कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोही कसरी भाइरल बन्छ ?

युट्युबमार्फत सार्वजनिक भएका २ सय ७३ भिडियो र ३ करोड ११ लाखभन्दा धेरै भ्युअर्समार्फत कसरी १३ वर्षमा बिहे र १५ वर्षमा आमा बनेकी किशोरीको चरित्र हत्या गर्दै लाञ्छना लगाइयो ?
जनकराज सापकोटा

काठमाडौँ — कोरोना संक्रमण र लक्षणसहितका संक्रमितहरूको संख्या बढिरहेका बेला साउन १७ देखि भदौ ८ गतेसम्मको २४ दिन युट्युबमा एक फरक विषय निरन्तर भाइरल भइरहेको थियो । त्यसलाई पछ्याइरहेका विभिन्न २९ युट्युब च्यानलहरूले यो अवधिमा पोस्ट गरेका २ सय ७३ वटा भिडियोलाई कान्तिपुरले पछ्याएको थियो । जसको कुल भ्युअर्ससिप ३ करोड ११ लाख ३५ हजारभन्दा धेरै छ ।

कोही कसरी भाइरल बन्छ ?

आखिर कोरोना महाव्याधिमा करोडौंले हेरेको र १ लाख ३१ हजार ६ सयभन्दा धेरैले कमेन्ट गरेको विषय के थियो ? काठमाडौंदेखि कैलालीसम्म दर्जनौं युट्युबरहरूले हप्तौंसम्म निरन्तर पछ्याएको विषयको अन्तर्यमा के थियो ? दुई सातासम्म लगातारजसो ट्रेन्डिङमा परेको यो विषयबारे जान्न साउन १७ मा पुग्नुपर्छ ।

***

सामाजिक सञ्जालमा सक्रिय सरु सुनार साउन १६ मा काम विशेषले अनामनगरस्थित एक अफिसमा थिइन् । त्यही बेला उनले छतबाट देखिन्, साँघुरो बाटोमा सामान बोक्ने रिक्सा चलाइरहेका एक युवालाई । पिठ्युँमा सानो बच्चालाई सर्टले बाँधेर रिक्सा पेलिरहेका युवा देखेपछि सरुले छतबाटै केही फोटो खिचिन् । ती भाइलाई एकैछिन् रोकिन भनिन् । बाटोमै पुगेर केही सोधीखोजी गरिन् र थप फोटो खिचिन् ।

उनी रहेछन् अनामनगरमै डेरा गरी बस्ने अर्जुन विक । वर्ष २४ । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको बताएपछि सरुको मन छोयो । सोही दिन ४ बजेर १० मिनेटमा उनले अजुर्नको यही फोटो फेसबुकमा पोस्ट गरिन् र ‘यो तस्बिरले कसको मन छुन्न र’ भन्दै लामो स्टाटस लेखिन् । उनको स्टाटसमा छ, ‘र्‍यापर बन्छु भनेर काठमाडौं आएका अर्जुन बच्चा पाल्न आफ्नो सर्टले दुईवर्षे बच्चा बोकेर काठमाडौंका विभिन्न ठाउँमा ठेला चलाउँदै छन् । सधैं पुरुषबाट पीडित भएम् भन्नेहरू यो तस्बिर नि हेरौं । कति पुरुष महिलाबाट नि पीडित छन् । यी पीडित युवाको कथा सुन्न र हेर्नका लागि भोलिसम्म प्रतीक्षा गर्नुहोला ।’

सामाजिक सञ्जाल र युट्युबमा समेत धेरथोर सक्रिय सरुका अनुसार पहिलो भेटमै अर्जुनले आफूलाई श्रीमतीले छोडेर गएकाले आफूले बच्चा बोकेर रिक्सा चलाउनुपरेको बताएका थिए । उनले भनिन्, ‘आमाले छोडेर गएको बच्चा पिठ्युँमा बोकेर रिक्सा चलाएको देखेपछि मलाई तान्यो ।’

