२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

कतारमा नि:शुल्क कम्पनी बदल्न पाइने

नयाँ प्रावधानअनुसार रोजगारदाता कम्पनी परिवर्तन गर्न निश्चित समयअघि नै सूचना दिनुपर्नेछ । कम्पनीले तलब नदिएको खण्डमा भने यस्तो प्रक्रिया पार गर्नुपर्ने छैन । तर, परीक्षणकाल रहँदै खबर नै नगरी स्वदेश फिर्नेलाई कतार प्रवेशमा एक वर्ष रोक लाग्नेछ ।
होम कार्की

काठमाडौँ — कतारमा ‘निश्चित’ र ‘खुल्ला’ करारपत्र भएका दुवै खालका श्रमिकले रोजगारदाताको अनुमतिबिनै कम्पनी परिवर्तन गर्न पाउने भएका छन् । यसअघि निश्चित करारका श्रमिकले दुई वर्ष र खुल्ला करारमा आबद्धले पाँच वर्ष काम गरेपछि मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्न पाउने प्रावधान थियो ।

कतारमा नि:शुल्क कम्पनी बदल्न पाइने

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले भदौ १४ मा रोजगारी बदल्न रोजगारदाताको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (रिलिज पेपर) चाहिने बाध्यकारी प्रावधानलाई हटाएपछि सबै श्रमिकका लागि कतारको श्रमबजार खुल्ला भएको हो । मन्त्रालयले यसलाई कतार ‘आधुनिक श्रमबजार’ मा प्रवेश गरेको रूपमा अथ्र्याएको छ । यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि मात्रै लागू हुनेछ ।

यस्तो हुनेछ परिवर्तनको प्रक्रिया

श्रम मन्त्रालयका अनुसार रोजगारदाता परिवर्तन गर्न श्रमिकमाथि कुनै प्रकारको आर्थिक भार पर्ने छैन । श्रमिकले एकतर्फी रूपमै रोजगारदातासँग करारपत्र रद्द गर्न सक्नेछन् ।

तत्कालको काम र कम्पनी परिवर्तन गर्न चाहेमा श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिनुपर्छ । दुई वर्षभन्दा कम काम गरेका श्रमिकको हकमा काम छोड्नुभन्दा एक महिनाअघि र दुई वर्षभन्दा बढी काम गरेकाहरूले दुई महिनाको समय राखेर रोजगारदातालाई सूचित गर्नुपर्नेछ । उक्त समयअगावै कतार छोड्ने श्रमिकले भने रोजगारदातालाई क्षतिपूर्तिबापत एक महिना बराबरको न्यूनतम तलब भने दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

सूचना दिइसकेपछि श्रमिकले विद्युतीय प्रणालीमार्फत श्रम मन्त्रालयमा तत्कालको रोजगारदातासँग गरिएको करारपत्र र नयाँ रोजगारदाताले नियुक्ति गर्ने भनेर अरबी भाषामा मन्त्रालयलाई सम्बोधन गरी लेखेको पत्रसहित आवेदन दिनुपर्नेछ । मन्त्रालयले रोजगारदाता परिवर्तन गर्न अनुमति दिएको सूचना श्रमिकलाई एसएमएसमार्फत पठाउनेछ ।

त्यसपछि श्रमिकले नयाँ रोजगारदातालाई अनलाइनबाटै नेपालीसहित बहुभाषामा करारपत्र भर्न लगाउनुपर्छ । उक्त करारपत्रलाई प्रिन्ट गरी रोजगारदाता र श्रमिकले हस्ताक्षर गरी पुन: मन्त्रालयमा पठाउनुपर्छ । त्यसलाई श्रम मन्त्रालयले प्रमाणीकरण गरेपछि मात्रै नयाँ रोजगारदाताको नाममा श्रमिकको आवासीय परिचयपत्र र स्वास्थ्य कार्ड बनेर आउँछ । यी सबै प्रक्रियापश्चात् मात्रै श्रमिकलाई नयाँ कम्पनीमा काम सुरु गर्न बाटो खुल्ने श्रम मन्त्रालयले जनाएको छ ।

