कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले एकै दिन १९ को मृत्यु

प्रदेश ब्युरो

काठमाडौँ — कोरोना संक्रमणबाट शनिबार थप १९ जनाको मृत्यु पुष्टि भएको छ । पर्सा र महोत्तरीका तीन/तीन संक्रमितले ज्यान गुमाएका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१२ मुर्लीकी ६५ वर्षीया महिला, वीरगन्ज–१२ कै ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोनाले एकै दिन १९ को मृत्यु

नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ३७ वर्षीय पुरुषलाई शुक्रबार राति वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रेफर गरिएको थियो । उनको शनिबार बिहान करिब ६ बजे मुग्लिङ नजिकै मृत्यु भएको डा.चौरसियाले जनाए । ४३ वर्षीय संक्रमितको शुक्रबार राति वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । हेपाटाइटिस बी र एचआईभीका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रेफर भएर आएका थिए । यसैगरी, ६५ वर्षीया महिलाको शुक्रबार साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो । डा.चौरसियाका अनुसार उनी उच्च रक्तचापकी बिरामी थिइन् ।

महोत्तरीकी ६२ वर्षीया महिलाको पाटन अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी भदौ ९ गते अस्पताल भर्ना भएकी थिइन् । महोत्तरीकै दुई जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ । पिपरा गाउँपालिका–७ का ७० वर्षीय पुरुष र भंगाहा–१ का ३५ वर्षीय पुरुषको शनिबार संक्रमण पुष्टि भएको हो । भंगाहाका पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुर गएका थिए । अवस्था थप जटिल भएपछि काठमाडौं लाँदै गर्दा बाटोमै उनको शुक्रबार मृत्यु भएको थियो । शनिबार रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए । पिपराका पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको उनले बताए ।

रौतहटको गम्हरिया–३ का ३० वर्षीय युवकको पनि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा शनिबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार नारायणी अस्पताल ल्याइएका उनलाई शुक्रबार कोरोना अस्पताल भर्ना गरिएको थियो ।

भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा बारा र मकवानपुरका दुई संक्रमितको मृत्यु भएको छ । बाराको निजगढ–७ की ४७ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए । साउन २६ गते भर्ना भएकी उनको डायलसिस भइरहेको थियो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराकी ४९ वर्षीया महिलाको पनि शनिबार चितवन मेडिकल कलेजमै मृत्यु भएको छ । मिर्गौलाकी पीडित उनी साउन २७ मा अस्पताल भर्ना भएकी थिइन् ।

सिरहाको भदैया–६ का ८४ वर्षीय वृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार राति मृत्यु भएको छ । ज्वरोसहित अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते उनी प्रतिष्ठान आएका थिए । भोलिपल्ट कोरोना देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मिर्गौलापीडित उनले लामो समयदेखि डायलसिससमेत गर्दै आएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले बताए ।

कास्कीको पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुषको शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । आन्द्राको शल्यक्रिया गर्न भदौ ७ मा भर्ना भएका उनमा गत बुधबार कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए । नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिकाका–६ का ६५ वर्षीय पुरुषको शनिबार चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले शनिबार उनको मृत्यु भएको पुष्टि गरे ।

सप्तरीको राजविराज नगरपालिका–२ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा रहेकी उनको अवस्था गम्भीर भएपछि विराटनगर लैजाने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । यस्तै, काठमाडौंका ५१ वर्षीया महिला र ८३ वर्षका पुरुष, ललितपुरका ७२ र ६१ वर्षका पुरुष र भक्तपुरकी ६२ वर्षीया महिलाको पनि संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्युपछि पुष्टि, घर लगेको शव फिर्ता

मोरङ– कोरोना संक्रमण पुष्टि भएपछि अन्त्येष्टिका लागि घर लगिएको शव फिर्ता ल्याइएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६० वर्षीय पुरुषको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो । स्वाब परीक्षण रिपोर्ट आउन ढिलाइ भएपछि परिवारलाई शव जिम्मा लगाइएको थियो । तर, ११ बजे रिपोर्ट पोजिटिभ आयो । दिउँसो ३ बजे अन्तिम संस्कारका लागि लग्ने तयारीमा परिवार रहेको अवस्थामा शवलाई घरबाट फिर्ता ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मलेरिया रोगको उपचारका लागि भदौ ३ मा अस्पताल भर्ना भएका उनको सुरुमा स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । दुई दिनअघि पुनः परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट आइनसक्दै उनको मृत्यु भएको हो ।

प्रकाशित : भाद्र १४, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?