सरुको फोटोसहितको स्टाटस सोही साँझसम्म सामाजिक सञ्जालहरूमा व्यापक भयो । मन छुने तस्बिर र क्याप्सन देखेपछि अर्जुन युट्युबरहरूको नजरमा परे । नभन्दै भोलिपल्टै अर्थात् १७ गते शनिबार दर्जनौं युट्युबरले उनीसँग अन्तर्वार्ता लिए । जसमध्ये तात्तातो खबर नामक युट्युब च्यानल चलाउने भाग्य न्यौपाने र माइक्रोलिंक मुभी मिडिया चलाउने भोजराज थापालगायत दर्जनौं युट्युबबाट अर्जुन लाखौंमाझ पुगे ।

अर्जुन विकको भाइरल भएको फोटो तस्बिर सौजन्य : सरु सुनार

भोजराजको माइक्रोलिंक मुभी मिडिया नामक युट्युबमा ‘श्रीमतीले छोडेपछि, छोरालाई पिठ्युँमा बोकेर काठमाडौंमा ठेला चलाउँदै यी बाबु’ शीर्षकमा भिडियो पोस्ट भएको देखिन्छ । उक्त भिडियो भदौ पहिलो सातासम्म झन्डै ३ लाखभन्दा धेरैले हेरिसकेका छन् । त्यसमा ८ सयभन्दा धेरै कमेन्टहरू छन् । भिडियोमा अर्जुनले भोजराजसँग भनेका छन्, ‘अहिले ६ महिना भइसक्यो उसको मम्मी माइतमै छिन् ।’

एकैसाथ जसो २० लाखभन्दा धेरै सब्स्क्राइबर भएका भाग्य न्यौपानले पनि अर्जुनबारे बनाएको भिडियो ‘आमा खोई, बुबालाई हेर्नुहोस्, नसोचेको भित्री कथा’ थम्बनेल राखेर युट्युबमा पोस्ट गरे । विरही धुनको पृष्ठभूमिमा न्यौपानेले सदावहार शैलीमा भनेका छन्, ‘यो दृश्यलाई एकचोटि हेर्नुस् त, यो काठमाडौं सहरभित्रको एउटा कारुणिक दृश्य हो । आमाले चार महिनाको उमेरमा छोडेकी रहिछन् यी बाबुलाई...।’ यो अन्तर्वार्तामा पनि अर्जुनले ‘बच्चाको आमाले चार महिनाको हुँदा छोडेको र अहिले कोठामा आफू र छोरा मात्रै बस्ने गरेको’ बताएका छन् ।

कान्तिपुरले पछ्याएका २९ युट्युब च्यानलमध्ये १४ वटाले सोही दिन अर्जुनबारे विभिन्न २२ वटा भिडियो पोस्ट गरेका छन् । २४ दिनको अवधिमा ती भिडियोको भ्युअर्स १८ लाख ८१ हजारभन्दा धेरै पुगेको छ । पहिलोपटक पोस्ट भएका अर्जुनसम्बन्धी अधिकांश भिडियोको मजबुन छ, ‘नाबालक चार महिनाको हुँदा नै आमाले छोडेर गइन् । त्यसयता गायक बन्ने सपना देखेर काठमाडौं छिरेका अर्जुन नाबालक छोरा पिठ्युँमा बोकेर रिक्सा चलाइरहेछन् ।’

सोही दिन ७ : ४३ मा सरु कार्यरत थाहा अनलाइनले अर्जुनबारे समाचार नै प्रकाशित गर्‍यो । त्यसमा पनि अर्जुनलाई उद्धृत गरेर लेखिएको छ, ‘बाबुलाई जन्माएको ४ महिनादेखि आमाले छोडेको हो । धेरै दुःख गरी मैले हुर्काएँ ।’

एकैचोटि दर्जनौं युट्युबमा आमाले छोडेर गएको दुईवर्षे छोरा हुर्काइरहेका अर्जुनको पितृवात्सल्यको बखानसहित कारुणिक भिडियो पोस्ट भएपछि त्यसले धेरैको ध्यान मात्रै खिचेन, ती भिडियोमा बच्चा छोडेर जाने आमामाथि घृणा र अपमानसहितका हजारौं गाली कमेन्टका रूपमा बर्सिन थाले । अर्जुनबारेको पहिलो दिनको भिडियो नै युट्युबको ट्रेन्डिङमा आएपछि अध्ययनमा समेटिएका २९ मध्ये २४ युट्युबमा ५१ वटा नयाँ थम्बनेलसहितको भिडियो पोस्ट भयो । भदौ ८ सम्म ती भिडियोमा ६९ लाख ८७ हजार ७ सयभन्दा धेरै भ्युअर्स छन् । यसरी अर्जुन झनै धेरै

