कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले थप १० को मृत्यु

प्रदेश ब्युरो

काठमाडौँ — उपत्यकाबाहिर पर्सा, सुनसरी, मोरङ, मकवानपुर र सप्तरीका ८ जना र उपत्यकामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगन्ज महानगरपालिका रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको हो ।

कोरोनाले थप १० को मृत्यु

चार दिनदेखि एक निजी अस्पतालमा उपचार गराइरहेकी उनमा मंगलबार संक्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा ल्याएको थियो । मधुमेह र निमोनिया देखिएकी उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी, वीरगन्ज–४ विर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय अर्का पुरुषको पनि मंगलबार मृत्यु भएको छ । विर्ताका पुरुष साउन २७ देखि नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचाररत थिए ।

सुनसरीको धरान–१५ बाँझगरास्थित दशरथपथमा बस्दै आएकी ७१ वर्षीया वृद्धाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बुधबार मृत्यु भएको छ । साउन २३ गते उनमा कोरोना प्ष्टुि भएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा राखेर भेन्टिलेटरसहित अक्सिजन दिइएको थियो । प्रतिष्ठानका अनुसार उनमा दम र मुटुको पनि समस्या थियो ।

मंगलबार राति मोरङको बूढीगंगा–२ बस्ने ६७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । साउन २५ देखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराट मेडिकल कलेजमा लगिएको थियो । कलेजले रोग पहिचान गर्न नसकेपछि मंगलबार बिहान बीपी प्रतिष्ठानमा रेफर गरेको थियो । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाका अनुसार उनमा मुटुको पनि समस्या थियो । वृद्धा बसेको घरधनीकी एक छोरीसहित भाडामा बस्ने अन्य तीन महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरका स्वास्थ्य प्रमुख उमेश मेहताले बताए ।

चितवन मेडिकल कलेजमा मंगलबार मृत्यु भएकी मकवानपुरको हेटौंडा उपमहानगर–१९ सान्नानटारकी ६२ वर्षीया महिला र आफ्नै घरमा मृत्यु भएका हेटौंडा–१ जरुवाटोलका ६१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । दुवैमा मृत्युपछि कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए । ६ महिनादेखि कलेजोको क्यान्सरबाट पीडित महिलाको मंगलबार बिहान र पुरुषको मंगलबार राति मृत्यु भएको थियो । मृतक महिलाको परिवारले कोरोनाबाट मृत्यु भएको स्वीकार नगरेको भए पनि चितवनस्थित भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने सोही नाम, ठेगाना र उमेरकी महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको बताए । महिलाको अन्त्येष्टिमा करिब ३ सय मलामी सहभागी थिए ।

मंगलबार मृत्यु भएका सप्तरीको राजविराज नगरपालिका–४ का २८ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएको थियो । अवस्था गम्भीर भएपछि बीपी प्रतिष्ठान धरान लगिएकोमा लगत्तै मृत्यु भएको थियो । मंगलबार नै अन्तिम संस्कार गरिएको उनको बुधबार साँझ कोरोना पुष्टि भएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका पुरुष र भक्तपुरकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा बुधबार १५९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३४, भक्तपुरमा ८ र ललितपुरमा १७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर आईसीयूमा १३१ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार कोरोनाको उपचारका लागि ९ सय ४६ आईसीयू बेड र ४९६ वटा भेन्टिलेटर छुट्याइएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ ०५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?