बाघ र चितुवाको सहयात्रा- समाचार - कान्तिपुर समाचार

बाघ र चितुवाको सहयात्रा

उत्तराखण्डको राजाजी नेसनल पार्कमा बाघको संख्या बढ्दा चितुवाको संख्या घटेको पाइएको थियो । चितवनमा बाघसँगै चितुवाको संख्या पनि बढेको र उस्तै आहार खाँदै गरेको पाइएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — बाघ र चितुवा सँगसँगै एकै बासस्थानमा मिलेर बस्छन् ? सरसर्ती हेर्दा बाघ र चितुवा एउटै जंगलभित्र के मिलेर बस्लान् र भन्ने लाग्न सक्छ ।

दुवै ठूला मांसाहारी भएकाले जंगलमा घम्साघम्सी हुन्छ होला भन्ने अनुमान स्वाभाविक भए पनि अध्ययनले दुवै जनावर मिलेर सहयात्रा गरिरहेको पाइएको छ । चितवन निकुञ्जभित्र र बाहिरको मध्यवर्ती क्षेत्रमा गरिएको अध्ययनले बाघ र चितुवाले एकै खाले आहार खाँदै गरेको पाइएको हो ।

बाघ रहेको क्षेत्रमा चितुवाको संख्या घटेको भारतको राजाजी नेसनल पार्कमा गरिएको अध्ययनले देखाएको थियो । त्यसविपरीत चितवन निकुञ्जमा भने बाघका कारण चितुवाको संख्यामा कुनै कमी नआएको पाइएको छ । एक दर्जन वन्यजन्तुविज्ञहरुले बाघ र चितुवाजस्ता ठूला मांसाहारी वन्यजन्तुको सहअस्तित्वबारे चितवन निकुञ्जको भित्री भाग र बाहिरको मध्यवर्ती क्षेत्र गरी करिब १४०० वर्ग किलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखेर अध्ययन गरेका थिए ।

‘फ्याक्टर्स एसोसिएटेड विथ को–अक्करेन्स अफ लार्ज कार्निभोरस इन अ ह्युमन डोमिनेटेड ल्यान्डिस्केप’ नामको अध्ययनमा वन्यजन्तुविज्ञहरु बाबुराम लामिछाने, नरेश सुवेदी, विश्वनाथ ओली, महेश्वर ढकाल, चिरञ्जीवी पोखरेल, लक्ष्मण पौड्याल, सविता मल्लसहित हरविग लेर्स, गेराड पेरसोन, साइमन रिनेर्ट, भिन्सेन्ट स्लड्सलगायत सहभागी थिए । यो अध्ययन सम्बन्धी आर्टिकल गत वर्ष (सन् २०१९ मार्च) मा बायोडाइभरसिटी एण्ड कन्जरभेसन जर्नलमा प्रकाशित भएको हो । सन् २०१८ मा बाघ गणना गर्दा क्यामेरामा कैद भएका चितुवाबारे पनि विशेषज्ञहरुले अध्ययन गरिरहेका छन् ।

सन् २०१३ मा बाघ गणनाका लागि राखिएको क्यामेरामा कैद भएका चितुवाका तस्बिरलाई विश्लेषण गर्दै विज्ञहरूले नयाँ तथ्य पत्ता लगाएका हुन् । ‘बाघको संख्या बढ्दा चितुवाको संख्या घटेको होला भन्ने अनुमान गलत सावित भएको छ,’ अध्ययनमा संलग्न राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तुविज्ञ बाबुराम लामिछानेले शनिबार कान्तिपुरसित भने, ‘अघिल्ला अध्ययनले भन्दा चितवनमा हाम्रो अध्ययनले चितुवाको संख्या बढेको पाइयो ।’

यसअघि सन् २०१० मा त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक तेजबहादुर थापाले गरेको अध्ययनले चितवनमा चितुवाको अनुमानित संख्या ५७ रहेको देखाएको थियो ।

लामिछानेका अनुसार चितवन निकुञ्जमा चितुवाको संख्या ६६ देखि १ सय ५ छ । ‘घनत्वका हिसाबले प्रति १०० वर्गकिमिमा ३ देखि ४ वटा चितुवा रहेको देखिन्छ,’ उनले भने, ‘संख्यात्मक हिसाबले यो राम्रो हो ।’

चितवनमा १ सय ४३ स्थानमा बाघ क्यामेरामा कैद हुँदा उही स्थानमा १ सय १० स्थानमा चितुवा पनि कैद भएका थिए । ४७ वटा क्यामेरामा बाघ र चितुवा दुवै एकैपटक कैद भएका थिए । यसले पनि बाघ र चितुवाले उही स्थानलाई आफ्नो बासस्थल बनाउने गरेको पुष्टि हुने विज्ञहरुको तर्क छ ।

सन् २०१८ को गणनाअनुसार चितवनमा बाघको संख्या ९३ छ । सन् २०१३ मा भने चितवनमा १ सय २० बाघ थिए । चितवन निकुञ्जमा दुई वर्षअघि प्रति एक सय वर्ग किमिमा बाघको घनत्व ३.८१ रहेकामा अहिले १४.५ पुगेको छ ।