भाइरल भए ।

सुरुमा अर्जुनको अन्तर्वार्तामा मात्रै आधारित रहेर भिडियो बनाएका युट्युबरहरूले दोस्रो दिनबाट अर्जुनका घरबेटी, उनीसँगै बस्ने भाइ, छिमेकी सबैको अन्तर्वार्ता भ्याए । यस्ता सबैजसो भिडियोमा अर्जुनकी श्रीमतीलाई गाली गरिएको छ र चरित्रमाथि शंका गरिएको छ । अर्जुन भाइरल भएको भोलिपल्टै कैलालीका युट्युबरहरू घोडाघोडी नगरपालिकास्थित अर्जुनको घर पुगे, जहाँ उनकी आमाले बुहारी चरित्रहीन भएकोदेखि शब्दमा लेख्नै नमिल्नै चरित्रहत्याको आरोप लगाएकी छन् । यो भिडियोमा २२ हजारभन्दा धेरै भ्युअर्स छ ।

चरित्रमाथि प्रश्न उठाउन आतुर युट्युबरहरूको भीडमा सही हो नेपाल नामक युट्युब च्यानल पनि मिसिएको थियो । साउन १७ मा पोस्ट गरिएको अर्जुनबारेको पहिलो भिडियोको थम्बनेलमा लेखिएको छ, ‘आफ्नै बूढीले केटा लिएर कुटाए, २ वर्षको छोरा बोकेर रिक्सा चलाउँदै काठमाडौंमा हेर्नुस् ।’ करिब एक महिनाको अवधिमा उक्त भिडियोको भ्युअर्स २२ हजार नाघिसकेको छ । यो भिडियोमा पनि अर्जुनले ‘अरू नै केटाले आफ्नो बूढीलाई तानेको देखेपछि सम्बन्ध बिग्रिएको’ दाबी गरेका छन् ।

दर्जनौं भिडियोमार्फत लाञ्छना लगाइएकी अर्जुनकी पत्नी लक्ष्मीको कुरा भिडियो भाइरल भएको तीन दिनपछि मात्रै युट्युबमा आयो । त्यतिबेलासम्म उनलाई केटा देख्नेबित्तिकै सल्किने, पति छोडेर हिँडिरहने र चरित्र नभएकी महिलाका रूपमा दर्जनौं युट्युबले स्थापित गरिसकेका थिए । जबकि यस्ता दर्जनौं भिडियोलाई पछ्याउँदा र ती भिडियो बनाउने एक दर्जन युट्युबर, पहिलो फोटो खिच्ने सरु, अर्जुन, लक्ष्मी, लक्ष्मीका बाबु, झलारी नगरपालिकाका उपमयेरसँग कुरा गर्दा झूटो तथ्यको जगमा उभिएर युट्युबरहरूले अर्जुनको अभाव र दुःखलाई बेच्दै लक्ष्मीको चरित्रहत्या गरेको प्रस्टै बुझिन्छ ।

प्राप्त सबै तथ्यलाई केलाउँदा सरुले फोटो खिचेर फेसबुकमा पोस्ट गरेको साँझ मनमुटाव भएपछि भोलिपल्ट बिहान अर्जुनले श्रीमतीलाई नयाँ बसपार्क लगेर कोहलपुर जाने गाडी चढाएको देखिन्छ । लक्ष्मीले भने ‘झै–झगडा सहेर बस्न नसकेपछि छोरा लिएर माइत जान खोज्दा अर्जुनले नदिएकाले एक्लै हिँडेको’ बताएकी छन् । कान्तिपुरसँगको कुराकानीमा उक्त बिहान आफूले लक्ष्मीलाई गाडी चढाएको बताएका अर्जुनले दिउँसो भने दर्जनौं युट्युबरहरूसँग भने ‘श्रीमतीले चार महिनामा बच्चालाई छोडेर गएको र आफूले महिनौंदेखि बच्चा पिठ्युँमा बोकेर रिक्सा हाँकिरहेको’ झूट बोलेका छन् । साउन १७ मा जनलय नामक युट्युब च्यानलमा अपलोड गरिएको भिडियोका प्रस्तोताले अर्जुनकी श्रीमतीले बच्चा चार महिनाको हुँदै छोडेको बताएका छन् । यही शैलीमा दर्जनौं युट्युबरहरूले एकतर्फी भनाइकै भरमा बच्चा छोडेर जाने लक्ष्मीप्रति लाञ्छना लगाउँंदै भिडियोहरूको थम्बनेल राखेका छन् ।

