चित्त दुखेको मान्छेलाई देखाउन फेसबुक लाइभमा आत्महत्या भएको हुन्छ ।’ उनको भनाइमा त्यस्तो व्यक्तिमा सुषुप्त अवस्थामा आफ्ना वरपरका मान्छेप्रति असन्तुष्टि वा प्रतिशोध पनि हुन सक्छ ।

गत वर्ष फागुन ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा सूचना आयो– कालीमाटी क्षेत्रमा एक जना युवाले फेसबुक लाइभमा आएर आत्महत्या गर्न खोज्दै छन् । ब्युरोले सूचना उक्त क्षेत्रको सुरक्षा हेर्ने महानगरीय प्रहरी वृत्त कालीमाटीलाई दियो । वृत्तका डीएसपी रुगम कुँवरले तुरुन्तै प्रहरी परिचालन गरेर युवकको घर पत्ता लगाए । कुँवरका अनुसार केही मिनेट मात्रै ढिलो भएको भए ती युवाले आफ्नै ज्यान लिइसकेका हुन्थे । उनले प्रहरीसँग अस्ट्रेलियामा रहेकी प्रेमिकालाई लामो समयदेखि भेट्न नपाएको अनि आर्थिक अभाव भएकाले आत्महत्या गर्न चाहेको बताएका थिए ।

२०७२ फागुनको अन्तिम साता महानगरीय प्रहरी अपराध महाशाखाको साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने पिलरमा फेसबुकको आयरल्यान्डस्थित कार्यालयबाट इमर्जेन्सी अलर्ट आयो । सोही सूचनाका आधारमा प्रहरीले थाहा पायो, स्नातक तहसम्म अध्ययन गरेका झापाका एक युवकले आफूले आत्महत्या गर्न लागेको भन्दै फेसबुकमा पोस्ट गरेका थिए । महाशाखाले झापा प्रहरीसँग समन्वय गरेर ती युवाको सम्पर्कमा पुग्यो र मनोपरामर्श दियो ।

लाइभमा आत्महत्या गरेका वा गर्न खोजेका अधिकांशको कारण सम्बन्धको उतारचढाव र त्यसैबाट जन्मने डिप्रेसन मुख्य देखिन्छ । जस्तो कि दाङकी युवती पनि पहिलो विवाह र दोस्रो दुवै विवाह सम्बन्ध टुटेपछि माइतीमा एक्लै बस्दै आएकी थिइन् । बाबुआमा र दुई बहिनी भारतमै रहेका कारण एक्लै भएकी उनी वैदेशिक रोजगारीमा रहेका तेस्रो व्यक्तिसँग सम्बन्धमा रहेको बताइन्छ । चितवनका निश्चलको श्रीमतीसँग पनि सुमधुर सम्बन्ध थिएन ।

काठमाडौं विश्वविद्यालय मनोचिकित्सा विभागका सहप्राध्यापक रिसाल भन्छन्, ‘नयाँ पुस्ता सम्बन्ध चाहन्छन्, तर व्यवस्थापन गर्न सक्दैनन् । अर्को सम्बन्धको सुरुवात भइहाल्छ । त्यसमा पनि त्यस्तै नियति दोहोरिएपछि निराशा बढ्छ । कहिलेकाहीं धम्की पनि आत्महत्यामा बदलिने गर्छ ।’ आत्महत्याका पछाडि आफैंलाई क्षति गर्ने व्यक्तित्वजन्य समस्याको पनि भूमिका हुन्छ । कतिपयमा जीवनप्रतिको नैराश्यता, खुसी वा हरेक स–साना कुरा अरूसामु देखाउने बानी हुन्छ । त्यसैले आत्महत्या पनि देखाएरै गर्न खोज्छन् ।


बाहिरी मुलुकमा फेसबुकमा पूर्वजानकारी देखाएर आत्महत्या वा अन्य अपराध गर्ने प्रवृत्ति अझ मौलाएको छ । अघिल्लो वर्ष न्युजिल्यान्डमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो, यो आक्रमण १७ मिनेटसम्म फेसबुकमा लाइभ भएको थियो । गत वर्षै दिल्ली मेट्रोका एक कर्मचारीले फेसबुकमा देखाएर आत्महत्या गरे । हालसालै बंगलादेशमा फेसबुकमा पूर्वजानकारी दिएर वा लाइभ स्ट्रिमिङ गरेर आत्महत्या गर्ने प्रवृत्तिबारे अध्ययन गरिएको थियो । ग्लोबल मेन्टल हेल्थमा प्रकाशित उक्त अध्ययनका अनुसार यसरी मर्ने सबै ३५ वर्षमुनिका थिए, त्यसमा पनि पुरुषको संख्या महिलाभन्दा चार गुणा ज्यादा थियो । मर्नेमध्ये ७४ प्रतिशत विद्यार्थी र ७० प्रतिशत राजधानी ढाकाका थिए । ती सबैमा कुनै न कुनै खालको मनोवैज्ञानिक समस्या रहेको पाइएको थियो ।

