कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हिमनदी सुक्दै, रूखबिरुवा बाक्लिँदै

गंगापूर्ण र अन्नपूर्ण तेस्रो हिमनदीको आकार साँघुरिएर रूखबिरुवाले ढाकेका छन् । हिमनदी सुकेर बनेको क्षेत्रमा सबैभन्दा बढी गोब्रे सल्ला (पाइनस वालिचिना) का रूख बढ्दै गएको देखिएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — माथिल्लो मनाङको ३८२० मिटर उचाइमा रहेको गंगापूर्ण हिमनदी (ग्ल्यासिएर) को क्षेत्रफल सन् १९८८ मा १७.७४ वर्गकिलोमिटर थियो । त्यो बेला त्यसको लम्बाइ ९ किलोमिटर थियो । सन् २००८ मा आइपुग्दा भने त्यो हिमनदी १७.५७ वर्ग किलोमिटरमा साँघुरियो र लम्बाइ पनि ८.२८ किलोमिटरमा झर्‍यो । सन् २०१९ मा त्यो हिमनदी घटेर १७.५ वर्गकिलोमिटरमा सीमित भयो भने लम्बाइ ८.०५ किमि हुन पुग्यो ।

हिमनदी सुक्दै, रूखबिरुवा बाक्लिँदै

त्यस्तै, ३८६० मिटर उचाइमा रहेको अन्नपूर्ण तेस्रो हिमनदीको क्षेत्रफल सन् १९८८ मा १.१६ वर्ग किमी र लम्बाइ ३.५६ किलोमिटर थियो । सन् १९९० मा आउँदा त्यो हिमनदी १.१४ वर्गकिमिमा सीमित भयो र लम्बाइ पनि ३.४० किलोमिटरमा झर्‍यो । सन् २०१९ मा आइपुग्दा त्यो हिमनदीको क्षेत्रफल १.१३ वर्गकिमी मात्र भयो भने लम्बाइ घटेर ३.२६ किलोमिटर भयो ।

यी दुई हिमनदीको क्षेत्रफल र लम्बाइ घटेपछि त्यहाँ के बदलाव आयो त भन्ने जिज्ञासा हुन सक्छ । हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतहतर्फ सरेर बग्नुलाई हिमनदी भनिन्छ  । हिमनदीको बहाव अन्य नदीको जस्तो नभई सुस्त हुन्छ । हिउँ र हिमनदी पग्लिएर बनेका ताल हिमताल हुन् । नेपालमा ३ हजार ८ सय ८ हिमनदी र १ हजार ४ सय ६६ हिमताल छन् ।

हालै गरिएको अध्ययनले हिमनदीको पग्लने गति बढ्दा तल्लो तटीय क्षेत्रमा कालान्तरमा स्वच्छ पिउने पानीको संकट निम्तिनुका साथै जलविद्युत् र कृषि प्रयोजनका लागि प्रत्यक्ष असर पर्ने देखिएको छ । हिमनदी बर्सेनि घटिरहँदा त्यहाँ रूखबिरुवाको संख्या भने बाक्लिँदै गएको देखाएको छ । इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङका विज्ञहरू शालिकराम सिग्देल, हुई झाङ, हैफेङ झु, इरुवान लियाङ र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का शेर मुहम्मदले ती दुई हिमनदीमा दुई सय वर्षयता आएको बदलावसँगै देखापरेका रूखबिरुवा (वृक्ष रेखा) बारे अध्ययन गरेका थिए ।

उनीहरूले त्यहाँका रूखको उमेर पत्ता लगाउन वृक्ष चक्र (डेड्रोक्रोनोलोजिकल अध्ययन) पनि हेरेका थिए । त्यो अध्ययनले रूख उम्रिन थालेको समयसँगै हिमनदी पग्लिएर मोरेन (बगर) बनेको समयसमेत थाहा पाउन सहज भएको थियो । अध्ययनका क्रममा ती दुई हिमनदी क्षेत्रमा सन् १७९०, १९२०, १९३०, १९६० र १९७० को अवधिमा बनेका मोरेन (बगर) लाई आधार मानेर विश्लेषण गरिएको छ ।

हिमाल र हिमनदीबारे अन्वेषण गरेका टोनी हेगनलगायत अनुसन्धानकर्ताहरूले खिचेका तस्बिर, सिफ्ट भएका रूखबिरुवाको उमेर र हालैका तस्बिरलाई विश्लेषण गर्दै उनीहरूले नयाँ तथ्य पत्ता लगाए– ‘हिमनदी सुकेर बनेको मोरेनहरूमा घना जंगलले ढाक्न थालेको छ ।’