दैनिक खबर युट्युबले त ‘चारमहिने दूधेबच्चा छोडेर आमा पोइल गएपछि’ शीर्षकमा थम्बनेल राखेर अर्जुनबारे पहिलो भिडियो पोस्ट गरेको छ । प्रदीप भण्डारीले चलाएको यो युट्युबमा अर्जुनबारे विभिन्न १२ वटा भिडियो पोस्ट भएका छन् । ती भिडियोको भ्युअर्स एक महिना नपुग्दै ५ लाख १६ हजारभन्दा धेरै पुगिसकेको छ । उक्त भिडियोका प्रस्तोता प्रदीप भण्डारी ले ‘धोका दिएर गइन्, पापिनी, निष्ठुरीले छोडेर गइन्’ भन्दै अर्जुनसँगको संवादलाई अघि बढाएका छन् ।

प्रदीपको आवाजसहितको यही भिडियो सही हो नेपाल र नजिकको साथीजस्ता कैयन युट्युबमा पनि देखिन्छ । प्रदीपले त्यो दिन अन्तर्वार्ता लिने बेलामा कैयौं युट्युबरहरू एकैसाथ रहेकाले आफूले लिड गरेको र सबैले त्यही खिचेर हालेको बताए । अर्थात् उनले लक्ष्मीमाथि लगाएको आरोप एकैसाथ दर्जनौं युट्युबमार्फत प्रसार भएको बुझ्न सकिन्छ । कान्तिपुरले उनलाई ‘अर्जुनको पहिलो अन्तर्वार्तामै तपाईंले लक्ष्मीलाई किन पापिनी भन्नुभयो ?’ भनेर सोध्यो । उनले भने, ‘त्यो मबाट गल्ती भएकै हो । माफ गर्नुहोला ।’

पहिलो फोटो खिच्ने सरुले पनि सुरुमा अर्जुनले आफूलाई केही झूटो भनेको बताइन् । भनिन्, ‘श्रीमतीले छोडेर गएपछि बच्चालाई पिठ्युँमा बोकेको भनेको दिन उनकी श्रीमती कोठामै रहिछन् । उनले युट्युबमा आँसुको व्यापार चलेको र कोही रोइदिनेबित्तिकै भावुक हुने प्रवृत्ति बढेको टिप्पणी गरिन् ।

लाञ्छनाको बाढी

अर्जुनसँगको अन्तर्वार्तामा आधारित भिडियोहरूको शृंखलाबाट मात्रै यो विषय टुंगिएन । नयाँ–नयाँ विषय खोजिरहेका युट्युबरहरूले अर्जुनको विषयमा छिमेकी र अरूबाट कुराहरू बुझ्न खोजे । सञ्जिवनी इन्टरटेनमेन्ट नामक युट्युबले ‘अर्जुन विकको घरबेटीले खुलाइन् अर्जुनबारे कसैले नसोचेको कुरा, खास वास्तविकता यस्तो रहेछ’ शीर्षकमा थम्बनेल राखेर भिडियो पोस्ट गर्‍यो । यो युट्युबमा अर्जुनबारे विभिन्न शीर्षकमा १० वटा भिडियो पोस्ट गरिएको छ । साउन ३ गतेसम्म ती सबै भिडियोमा कुल भ्युअर्ससिप २० लाख ४५ हजार ५ सय ३५ र कुल कमेन्ट २ हजार ८ सय १८ पुगेको देखिन्छ ।

अर्जुनलाई धेरै पछ्याउनेमा रातो पर्दा नामक युट्युब पनि छ । यो युट्युबले साउन १७ देखि भदौ १ गतेको अवधिमा अर्जुनबारे १८ वटा भिडियो पोस्ट गरेको छ । यो यट्युबमा अर्जुनबारे बनाइएका सबै भिडियोको कुल भ्युअर्स २२ लाख ७९ हजारभन्दा धेरै र कमेन्ट ५ हजार ८ सयभन्दा धेरै देखिन्छ ।

