कालीकोटको पहिरोमा एकै परिवारका ४ को मृत्यु, अझै ६ बेपत्ता- समाचार - कान्तिपुर समाचार

कालीकोटको पहिरोमा एकै परिवारका ४ को मृत्यु, अझै ६ बेपत्ता

तुलाराम पाण्डे

कालीकोट — तिलागुफा–१, नाग्ममा आइतबार बिहान पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । पहिरो जाँदा घरभित्र कम्तीमा १० जना रहेको प्रहरीले जनाएको छ ।

जुम्लाबाट आएको उद्धार टोलीले घटनास्थलबाट २ जनालाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । पहिरोमा ४ घर पुरिएका छन् ।

नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन् । घरभित्र पुरिएको अवस्थामा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको बताए । खोजीमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना संलग्न छन् । नाग्म बजारमा मोबाइल नेटवर्क नहुँदा ढिलो गरी घटनाको जानकारी आएको उनले बताए ।

पहिरो गएको सूचना पाएपछि जुम्ला सदरमुकाम खलंगा र सदरमुकाम मान्मबाट उद्धार टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बताए । उनका अनुसार घरभित्र कति जना थिए भन्ने अझै एकीन हुन सकेको छैन । प्रहरीले जीवितै उद्धार गरेका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको उनले जानकारी दिए । प्रहरीका अनुसार पहिरोमा पुरिएर घाइते भएकी पुन्नी शाही पतिसहित ३ छोराछोरीको मृत्यु भएकाले बेलाबेलामा बेहोस गरेकी छिन् । प्रहरीले उनीबाट अन्य व्यक्तिबारे जानकारी लिइरहेको छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।

स्थानीय प्रशासनले भदौ २० गतेसम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुनसक्ने स्थानीय अगुवा धनिराम न्यौपानले बताए । उनका अनुसार पहिरोले ठूलो मानवीय क्षति भएको अनुमान छ । पहिरोका कारण कर्णाली राजमार्ग पनि अवरुद्ध छ ।

प्रकाशित : भाद्र १४, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

पाँच दिनअघि बेपत्ता पुरुष मृत भेटिए

हरि गौतम

रुकुम पश्चिम — पाँच दिनअघि बेपत्ता एक व्यक्ति मृत फेला परेका छन् । भदौ १० गतेदेखि बेपत्ता बाँफिकोट गाउँपालिका–१०, का ३५ वर्षीय भीमबहादुर बुढा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनका अनुसार घर नजिकैको भीरमा बुढाको शव फेला परेको हो । बुढाको मृत्युको कारण खुलेको छैन ।

बुढा घरबाट बेपत्ता भएदेखि आफन्तले खोजी सुरु गरेका थिए । घर नजिकैको भीरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।

प्रकाशित : भाद्र १४, २०७७ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×