कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

भारतबाट फर्किएकालाई गाँसकै चिन्ता

प्रदेश ब्युरो

बुटवल — अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२, भलायडाँडाका डोरबहादुर मुखिया भारतको पन्जाबस्थित होटलमा काम गर्थे । त्यहाँ उनी महिनाको ३२ हजार रुपैयाँ कमाउँथे । कोरोना महामारीले दुई महिनाअघि घर फर्किए ।

भारतबाट फर्किएकालाई गाँसकै चिन्ता

अहिले परिवारलाई घरको काममा सघाइरहेका छन् । ‘होटलबाट कहिले फोन आउँछ र जाउँला भनी पर्खेको छु,’ उनले भने, ‘फोन आएको छैन ।’ अझैं १ लाख रुपैयाँ ऋण छ । ‘१० वर्षदेखि गरिरहेको काम कोरोनाले खोस्यो,’ उनले भने, ‘बाँझोबारी खनेर मकै छरेँ, आधा सलहले खाइदियो ।’ बचेका मकैमा घोगा लागेका थिए । ‘हुरीले ढालेर सोत्तर पारिदियो,’ उनले भने, ‘बिहान र बेलुका छाक कसरी टार्ने चिन्ता छ ।’

शीतगंगा नगरपालिका–६, जलुकेका फनबहादुर पुलामी गत चैत २५ गते कपिलवस्तुको कृष्णनगरबाट पैदल घरमा आए । नयाँ दिल्लीस्थित स्टिल कम्पनीमा काम गर्थे । नेपाली ३६ हजार रुपैयाँ कमाइले परिवार धानेका थिए । असारसम्म भारत फर्किने विश्वासमा बसेका थिए । महामारी थामिएन । जागिरको आस मरेपछि ऋण काढेर ६ वटा बाख्रा किनेका छन् । दुई क्विन्टल चामल, नुन, तेल उधारोमा ल्याएको र खसी ठूला बनाएर बेचेर ऋण तिर्ने उनले बताए । असारमा आएको सलहले मकै सखाप पारो । ‘गत वर्ष १० मुरी मकै फलेको थियो,’ उनले भने, ‘बाँझोबारी खनेर रोपेको थिएँ, धेरै फल्ला भनेको सलहले गाँस खोस्यो ।’

गुल्मीको सत्यवती गाउँपालिका–४, लिम्घाका वीरबहादुर राना तीन छोरा र श्रीमतीसहित वैशाखमा घर भित्रिए । उनी २१ वर्षदेखि भारतमा होटल व्यवसाय गर्दै आएका थिए । कोरोनाबाट बच्न घर आएर जीर्ण भएको घर मर्मत गरेर बसेका छन् । ‘साथमा पैसा छैन, गाउँमा ऋण कसैले पत्याउँदैनन्, छाक टार्नै समस्या भयो,’ उनले भने, ‘यहाँ केही काम पाइँदैन । भारत नगएसम्म केही उपाय छैन ।’ उनी अहिले घरमै त्यत्तिकै बसेका छन् । गुल्मी र अर्घाखाँचीका अधिकांश पुरुष पहिला भारतमा रोजगारीमा जान्थे । अहिले धेरै तेस्रो मुलुक र थोरै मात्र भारतमा जान्छन् । गुल्मी जिल्ला प्रशासनका अनुसार कोरोनाका कारण ५ हजार ५ सय जना भारतबाट स्वदेश आएका छन् । अर्घाखाँचीमा ६ हजार ५ सयको संख्यामा भित्रिएका छन् । ती सबै अहिले बेरोजगार छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–६, धनचौरका २९ वर्षीय केशव पौडेल भारतको चेन्नाईमा बस्थे । त्यहाँ स्टार होटलमा काम गर्न थालेको १२ वर्ष भएको थियो । उताको कमाइले परिवार चलाउन सहजै थियो । नेपाल आउने/जाने गरिरहेका पौडेलको यस वर्ष मंसिरमा देवाली मनाउन नेपाल फर्कने योजना थियो । तर, कोभिड–१९ का कारण भारतमा लकडाउन भएपछि वैशाख अन्तिममै घर फर्के । भारतमा रहँदा गरेको कमाइले दाङको घोराहीमा घडेरी जोडेका पौडेलले अझै ५/७ वर्ष काम गरेर घर बनाउने योजना थियो । अहिले उनले साडुभाइसँग मिलेर प्यूठान नगरपालिका–४, जुम्रीमा होटल चलाएका छन् । ‘दुई–चार महिनामै कोरोना त्रास हराउला अनि कामका फर्कौंला भन्ने सोच थियो,’ उनले भने, ‘चार महिनासम्म अवस्था यस्तै भएकाले हिजोआज यहीं होटल चलाउँदै छौं ।’

