१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

संसद्‍को लोगोप्रति सांसदहरूको असन्तुष्टि - नक्सा मिलेन, भद्दा देखियो 

जयसिंह महरा

काठमाडौँ — संघीय ससंद्का सदस्यहरूका लागि संसद् सचिवालयले तयार पारेको लोगो विवादमा परेको छ । सांसद्हरूले लोगो नक्सा नमिलेको र भद्दा देखिएको भन्दै विरोध जनाएका छन् । संसद् सचिवालयले भने हातले निर्माण गरेकाले केही भद्दा देखिएको प्रष्टिकरण दिएको छ । 

संसद्‍को लोगोप्रति सांसदहरूको असन्तुष्टि - नक्सा मिलेन, भद्दा देखियो 

नेपालको नक्सामा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संसद्को लोगो पनि परिमार्जन गरिएको हो ।

टेकवीर मुखियाले डिजाइन गरेको लोगो घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले बनाएको हो । उद्योगका कालीगढले हातले नै उक्त लोगो निर्माण गरेका हुन् ।

लोगोमा नक्सा गलत ढंगले राखिएको र नक्साको आकार पनि नमिलेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् । सत्तारुढ नेकपाका उपनेता सुवास नेम्वाङले लोगोमा नक्साको पश्चिमी भाग उठेको हुनुपर्नेमा त्यसो नभएको र सोझो राखेको भन्दै असन्तुष्टि जनाए ।

सांसद विरोध खतिवडाले लोगो भद्दा देखिएको प्रतिक्रिया दिएका थिए । यसअघिको लोगो नै राम्रो भएको र त्यसमा नै नयाँ नक्सा राखेको भए राम्रो हुन्थ्यो भन्ने उनको भनाइ थियो ।

सांसद विजय सुब्बाले संसदको लोगोलाई लिएर सामाजिक संजालमा विरोध जनाएका छन् । उनले लेखेका छन्, 'प्रचारमा आए अनुसार हो भने यति साह्रो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यस्तो निर्माता कस्तो होला ? ल अब तयार भयो भनि दिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ ।'

लोगोमा राखिएको झण्डा पनि नमिलेको सांसदहरूले बताएका छन् । झन्डामा रहेका चन्द्र र सूर्य नमिलेको, छेउको रङ पनि नमिलेको भन्दै सांसदहरूले विरोध जनाएका हुन् ।

कांग्रेस सांसद डिला संग्रौलाले भने लोगोको तस्बिर हेर्दा भद्दा लागेको बताइन् । उनको प्रश्न थियो, 'त्यस्तो लोगो पनि हुन्छ ? तस्बिर हेर्दै भद्दा लाग्यो ।' केही सांसदहरूले भने सस्तोमा लोगो बनाउँदा बिगारिएको हुनसक्ने आशंका गरेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेकी सांसद शशी श्रेष्ठले भने स्वदेशी उत्पादन प्रवर्द्धन गर्न स्वीकार गरेको बताइन् । लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो । 'स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको' उनले बताइन् ।

सांसद रामकुमारी झाँक्रीले पनि लोगो भद्दा भएको बताइन् । निर्माणकर्ताले लोगोको फिनिसिङमा ध्यान नदिँदा भद्दा भएको उनको भनाइ थियो । आफूहरुले स्वदेशी उद्योगलाई सधै प्रवर्द्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भएपनि सांसदले लगाउने लोगोको भद्दा भएकोमा उनले असन्तुष्टि व्यक्त गरिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले लोगोमा राखिएको नक्सा सही नभएको, झण्डा पनि सही नराखिएको भन्दै संसद सचिवालयका अधिकारीको ध्यानाकर्षण गराएको जानकारी दिइन् । विभागीयमन्त्री उनले सांसदले लगाउने लोगो आकर्षक बनाउनुपर्ने र नक्सा राख्दा ध्यान दिनुपर्ने भन्दै सचिवालयलाई भनेकी हुन् ।

सोमबारसम्म ७५ भन्दा बढी सांसदले लोगो बुझिसकेको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । संसदीय समितिहरू पनि नबसिरहेको र संसद अधिवेशन पनि अन्त्य भएकाले सांसदहरूले लोगो नलगिसकेको उनको भनाइ थियो ।

लोगो निर्माण गर्नका लागि संसद सचिवालयले करिब २० लाख रुपैयाँ खर्च गरेको छ ।

लोगोप्रति सांसदहरूले जनाएको असन्तष्टि र सामाजिक संजालमा आएका प्रतिक्रियालाई मध्यनजर गरी बिग्रिएका केही लोगोहरू फिर्ता पठाइने धमलाले जानकारी दिए । यसअघिकै प्रक्रिया अपनाएर नयाँ लोगो निर्माण गरिएको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?