क्लासिक नेपाली च्यानल नामक युट्युबले अर्जुनको घरमै पुगेर बनाएको भिडियोमा लक्ष्मीमाथि अनेकन लाञ्छना लगाइएको छ । ‘अर्जुनको श्रीमतीको चर्तिकला र अर्जुनको वास्तविकता छर्लंग पारे’ भन्ने थम्बनेल भएको उक्त भिडियोमा अर्जुनकी काकी बताउनेले आफूहरू विष्ट र लक्ष्मीहरू विक भएको बताएकी छन् । ‘अर्जुनको गाउँले भावुक बन्दै यस्तो भने’ शीर्षकको अर्को भिडियोमा पनि लक्ष्मीको चरित्रमाथि अनेकन लाञ्छना लगाइएको छ । काकीले भनेकी छन्, ‘अर्जुन त राम्रै हो तर त्यसलाई श्रीमती राम्री परेन ।’ उनले लक्ष्मीले अरू नै केटा बाहिर राखेको शंका गर्दै भनेकी छन्, ‘त्यसरी घुम्ने आइमाईको भरोसा हुँदैन ।

अर्जुनबारे १९ वटा फरक–फरक भिडियो बनाएको नेक्स्ट वर्ल्ड मिडियाले पनि लक्ष्मीमाथि अनेकन लाञ्छना लगाइएका थम्बनेलहरू राखेको छ । ७८ हजार ३ सयभन्दा धेरैले हेरेको र ४४ जनाले कमेन्ट गरेको एउटा थम्बनेलमा लेखिएको छ, ‘मोडल बन्नका लागि बूढो, छोरो छोड्ने पापिनीको अवैध सम्बन्ध त कति हो कति, श्रीमतीको रासलीलाको पर्दाफास ।

अर्जुनबारे धेरै भिडियो बनाउनेमा कैलालीकै मेरो टीभी अनलाइन नामक युट्युब पनि छ । जसले साउन १८ देखि भदौ ७ सम्म २० वटा भिडियो बनाएको छ । जसको कुल भ्युअर्ससिप ११ लाख ६५ हजारभन्दा धेरै र कुल ७ हजारभन्दा धेरै कमेन्ट छन् । यो युट्युबले त अर्जुनको पहिलो फोटो खिच्ने सरु र अर्जुनबीच अवैध सम्बन्ध रहेको आरोपसहितको भिडियो पनि पोस्ट गर्‍यो । सरुले भनिन्, ‘हुँदाहुँदा मलाई समेत लाञ्छना लगाउने काम भयो ।’ उक्त युट्युब सञ्चालक २९ वर्षीय दीपेन्द्र शाहीले कान्तिपुरसँगको कुराकानीमा त्यसमा आफ्नो कुनै गल्ती नभएको बताए । उनले भने, ‘मैले त उनीहरूले जे भन्छन्, त्यही हालिदिएको मात्र न हो ।’

युट्युबको खेती

साउन १९ गते कैलालीको सुख्खडनजिकैको झिलझिलिया गाउँ नपुग्दै लक्ष्मीले बाटोमै अर्जुन भाइरल बनेको र युट्यबुमा आफ्नाबारे नानाथरी अनर्गल प्रचार गरिएको थाहा पाइसकेकी थिइन् । त्यसपछि उनले परिवारको सल्लाहमा भजनी नगरपालिकाको न्यायिक समितिमा अर्जुनविरुद्ध ‘इज्जत अमानतअनुसार खान लाउन दिनुपर्ने र कुटपिट भएको’ भन्दै उजुरी दर्ता गरिन् । न्यायिक समितिकी प्रमुख उपमेयर छाया देवकोटाले अर्जुनलाई उजुरीउपर सोधपुछका लागि भजनी बोलाइन् ।