फेसबुकको ‘अप्रभावकारी’ प्रणाली

फेसबुकले सन् २००६ बाटै आत्महत्या रोकथामका लागि विज्ञसँग सहकार्य सुरु गर्‍यो । सन् २०११ मा त अमेरिकाको आत्महत्या रोकथाम गर्ने सरकारी निकायसँगै समन्वय गर्‍यो । सन् २०१६ मा फेसबुकले लाइभ स्ट्रिमिङको सुविधा ल्यायो ।

यसपछि झन् भिडियो देखाएरै आत्महत्या गर्ने क्रम बढ्यो । लाइभको दुरुपयोगले आलोचना बढेपछि फेसबुकले सन् २०१७ मा आत्महत्या रोक्न ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रविधि प्रयोगमा ल्यायो । पहिलो वर्ष नै संसारभर ३ हजार ५ सय मान्छेलाई आत्महत्याबाट बचाउन स्थानीय प्रहरीलाई खबर गरेको फेसबुकको भनाइ छ । फेसबुकसँग प्रयोगकर्ताको पोस्ट, कमेन्ट र भिडियो स्क्यान गर्ने सिस्टम छ, यसबाट तत्काल आत्महत्या गर्न सक्ने प्रयोककर्ताबारे जानकारी पाउन सकिन्छ । यसले प्रयोगकर्ताको आत्महत्या गर्न सक्ने व्यवहार विश्लेषण गर्छ र संकेत पाउनासाथ निकटका साथीहरूलाई जानकारी दिन्छ । सँगै फेसबुकले सम्बन्धित स्थानीय तहका प्रशासनलाई जानकारी दिन्छ । तर नेपालमा यो विधि त्यति प्रभावकारी भएको देखिन्न ।

त्यसो हुन्थ्यो भने, निश्चल तामाङलाई बचाउन सकिन्थ्यो । उनले आत्महत्याको समय तोकेर केही घण्टा लाइभमा बसेका थिए । तर, न प्रहरी पुग्यो न परिवार । फेसबुकले समेत ‘अलर्ट’ दिएन । कैयौंले नेपाल प्रहरीको फेसबुक पेजमा मेन्सन गरेका थिए, तर प्रहरीले तामाङले आत्महत्या गरेपछि मात्र पत्तो पायो । शनिबारको चितवनको घटनामा भने फेसबुक मुख्यालयले यस्तो अलर्ट नेपाल प्रहरीलाई गराएको देखिन्न । प्रवक्ता डीएसपी थापाले आफूहरूले युवती बस्ने घरमै बस्ने अरू व्यक्तिबाट सूचना पाएको बताउँदै भने, ‘फेसबुकबाट त्यस्तो कुनै जानकारी पाएनौं । पाएको भए सायद बचाउन सकिन्थ्यो कि ।’ गोपनीयताको कारण देखाउँदै युरोपले भने फेसबुकको आत्महत्यासम्बन्धी तथ्यांक विश्लेषण प्रविधिलाई स्विकारेको छैन ।

साइबर ब्युरोका अनुसार कसैले फेसबुकमा आत्महत्या गर्ने संकेतसहितको पोस्ट, फोटो, भिडियो वा लाइभ भिडियोबारेको सूचना प्रहरीले पाउनेबित्तिकै उक्त व्यक्तिको लोकेसनलगायतको सूचना लिन फेसबुकको सिंगापुर र अमेरिकामा रहेको कार्यालयसँग ब्युरोले थप सूचना माग्ने गर्छ । त्यस आधारमा प्रहरी घटनास्थलमै पुग्ने वा आफन्त र छिमेकीहरूसँग समन्वय गरेर आत्महत्याको घटनाबाट व्यक्तिलाई जोगाउने प्रयास गरेको देखिन्छ । फेसबुक मुख्यालयले सम्भावित आत्महत्याका घटनाबारे महानगरीय प्रहरी कार्यालय, साइबर ब्युरो र केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोलाई अलर्ट पठाउने गर्छ । साइबर ब्युरोका एसएसपीले पनि चितवन घटनाबारे फेसबुकबाट कुनै ‘अलर्ट’ नपाएको बताए । उनले केही घटनामा समयमै अलर्ट पाएर कतिपयलाई बचाउन सकिएको उदाहरण पनि रहेको बताउँदै भने, ‘केही घटनामा भने अलर्ट नपाएको देखिन्छ ।’

