भूकम्पपछि पहिरोजन्य विपद् बढ्यो

यो वर्ष मनसुन सुरू भएयता बिहीबारसम्म बाढी, पहिरो र भारी वर्षाका ७ सय ११ वटा घटना भएका छन् । तिनमा परेर २ सय ४५ जनाको ज्यान गएको छ भने १ हजार ५ सय २२ परिवार प्रभावित बनेका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — देशमा मनसुन अवधि करिब एक महिना बाँकी छ । मनसुनजन्य विपद् (बाढी र पहिरो) को क्रम पनि जारी नै छ । मनसुन सुरु भएयताका करिब ६५ दिनको विश्लेषण गर्ने हो भने साना–ठूला गरी दिनहुँ पहिरोका घटना भइरहेका छन् । मौसमविद्हरूका अनुसार नेपालमा करिब एक सय दिन मनसुनी वर्षा हुन्छ ।

भूकम्पपछि पहिरोजन्य विपद् बढ्यो

यो वर्ष मनसुन सुरु भएयता बिहीबारसम्म पहिरो, बाढी, अचानक बाढी (फ्ल्यास फ्लड) र भारी वर्षाका ७ सय ११ वटा घटना भएका छन् । तिनमा परेर बिहीबारसम्म २ सय ४५ जनाको ज्यान गएको छ भने १ हजार ५ सय २२ परिवार प्रभावित बनेका छन् ।

यो तथ्यांक ०७२ सालको भूकम्पपछिका वर्षहरूमा मनसुन अवधिमा भएका विपद्का घटनामध्ये सबैभन्दा बढी हो । ०७२ सालको मनसुनका ६५ दिनभित्र पहिरो, बाढी, अचानक बाढी (फ्ल्यास फ्लड) लगायतका ७७ वटा घटना भएका थिए, जसमा १ सय ३३ जनाको ज्यान गएको थियो । ०७३ सालको मनसुनका ६५ दिनभित्र ४ सय २४ वटा घटनामा १ सय ६५ जनाले ज्यान गुमाएका थिए । ०७४ सालमा उक्त अवधिमा ५ सय ३३ वटा घटना भएकामा २ सय १९ जनाको मृत्यु भएको थियो ।

०७५ सालमा ४ सय ४३ घटना भएका थिए र ७२ जनाको ज्यान गएको थियो । गत वर्ष ५ सय ७२ घटना भएकामा १ सय ३७ जनाले ज्यान गुमाएका थिए । यो वर्षको मनसुनका ६५ दिनमा सबैभन्दा बढी पाल्पामा ४१, सिन्धुपाल्चोक, गुल्मी र स्याङ्जामा १९, बागलुङ, बाजुरा, दार्चुला र नवलपरासी पश्चिममा १७ ठाउँमा पहिरो गएका छन् । यस्तै, प्यूठान र रुकुम पश्चिममा १४, म्याग्दी र भोजपुरमा १३, कालीकोटमा १८, संखुवासभामा १५, तेह्रथुममा १२ र पाँचथरमा १० स्थानमा पहिरोजन्य घटना भएका छन् ।

सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालका अनुसार सिन्धुपाल्चोक पानी धेरै पर्ने क्षेत्रभित्र पर्छ । सिन्धुपाल्चोकका गुम्थाङ र हेलम्बु क्षेत्रमा कास्कीको लुम्लेमा जस्तै बढी पानी पर्छ । सिन्धुपाल्चोकका धेरैजसो भागमा ०७२ सालको भूकम्पले हल्लाएर कमजोर पनि बनाएको छ । ‘धेरैपटक भूकम्पको केन्द्रबिन्दु बन्दा जमिनमा धाँजा फाटेको हुन्छ,’ खनालले कान्तिपुरसँग भने, ‘त्यस्तो भागमा धेरै वर्षा भएपछि पहिरोको रूप लिन्छ ।’ उनका अनुसार लाखौं वर्षअघि हिमनदीहरू अहिलेको सिन्धुपाल्चोकका भागसम्मै थिए । ‘हिमनदीले उखालेर थुपारेको पदार्थले बनेको भिरालो जमिनमाथि नै बस्ती बसेको छ,’ उनले भने, ‘त्यस्तो माटो कमजोर हुने भएकाले बेला–बेलामा पहिरोले वितण्डा मच्चाउँछ ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक भूगर्भविद् वसन्तराज अधिकारी पनि भूकम्पपछि जमिन हल्लिएर कमजोर बन्ने, धाँजा फाट्ने हुँदा त्यस्तो स्थानमा बढी वर्षा भए बस्ती पहिरोको जोखिममा पर्ने विश्लेषण गर्छन् । ‘भूकम्पले हल्लाएको जमिन स्थिर हुन वर्षौं समय लाग्छ,’ अधिकारीको विश्लेषण छ, ‘सिन्धुपाल्चोक पनि भूकम्पले बढी असर गरेको जिल्लाभित्र पर्ने भएकाले कमजोर जमिनमा पानी धेरै परेपछि धान्न नसकेर भिरालो पहाड तल बग्छ ।’ यो वर्षको मनसुन अवधिमा सिन्धुपाल्चोकमा पहिरो गएका र अचानक बाढी (फ्ल्यास फ्लड) आएका क्षेत्र सबै भूकम्पले अति प्रभावितमध्येका हुन् ।

सिन्धुपाल्चोकमा यो वर्ष भारी वर्षापछि केही स्थानमा अचानक आएको बाढी (फ्ल्यास फ्लड) का कारण धेरै क्षति पुगेको छ । ‘सानो पहिरो खसेर नदी थुनिने र जम्मा भएको पानी एकैपटक बग्दा तल्लो तटीय क्षेत्रमा हानि निम्तिने गरेको छ,’ अधिकारीले भने, ‘सिन्धुपाल्चोकसहित गोरखा र अन्य भागमा त्यस्ता किसिमका विपद्का घटना भएका छन् ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी र कार्ययोजना ०७७ बनाउँदा पनि यो वर्ष मध्यपहाडी क्षेत्रमा अचानक बाढी आउने र जनधनको ठूलो नोक्सानी हुने अनुमान गरेको थियो । ‘वर्षायामको ठूलो विपद् नै पहिरो हो,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन्, ‘यसले मुख्य गरी पहाडी र कहिलेकाहीं हिमाली भागमा ठूलो जनधनको क्षति गराउने गरेको छ ।’ प्राधिकरणले यो वर्ष पहिरोका साढे २ लाख, बाढी, डुबान, कटान र पटानका साढे १२ लाख र पानीजन्य जोखिमका १५ लाख गरी जम्मा ३० लाख घटना हुने आकलन गरेको थियो ।

पोखरेलका अनुसार नेपालमा विगत ९ वर्षमा देशभर बाढीबाट मात्र करिब ८ सयको ज्यान गएको छ । ५ सयभन्दा बढी बेपत्ता छन् । बाढीले बर्सेनि १ सय ५० जनाको ज्यान लिने गरेको छ । पछिल्लो ९ वर्षमा पहिरोमा परेर ९ सय ४ जनाको ज्यान गएको छ, १ हजार ६ सय ३३ वटा पहिरोका घटना भएका छन् । गत वर्ष पहिरोले मात्र ८३ जनाको ज्यान गएको थियो ।

प्राधिकरणले विशेषज्ञमार्फत पहाडी र चुरे क्षेत्रमा पहिरोको जोखिम भएको आकलन गरेको थियो । हिमाली तथा पहाडी गरी २२ जिल्लालाई पहिरोको अत्यधिक जोखिमपूर्ण भनी पहिचान गरिएको थियो । ‘यो वर्षको मनसुनमा तिनै जिल्लामा बढी पहिरोजन्य विपद्का घटना भएका छन्,’ पोखरेलले भने ।

पानी धेरै परेको हो ?

दक्षिण एसियाका मौसमविद्हरूले यो वर्षको मनसुनमा सरदर र केही स्थानमा मात्र सरदरभन्दा बढी वर्षा हुने आकलन गरेका थिए । नेपालको हकमा भने यो वर्ष धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाअनुसार सुर्खेत, जुम्ला र ताप्लेजुङबाहेक अन्य भागमा सरदरभन्दा बढी वर्षा रेकर्ड भएको छ ।

प्रकाशित : भाद्र ५, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?