काठमाडौंमा युट्युब च्यानलहरूले अर्जुनलाई पछ्याएर दर्जनौं भिडियो बनाइसकेको पृष्ठभूमिमा न्यायिक समितिमा उजुरी परेपछि यो विषय झनै तन्कियो । पहिलो भिडियो पोस्ट गरेको पाँच दिनपछि माइक्रोलिंक युट्युबका भोजराजले कैलालीस्थित अर्जुनकै घरबाट यही विषयमा दोस्रो भिडियो बनाएर हाले । भोजराजले आफू काम विशेषले त्यता पुगेका बेला अर्जुन पनि घर आएको थाहा पाएर पछ्याएको बताए । जबकि उनले अर्जुनबारे बनाएका विभिन्न तीन भिडियोमा साउन ३ गतेसम्म कुल ५ लाख ८५ हजार ९ भ्युअर्स पुगेको देखिन्छ । उनले अर्जुनसम्बन्धी पोस्ट गरिएको एउटा भिडियो भने ४ लाखले हेरिसकेपछि अरुले हेर्न नमिल्ने गरी प्राइभेटमा राखेको बताए । उनले भने, ‘त्यो भिडियोमा धेरै नै हेट कमेन्टहरू आयो । लक्ष्मीलाई गाली गर्नेहरू धेरै भएपछि मैले प्राइभेट गरिदिएँ ।’ भोजराजको भनाइबाट पनि युट्युब च्यानलहरूले एकपक्षीय रूपमा अर्जुनको मात्रै कुरा राखेको र लक्ष्मीको चरित्रहत्या गर्न उद्यत देखिएको बुझिन्छ ।

त्यसो त अर्जुनको घर पुग्नेमै काठमाडौं केन्द्रित अर्को युट्युब च्यानल टाइम्सखबर नेपालका हिमेश न्यौपाने र मेघा केसी पनि थिए । मोटरसाइकलमै कैलाली पुगेका हिमेशले आफूहरू अरू नै काममा गएका बेला अर्जुनको घर पुगेको बताए । कान्तिपुरसँग सम्पर्कमा आएका केही युट्युबरहरूले अर्जुनको विषय लगातार भाइरल भएपछि केही साथी रातारात कैलाली पुगेको बताए । मेघाले भने युट्युबरहरूका कारण लक्ष्मीमाथि अलि बढी नै अन्याय भएको महसुस आफूले पनि गरेको बताइन् । उनले भनिन्, ‘एकतर्फी कुरा मात्रै प्रसारण गर्ने, अर्कोलाई कस्तो असर पर्छ भनेर नसोच्ने प्रवृत्ति छ ।’

त्यसो त कैलालीकै स्थानीय युट्युबरहरूले भाइरल विषय हाल्दा फाइदा हुने देखेपछि यसलाई पछ्याए । आहा नेपाल टीभीले अर्जुन कैलाली पुगेपछि मात्रै यही विषयमा विभिन्न १५ भिडियो बनायो । अर्का स्थानीय युट्युबर दीपेन्द्र शाहीले मेरो अनलाइन टीभी नामक युट्युब च्यानलमा यसबारे २० वटा विभिन्न भिडियो पोस्ट गरे । एक वर्षअघिदेखि सञ्चालनमा रहेको यो युटयुबुमा भदौ पहिलो सातासम्म १ सय २७ वटा भिडियो पोस्ट भएका छन् । जसको कुल भ्युअर्ससिप जम्मा ३४ लाख ७४ हजार छ । जसमध्ये अर्जुनसँग सम्बन्धित २० भिडियोको भ्युअर्ससिप मात्रै ११ लाख ६५ हजारभन्दा धेरै छ । यसैबाट बुझ्न सकिन्छ, अर्जुन कसरी युट्युबमा भाइरल भएका थिए र त्यसलाई किन युट्युबरहरूले पछ्याइरहेका थिए भनेर ।

न्यायिक समितिले अर्जुन र लक्ष्मीलाई छलफलका लागि बोलाएको दिन नगरपालिकाको कार्यालय प्रांगण युट्युब च्यानलका प्रतिनिधिहरूले भरिएको थियो । उपमेयर छाया देवकोटाले सुनाइन्, ‘त्यतिका धेरै क्यामेरा बोकेका युट्युबरहरू त मैले कैल्यै देख्या थिइनँ ।’ छलफल सकिएपछि दर्जनौं युट्युबरहरूले लक्ष्मीलाई भित्र के भयो भनेर बोल्न बाध्य बनाएको देखिन्छ । लक्ष्मीले ‘अब म बोल्दिनँ, जे बोल्नुपर्छ त्यो अदालतमा बोल्छु’ भनेकी थिइन् । तर एक जना युट्युबर भन्छन्, ‘तिमी सही थियौ भने किन भाग्यौ त ?’ लक्ष्मीले त्यतिबेला आफूलाई जबर्जस्ती बोल्न बाध्य पार्ने र तानातान गर्ने काम युट्युबरबाट भएको बताइन् ।