फेसबुकले भारतको हकमा भने सम्भावित घटना हुने ठेगानाका आधारमा सम्बन्धित राज्यस्थित प्रहरीकै कार्यालयमा अलर्ट पठाउने गर्छ । जसले गर्दा प्रहरी छिटोभन्दा छिटो आत्महत्या गर्न खोज्ने व्यक्तिको घरमा पुग्न सक्छ । तर, नेपालको हकमा भने त्यस्तो देखिन्न । केन्द्रीय अनुसन्धान ब्युरोमा रहेको साइबर सुरक्षा हेर्ने एक अधिकारीका अनुसार कहिलेकाहीँ फेसबुकको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ले नेपाली भाषा पनि सम्भावित आत्महत्याको सूचना थाहा नपाउन सक्छ । अर्यालले सामाजिक सञ्जालमा आत्महत्या प्रेरित सूचना वा गतिविधि देखियो भने नेपाल प्रहरीको साइबर ब्युरोमा वा शुल्क नलाग्ने प्रहरीको हटलाइन नम्बर १०० मा वा नजिकैको प्रहरीमा फोन गर्न सकिने बताए । उनले भने, ‘समयमै सूचना पाइयो भने आवेशप्रेरित आत्महत्याबाट जोगाउन सकिन्छ ।’

आधुनिक सुसाइड नोट ‘लाइभ स्ट्रिमिङ’

विज्ञहरूका अनुसार हरेक व्यक्तिले आत्महत्या गर्ने सोच पहिल्यै कुनै न कुनै माध्यमबाट अभिव्यक्त गरेको हुन्छ । सामान्य कुराकानीमा पनि बाँच्न मन नलागेको भावनाहरू पोखिरहेको हुन सक्छ । अझ फेसबुक प्रयोगकर्ताको हकमा पहिल्यै छनक दिएको पाइन्छ । यसका लागि मनोविद् करुणा कुँवरले एउटा उदाहरण दिइन् । एक वर्ष अगाडि राजधानीमै एक स्कुले विद्यार्थीले आत्महत्या गरे । कुँवरका अनुसार ती किशोरले एक वर्षदेखि फेसबुकमा आत्महत्यासम्बन्धी अनेक पोस्ट गरेका रहेछन्, दु:ख पोखेका रहेछन्, तर कसैले मतलबै गरेनन् ।

‘उनको पोस्टलाई आफन्तले गम्भीर रूपमा लिएको र उनलाई सम्झाएको भए आत्महत्याबाट रोक्न सकिन्थ्यो,’ कुँवर भन्छिन्, ‘तर, त्यस्तो भावनालाई प्राय: बेवास्ता गरिन्छ ।’ उनी फेसबुकमा लाइभ आएर आत्महत्या गर्ने प्रवृत्तिलाई ‘सुसाइड नोट’ कै आधुनिक स्वरूप भन्न रुचाउँछिन् । ‘सुसाइट नोटमा पनि मर्नुको कारण लेखिएको हुन्थ्यो, लाइभमा पनि कारण नै भन्ने गरेको पाइन्छ,’ उनले भनिन्, ‘तर, आफ्नो आफन्त र साथीको सार्वजनिक गतिविधिलाई नियाल्ने हो भने व्यक्तिभित्रको बेचैनी थाहा पाइन्छ र साथ–हौसला दिएर बचाउन सकिन्छ ।’

बंगलादेशमा गरिएको उक्त अध्ययनले पनि फेसबुकमार्फत व्यक्तिको आन्तरिक छटपटी र आत्महत्याप्रतिको सोच बुझ्न सकिने निष्कर्ष निकालेको थियो । ‘सामाजिक सञ्जालले प्रयोगकर्ताको मानसिक अवस्था बुझ्न र ख्याल गर्न सहज बनाएको छ ।

‘फेसबुककै आत्महत्या पहिचान गर्ने प्रणाली र प्रयोगकर्ताका पोस्टमार्फत साथीहरूले आत्महत्याको संकेत पाउन सक्छन्, रोकथाममा यो प्रभावकारी हुन सक्छ,’ अध्ययनमा भनिएको छ । यसका लागि धेरैभन्दा धेरै मनोविमर्श आवश्यक पर्ने मानसिक रोग विशेषज्ञ रिसालको भनाइ छ । फेसबुक पोस्टका प्रकृति र म्यासेन्जरमा बोल्ने शैली बदलिनु पनि यसको संकेत हो । ‘यदि कसैले झुक्किएर पनि मर्ने कुरा गर्छ भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ रिसाल भन्छन्, ‘फेसबुक पोस्टले व्यक्तिभित्रको आत्महत्या मनोवृत्ति पहिचान गर्न सहज हुन्छ । नजिकका मान्छेले सकारात्मक निगरानी गर्ने र साथ दिने हो भने आत्महत्या रोकथाम गर्न सकिन्छ ।’

प्रकाशित : असार २३, २०७७ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×