प्यूठान नगरपालिका–३, सेपुङका गंगाराम रिजाल पनि भारतको मद्रासबाटै फर्केका हुन् । ‘अहिले हामी नेपालमै केही गरौं भनेर होटल खोलेका छौं,’ गंगारामले भने, ‘होटल राम्रै चलेको छ । यता पनि कोरोना बढ्दै गएर फेरि लकडाउन भो भने अब के गर्ने भन्ने चिन्ता छ ।’ विदेशबाट रोजगारी गुमाएर फर्केका युवाहरूले केही गर्ने सोच बनाए पनि स्थानीय सरकारको ठोस योजना नभएकाले यत्तिकै गाउँमा धेरै युवा बेरोजगार बसेको रिजालले गुनासो गरे । पौडेल र रिजाल मात्र नभएर कोरोनाका कारण भारत र तेस्रो मुलुकबाट रोजगारी गुमाएर फर्केका सबैको चिन्ता नेपालमा बसेर अब के काम गर्ने भन्नेमा छ । जिल्ला प्रहरीको तथ्यांकअनुसार वैशाखयता कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट ९ हजार ६ सय ४० जना र तेस्रो मुलुकबाट ३ सय २७ जना प्यूठान भित्रिएका छन् । उनीहरूलाई रोजगारी दिन जिल्लाका ९ वटै स्थानीय तहले ठोस योजना बनाएका छैनन् ।

फाराम भर्दै

रुकुमपूर्वको सिस्ने गाउँपालिका–३, को एउटै गाउँका ७० भन्दा बढी युवा घर फर्किएका छन् । उनीहरूले वडा कार्यालयमा पुगेर बेरोजगार फाराम भरिरहेका छन् । सिस्ने–४ वडामा पनि ४० जनाभन्दा बढी युवा घर फर्केका छन् । अरू ६ वडामा पनि उल्लेख्य मात्रामा युवा फर्किएका छन् । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको अवस्था पनि त्यस्तै हो ।

जिल्लामा ५ सय २४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको तथ्यांक छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले त्यसरी भित्रिएका युवालाई कृषि कार्यक्रम दिने र आत्मनिर्भर बनाउने योजना बनाएको बताइन् । गाउँपालिकाले केही युवालाई बीउ पुँजीको रूपमा केही रकम दिने र प्रदेश ५ को सहकार्यमा प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्मको अनुदानका योजना ल्याएको उनले बताइन् ।

प्रदेश सरकारलाई चुनौती

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कोरोना महामारीका क्रममा प्रदेश–५ मा करिब १ लाख ९० हजार नागरिक भारतबाट फर्किएका छन् । रोजगारी र शिक्षाका लागि तेस्रो मुलुक गएका करिब ५५ हजार स्वदेश फर्किएका छन् । फर्किनेको संख्या दैनिक बढ्दो छ । उनीहरूका लागि के रोजगारी दिने भन्नेमा प्रदेश सरकारलाई चुनौती बढेको छ ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले कोरोनाका कारण रोजगारी खोसिएकालाई अनुदान, सहजीकरण र प्रशिक्षणको कार्यक्रम ल्याएको बताए । ‘व्यवसाय गर्न चाहनेका लागि सस्तो व्याजमा ऋण र बीउपुँजी दिनेछौं,’ उनले भने, ‘जागिर गर्न चाहनेलाई उनीहरूको सीपअनुसार रोजगारीका क्षेत्र देखाउने वा थप सीप दिएर काम खोजिदिन बजेट विनियोजन भएको छ ।’ कोरोना महामारी कम भएपछि काम सुरु हुने उनले बताए । भारत तथा अन्य मुलुकबाट स्वदेश फर्किनेलाई प्रदेश सरकारमार्फत स्वदेशमै रोजगारी दिलाउन प्रदेश सरकारले जेठ महिनामा उनीहरूको रुचि र चाहनाबारे अनलाइन सर्वेक्षण गरेको थियो ।

प्रदेश योजना आयोगको तथ्यांकअनुसार प्रदेशका करिब ७ लाख नागरिक देशबाहिर छन् । वैदेशिक रोजगारीबाट फर्केका करिब ६० हजारलाई तत्काल रोजगारी आवश्यक रहेको योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमले बताए । ‘स्वदेश फर्केको जनशक्तिलाई उनीहरूको सीप मापन गरेर त्यसअनुसार काम र मामको व्यवस्था गर्नुपर्नेछ,’ उपाध्यक्ष गौतमले भने, ‘जुन प्रदेश सरकारका लागि चुनौती र अवसर दुवै हो ।’

वीरेन्द्र केसी (अर्घाखाँची), गिरुप्रसाद भण्डारी (प्यूठान), हरि गौतम (रुकुम पूर्व) र अमृता अनमोल (बुटवल)

प्रकाशित : भाद्र ७, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?