लक्ष्मीका बाबु देवबहादुर विकले युट्युबकै कारण छोरी आत्महत्याको विन्दुमा पुगेको बताए । बदनामी गरिएपछि लक्ष्मीको होसहवास उडेको बताउँदै उनले सुनाए, ‘छोरीले भनेकी थिई, मेरो बद्नामी भयो बुबा । म मर्छु तर म मरें भने त्यसले लगाएको आरोप सत्य हुन्छ । यत्ति कुरा सोचेर छोरी बाँचेकी छे ।’

अर्जुन भाइरल भएसँगै आफूमाथि चरित्रहीनको संज्ञा दिँदै अनेकन लाञ्छना लगाइएपछि आफू मर्नु र बाँच्नुको अवस्थामा पुगेको लक्ष्मीले बताइन् । उनले भनिन्, ‘युट्युबका मान्छे घरमै आएर बोल्नैपर्छ भनेर दबाब दिए । मेरो दिमागले काम गरेन ।’ निरन्तर कुटपिट गर्ने र कोहीसँग बोल्यो भने चरित्रमाथि शंका गर्ने गरेर यातना दिएपछि आफू माइती आउन बाध्य भएको उनले बताइन् । त्यसो त उनले केही युट्युबरसँग आफ्नो कुरा नराखेकी होइनन् । तर अर्जुनकै कुरा बिक्ने भएपछि युट्युबरहरूले उनको पूरै कुरा राखेनन् । उनले भनिन्, ‘म मर्नु न बाँच्नुभएको कुरा

युट्युबरले बुझेनन् ।’ नगरपालिकाको न्यायिक समितिले भने लक्ष्मीको उजुरी आफ्नो न्यायिक दायरामा नपर्ने, बरु बालविवाहको मुद्दाका रूपमा अदालतमा दर्ता हुने सुझाएको छ । उपमेयर छाया देवकोटाले युट्युबलाई न्याय दिने नाममा कसैको चरित्रहत्या गर्ने अधिकार नभएको बताइन् । उनले गाउँघरतिर दूधे बालक च्यापेर खेत गोडिरहेका र अरु काम गरिरहेका महिला देखिनु सामान्य विषय भएको तर बाबुले बालकलाई पिठ्युँमा बोकेको दृश्यलाई युट्युबले बढी उछालेको बताइन् ।

भाइरल बनाउने धुनमा केही युट्युबरहरू गाडी नै रिजर्भ गरेर काठमाडौंबाट आएको उनले जनाइन् । उनले भनिन्, ‘व्यक्तिका निजी जीवनका सबै कुरा खोतल्ने, भए नभएका आरोप लगाउने काम भयो ।’ बिहे गरेर आमा भइसके पनि जन्मदर्ताअनुसार लक्ष्मी बल्ल १७ वर्ष पुगेको बताउँदै उनले भनिन्, ‘हो, श्रीमानसँग बस्दा उनीबाट केही कमजोरी भयो होला तर ख्याल गर्नुस् त, तपाईं–हाम्रा १६/१७ वर्ष पुगेका छोरीहरू अहिले के गर्दै छन् ? कस्तो सपना देखेर हुर्किरहेका छन् ?’

को हुन् अर्जुन र लक्ष्मी ?

पढाइको यात्रालाई ६ कक्षामै टुंग्याएर १२ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न पुगेका अर्जुनले त्यसपछिका कैयौं वर्ष भारतका गोवा, सुरतजस्ता सहरमा होटल र घरमा काम गरेर बिताए । १९ वर्षको उमेरमा उनी घर फर्केर ७ कक्षा पढेकी १३ वर्षीया लक्ष्मीसँग बिहे गरे ।

परिवारका सदस्यहरूका अनुसार त्यो औपचारिक बिहेजस्तो पनि थिएन । लक्ष्मीका दाइसँग अर्जुनकी बहिनीले बिहे गरेकी थिइन् तर बहिनीको मृत्यु भइसके पनि लक्ष्मीको घरसँग उनीहरूको पारिवारिक सम्पर्क थियो । अर्जुनका अनुसार एक साँझ उनी लक्ष्मीको घर पुगेका थिए । भने, ‘साँझको बेला थियो । मैले लक्ष्मीको अनुहार पनि देखेको थिइनँ । मसँग बिहे गर्ने हो भनेर सोध्दा उनले हुन्छ भनिन् । अनि भोलिपल्ट झिसमिसेमै घर ल्याएँ ।’ १५ वर्षको उमेरमा लक्ष्मीले छोरा पाइन् ।