एक वर्ष काम गरेर रोजगारदाता परिवर्तन गर्ने श्रमिकले वार्षिक बिदा र उपदान रकमसमेत पाउनेछन् ।

पूर्वसूचित समयअगावै छोडे जरिवाना

नयाँ व्यवस्थाअनुसार नेपालबाट भर्ना गरी लगिएको श्रमिकको काम सुरु भएदेखि ६ महिनासम्मको अवधिलाई परीक्षणकाल तोकिएको छ । एउटा रोजगारदातामा एक पटक मात्रै परीक्षणकाल हुन्छ । यदि कामको जिम्मेवारी पूरा नभएमा रोजगारदाताले एक महिनाको सूचना दिएर परीक्षणकालमै करारपत्र रद्द गर्न सक्छ । त्यसरी करारपत्र रद्द भएका श्रमिकले स्वदेश फिर्न चाहेमा घर फिर्ती टिकट भने रोजगारदाताले नै उपलब्ध गराउनुपर्छ । रोजगारदाताले एक महिनाअगाडि नै सूचना नदिई करारपत्र रद्द गर्न भने पाउने छैन । यदि रोजगारदाताले बिना जानकारी करारपत्र रद्द गरेमा श्रमिकलाई एक महिना बराबरको न्यूनतम तलब भुक्तानी गर्नुपर्नेछ ।

परीक्षणकालमै श्रमिकले पनि करारपत्र रद्द गर्न सक्नेछन् । यसका लागि पनि श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिनुपर्नेछ । उक्त सूचनाको अवधि बढीमा दुई महिनाको हुनुपर्नेछ । श्रमिकले परीक्षणकालमै करारपत्र रद्द गरेमा नयाँ रोजगारदाताले पुरानो रोजगारदातालाई श्रमिक भर्ना खर्चबापत बढीमा दुई महिना बराबरको न्यूनतम तलब र एकतर्फी हवाई टिकटको रकम भुक्तानी गर्नुपर्ने प्रावधान राखिएको छ । यदि श्रमिकले पूर्वसूचित समयअगावै काम छोड्न चाहेमा रोजगारदातालाई प्रत्येक दिनको क्षतिपूर्तिबापतको रकम व्यहोर्नुपर्नेछ । जस्तो कि श्रमिकको न्यूनतम तलब १५ सय रियाल छ र दुई साताअगाडि नै काम छोड्न चाहेमा रोजगारदातालाई ७ सय ५० रियाल क्षतिपूर्ति तिर्नुपर्छ ।

तर, नियमित तलब दिन रोजगारदाता असफल भएमा बिनासूचना रोजगारदाता परिवर्तन गर्नसमेत पाइने भएको छ । बाँकी तलब, वार्षिक बिदा र उपदान रकम दाबी गर्न श्रम सम्बन्ध विभागमा उजुरी गर्न जान पाउने बाटो भने खुल्लै रहन्छ । यस्तै थपिएको व्यवस्थाअनुसार दुईवर्षे करार अवधि पूरा गरेर स्वदेश फिर्न चाहेमा अन्तिम रोजगारदाताले नै हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । करारको एक वर्ष बाँकी छँदै फर्कन चाहेमा टिकटको आधा मूल्य व्यहोर्ने दायित्व अन्तिम रोजगारदाताकै हुनेछ ।

यस्तै, परीक्षणकालको समयभित्रै श्रमिक बिनाजानकारी स्वदेश फिर्ता भएमा त्यसको एक वर्षसम्म पुन: कतार प्रवेश गर्नसमेत नपाइने भएको छ । फेरिएको प्रावधानअनुसार यसअघिको भन्दा फरक क्षेत्रमा काम गर्न जान चाहेमा समेत पाइनेछैन ।

कतार सरकारले स्वदेश फिर्नका लागि बहिर्गमन अनुमति (एक्जिट परमिट) हटाएपछि यो प्रावधान ल्याएको हो ।

प्रकाशित : भाद्र १६, २०७७ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?