समुद्री सतहदेखि यो उचाइका हिमनदीमा आएको बदलावसँगै रूखबिरुवा सिफ्ट भएको बारेमा उच्च हिमाली क्षेत्रमा गएिको यो नै पहिलो अध्ययन हो । यो अध्ययनसम्बन्धी आलेख यसै साता अमेरिकाको जिइओफिजिकल युनियनले प्रकाशित गर्ने ‘जर्नल अफ जियोफिजिकल रिसर्च–बायोजिओसाइन्स’ मा समावेश भएको छ । यो अध्ययनका लागि अनुसन्धानकर्ता सिग्देलसहितको टोलीले सन् २०१६–०१७ मा मनाङका ती दुई हिमनदीको स्थलगत अध्ययनसमेत गरेको थियो ।

माथिल्लो मनाङको गंगापूर्ण हिमनदी आसपासमा गोब्रे सल्ला । तस्बिर सौजन्य : शालिकराम सिग्देल

सामान्यतया, सधैंजसो हिउँले ढाक्ने क्षेत्रमा रूखबिरुवा देखिनुलाई जलवायु परिवर्तनको प्रभावको संवेदनशील सूचकका रूपमा समेत लिने गरिएको छ । गंगापूर्ण हिमनदी सन् १९५७ देखि १९७९ सम्म ३८६ मिटर घटेको छ । त्यो अवधिमा प्रतिवर्ष १७.५ मिटरका दरले घटेको देखिन्छ । सन् १९७९ देखि २०१६ सम्म ९०३ मिटर घटेको छ । त्यो अवधिमा प्रतिवर्ष २४.४ मिटरका दरले हिमनदी घटेको (सुकेको) देखिन्छ । सिग्देलका अनुसार यसअघिका अध्ययन २–३ दशकको ट्रेन्डलाई आधार मानेर गर्ने गरिएकामा यो अध्ययन दुई सय वर्षको आँकडालाई आधार मानेर गरिएको हो ।

अन्नपूर्ण तेस्रो हिमनदी पनि सन् १८९५ देखि १९५० सम्म २०४.५ मिटरले घटेको छ । त्यो अवधिमा प्रतिवर्ष ३.१४ मिटरका दरले हिमनदी घटेको देखिन्छ । सन् १९५१ देखि २०१६ सम्म भने ४९९.५ मिटर हिमनदी घटेको छ । त्यो अवधिमा प्रतिवर्ष ७.५४ मिटरका दरले हिमनदी घटेको देखिन्छ । ‘यसबाट के देखिन्छ भने सन् १९९० मा हिमनदी भएको ठाउँमा अहिले रूख छन्,’ सिग्देलले कान्तिपुरसँग भने, ‘हिमनदी पग्लिँदै गयो, हिमनदी पग्लिएको क्षेत्रमा रूखबिरुवा उम्रिए ।’

अध्ययनले हिमनदी सुकेको ठाउँमा रूखबिरुवा उम्रिन भने ११ वर्ष समय लागेको देखाएको छ । सिग्देलको विश्लेषण छ, ‘हिमनदी हराएको पुछारको भागमा बढी रूख उम्रिने गरेको हाम्रो अध्ययनले देखाएको छ, हिमनदीनजिकको बगर बनिसकेका ठाउँमा रूख भने नयाँ अर्थात् कलिला खालका छन्, पुराना र बढी उमेरका रूख तल्लो भागमा बढी छन् ।’

हिमनदी पग्लिँदै र रूखबिरुवा फैलिँदै जाँदा पृथ्वीको सतहको विकिरण प्रतिबिम्बित गर्ने दर घट्ने र त्यसले वायुमण्डलीय तापक्रम वृद्धि दर अझ बढाउन सक्छ । त्यसैले त्यस्ता महत्त्वपूर्ण पारिस्थितिकीय प्रणालीको दिगो संरक्षण तथा व्यवस्थापनका लागि हिमाली वन, मौसम र जलसंसाधनहरूबीचको सम्बन्ध विस्तृत रूपमा अनुसन्धान गर्नुपर्ने सिग्देलको सुझाव छ ।

अध्ययनले हिमनदी सुकेर बनेको क्षेत्रमा सबैभन्दा बढी गोब्रे सल्ला (पाइनस वालिचिना) का रूख बढ्दै गएको देखिएको छ । तापक्रम वृद्धिका कारण हिमनदीको पग्लिने क्रम बढेको हो । ‘अघिल्लो शताब्दीमा भन्दा अहिले उष्णता बढेको छ,’ अध्ययनमा भनिएको छ, ‘त्यसैले टोनी हेगनले हिमनदी खिचेको स्थानमा अहिले बाक्ला रूख भएका छन् ।’