कहिले दिल्ली, कहिले गोवा त कहिले काठमाडौं गर्दा पनि अर्जुनले सोचेजस्तो केही भएन । त्यसपछि उनी काठमाडौं आए । ४ वर्षअघि उनले काठमाडौं आएर केही समय होटलमा र केही समय म्युजिक भिडियो र फिल्म सुटिङ गर्ने एक कम्पनीमा हेल्परको काम गरेका थिए । गायक बन्ने धोको पालेका उनले त्यतिबेला ६० हजार खर्चेर गीत गाए, म्युजिक भिडियो बनाए । तर दुवै सोचेजस्तो सफल भएनन् । ६/७ महिनापछि उनी कामको खोजीमा दिल्ली पुगे । त्यहाँ पनि भनेजस्तो काम नभएपछि एक सातामै काठमाडौं फर्के ।

सुटिङ स्पटमा खाना बनाउने र सरसहयोग गर्ने काम पाए । गत वर्ष दसैं मान्न घर गएका बेला लक्ष्मीले ४ महिनाको छोरालाई छोडेर अन्तै गएको दाबी अर्जुनले गरे । उनले भने, ‘घर छाडेकी श्रीमती ल्याउन हुन्न भन्दा पनि मैले वास्ता गरिनँ ।’ त्यसपछि अर्जुन श्रीमती र बच्चालाई लिएर ६ महिनाअघि काठमाडौं आए । अर्जुनले भनेका बखत लक्ष्मीको उमेर १६ वर्ष पुगेको देखिन्छ । लक्ष्मीका माइतीले भने उनी त्यतिबेला फुपूको घर गएर बसेको बताउँछन् ।

सुटिङका बेला सुटिङ स्पटमा र अरू बेला रिक्सामा कुरमुरेजस्ता फास्टफुड पसल–पसल पुर्‍याएर बेच्ने काम गर्थे । कहिलेकाहीँ फुर्सदमा अरुका सामान ओसार्थे । त्यही क्रममा १७ गते सरुले उनको फोटो खिचिन् । अनि उनको भाइरल बन्ने उपक्रम सुरु भयो । फोटो खिचिएकै साँझ उनको घरझगडा भयो । अनि भोलिपल्ट बिहानै लक्ष्मी माइत हिँडिन् । यता अर्जुनलाई भने दर्जनौं युट्युब च्यानलहरूले घेरिहाले । अनि अर्जुनले सुनाएको एकोहोरो कथामा पूरै विश्वास गरेर युट्युब च्यानलहरूले लक्ष्मीको चरित्रमाथि मात्रै लाञ्छनाको धाराप्रवाह सुरु गरे ।

एकातिर लक्ष्मीको चरित्रहत्या र आक्षेप, अर्कोतिर अर्जुनको बढ्दो ख्याति । यही बीचमा केही युट्युबरहरूले विदेशमा रहेका नेपालीले पठाइदिएको नगद सहयोग नै अर्जुनलाई दिए । उनले पुग–नपुग गरेर एक लाख रुपैयाँ सहयोग जम्मा भएको बताए । जसमध्ये उजुरी परेपछि कैलाली जान र आउनमै ३० हजारजति खर्च भएको र बा–आमालाई ३० हजार दिएको सुनाए ।

भाइरल भएपछि आफूले एकै दिनमा ५०/६० वटासम्म युट्युबरलाई अन्तर्वार्ता दिएको बताउने अर्जुनलाई भाइरल भएपछि केही म्युजिक भिडियो उत्पादक कम्पनी र गायकहरू अर्जुनलाई गायक बनाइछाड्न कस्सिए । अर्जुनका अनुसार भाइरल भएपछि उनले चारवटा गीत गाए । ती सबैको म्युजिक भिडियो क्रमशः युट्युबमा आइरहेछ । उनले भने, ‘भाइरल भएपछि सबैले चिन्छन् । बाटोमा हिँड्दा पनि फोटो खिच्छन् ।’

प्रकाशित : भाद्र १०, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?