सिग्देलका अनुसार गंगापूर्ण र अन्नपूर्ण तेस्रो हिमनदीको आकार साँघुरिएपछि रूखबिरुवाले ढाकेको भागमा बढोत्तरी भएको छ । ‘हिमनदीले छोडेको मोरेन र अन्य भागमा जहाँतहीं रूख उम्रिएका छन्,’ उनले भने ।

वैज्ञानिकहरूले वृक्षरेखा (ट्रिलाइन) माथि सर्नुमा मुख्य कारण तापक्रम वृद्धिलाई नै मानेका छन् । नेपालमा प्रत्येक वर्ष ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ । तिब्बतीयन प्लेटो संसारका अन्य क्षेत्रभन्दा ३ गुणाले तात्ने गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी) को प्रतिवेदनअनुसार सन् १८०० पछि सन् २०१८ सम्मै जलवायु परिवर्तनको सबैभन्दा बढी असर हिमाली क्षेत्रमा परेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले ‘दी हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री हुँदा ३६ प्रतिशत हिउँ पग्लने र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ । यसको मुख्य असर पनि हिमाली क्षेत्रको वनस्पतिमै पर्ने देखिन्छ ।

सिग्देललगायतले ५ वर्षअघि कञ्चनजंघा, सगरमाथा, लाङटाङ, मनाङ, जुम्ला र हुम्लामा गरेको अध्ययनले पनि भोजपत्र र गोब्रेसल्ला हिमाली क्षेत्रतिर सर्दै गएको देखाएको थियो । उनले त्यतिबेला कञ्चनजंघादेखि हुम्लासम्म २० वटा नमुना प्लट लिएका थिए । सबै नमुनाको अध्ययन गर्दा १ सय ५० वर्षको बीचमा ५६.१ मिटरमाथिसम्म वृक्षरेखा सरेको उनको निष्कर्ष थियो । उनको अध्ययनले पश्चिमको तुलनामा पूर्वी हिमाली भागका वृक्षरेखा माथिल्लो भागतिर उकालो लाग्ने दर बढी देखाएको छ ।

सिग्देलको अध्ययनअनुसार कञ्चनजंघा क्षेत्रमा भोजपत्र ४२१७.२ मिटर उचाइसम्म पुगेको छ । सन् १९६० मा ३८८५ मिटर उचाइमा रहेको भोजपत्र सन् २०१५ मा ४६ मिटर बढेर ३९३१.४ मिटर उचाइसम्म पुगेको छ । लाङटाङमा सन् १९६० मा ४०४२.४ मिटरमा रहेको भोजपत्र सन् २०१५ मा ४०४८ देखि ४०५१.४ मिटरसम्म पुगेको सिग्देलको अध्ययनले देखाएको छ ।

उक्त अध्ययनअनुसार सगरमाथा क्षेत्रमा गोब्रेसल्ला ४०९८.९ मिटर उचाइसम्म पुगेको देखिएको थियो भने लामटाङ क्षेत्रमा भोजपत्र ४०३१.३ देखि ४०६७.४ मिटरसम्म पुगेको छ भने मनाङमा भोजपत्र ४०८०.९ मिटरदेखि ४१४०.५ मिटरसम्म उक्लिएको छ ।

लामटाङ र खुम्बुमा पनि उस्तै

नेदरल्यान्ड्सको उत्रेच विश्वविद्यालयका सहप्राध्यापक वाल्टर डब्लु इमरजेलले १० वर्षदेखि गरेको अध्ययनले लाङटाङ हिमनदीको सतह वार्षिक झन्डै १ मिटरले घटिरहेको देखाएको छ । उनले भने, ‘सन् २०१३ देखि प्रत्येक वर्ष १ मिटरको दरले घट्नु भनेको हिमाली क्षेत्र र तल्लो तटीय क्षेत्रका लागि गम्भीर हो ।’

बेलायतको युनिभर्सिटी अफ लिड्सका हिमनदी र हिमतालविज्ञ डंकन क्वेन्सीले केहीअघि प्रतिवेदन सार्वजनिक गर्दै खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको उल्लेख गरेका थिए । उनीहरूको अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ ।

काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ रिजनभक्त कायस्थ पनि खुम्बु क्षेत्रका हिमनदी छिटोछिटो पग्लिरहेको उल्लेख गर्छन् । ‘हिमनदी छिटो पग्लिँदा नयाँ हिमताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ,’ उनी भन्छन् ।

प्रकाशित : भाद्र ११, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?