पर्सा निकुञ्जमा भने प्रति एक सय वर्ग किमिमा बाघको घनत्व ६.२२ पुगेको छ । सन् २०१३ मा पर्सामा १.४९ थियो । भर्खरै सार्वजनिक भएको अध्ययनले भने चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १ सय ७५ वयस्क बाघ थेग्न सक्ने (क्यारिङ क्यापासिटी) निष्कर्ष निकालेको छ ।

बर्दिया निकुञ्जका हकमा भने चितुवाको अस्तित्व निकुञ्जभन्दा बाहिरको क्षेत्रमा बढी छ । त्यहाँ निकुञ्जको मुख्य भित्री भागको बासस्थामा बाघले मात्र रजगज गर्ने गरेको छ । पछिल्लो गणनाअनुसार बाघको संख्या ८७ छ ।

चितवनमा गरिएको अध्ययनले बाघ र चितुवाको आहारमा भने प्रतिस्पर्धा हुने गरेको देखाएको छ । ‘बाघ र चितुवाको आहार प्रजातिमा ९० प्रतिशत ओभरल्याप हुने गरेको पाइयो,’ लामिछानेले थपे, ‘बाघले ठूला प्रजाति गौर र जरायोजस्ता वन्यजन्तु मार्ने गरेको देखियो भने चितुवाले तीभन्दा साना चित्तल र गाई, गोरु र बाख्रा मारेको देखियो ।’ अध्ययनअनुसार चितुवाले गौर मारेकै देखिन्न ।

चितुवाको ४८ प्रतिशत आहार चित्तल भइरहँदा बाघले भने ३८ प्रतिशत मात्र उक्त आहारमा निर्भर भएको देखिन्छ । बाघको २२ प्रतिशत आहार जरायो हुँदा चितुवाले १२ प्रतिशत मात्र उक्त प्रजातिलाई आहार बनाएको देखिन्छ । जरायो ठूलो हुने भएकाले चितुवाले सिकार गर्न सजिलो छैन ।

चितवन निकुञ्जमा कैद भएको चितुवा । तस्बिर : चितवन निकुञ्ज, जैविक विविधता संरक्षण केन्द्र (बीसीसी)

बाघ चितुवाभन्दा चार गुणा ठूलो हुन्छ । बाघले दैनिक ५–७ किलो मासु खान्छ भने चितुवालाई दैनिक १–२ किलो भए पर्याप्त हुन्छ । बाघको तौल २ सय र चितुवाको तौल ३० किलो हाराहारी हुन्छ ।

बाघले नदी तटीय क्षेत्रको जंगल र घाँसे मैदान भएको क्षेत्रलाई मुख्य बासस्थान बनाउने गरेको देखिएको छ भने, चितुवा साल भएको जंगल (साल फरेस्ट) र घरपालुवा जनावर (गाई, गोरु, बाख्रा) को उपस्थिति भएको क्षेत्र र चुरे क्षेत्रमा बढी चलखेल गर्ने देखिएको छ । चितुवाले गाईलाई १५ प्रतिशत आहार बनाइरहँदा बाघले भने जम्मा ३ प्रतिशत मात्र आहार बनाउने गरेको पाइएको छ ।

‘बाघ र चितुवा बिहान र बेलुकीको समयमा आहारलगायतका गतिविधिमा सक्रिय हुने गरेको देखिन्छ,’ केहीअघि प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘आहार प्रजातिको उपलब्धता अत्यधिक भएकाले दुवै प्रजातिलाई बाँच्न सहज भएको छ ।’

बाघ घाम अस्ताएपछि रातको समयमा आफ्नो बासस्थानमा सक्रिय हुन्छ भने चितुवा दिउँसो दिन ढल्किएपछि (२ बजेपछि) ५–६ बजेसम्म सक्रिय हुने गरेको छ ।

चितवन र पर्सा निकुञ्जमा गरेको अध्ययनले बाघका आहारमध्ये ठूला प्रजाति गौरीगाई, नीलगाई, जरायो, अर्नाभन्दा साना प्रजातिहरु चित्तल, लगुना मृग, रतुवा मृग, जंगली बँदेलको घनत्व बढी पाइएको छ ।

सन् १९९७–९८ तिर भने बाघले जम्काभेट हुँदा चितुवालाई आक्रमण गरी मारेको पाइएको थियो । पछिल्लो अवधिमा भने त्यस्तो घटना भएको छैन । पछिल्लो अध्ययनको निष्कर्ष छ– ‘आहार प्रजाति प्रशस्त भएका क्षेत्रमा ठूला मांसाहारी वन्यजन्तु सँगसँगै सहयात्रा गर्न सक्छन् ।’ चितवनमा सबै प्रजातिका बाघ–चितुवाका आहारको उपलव्धता ७१.५८ र चित्तलको उपलव्धता ५१.९५ छ भने पर्सामा सबै प्रजातिको उपलव्धता ३०.९१ र चित्तलको उपलब्धता १३.९६ प्रतिशत छ ।



प्रकाशित : श्रावण ३१, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्

युवकको हत्या

कान्तिपुर संवाददाता

सुनसरी — सुनसरीको भोक्राहा गाउँपालिका–५ का युवकको हत्या भएको छ । प्रहरीका अनुसार भोक्राहाका २१ वर्षीय गुणानन्द यादवको बिहीबार राति धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । यादवको शव सुनसरी खोलामा शुक्रबार फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक विनोद शर्माले हत्याको कारण खुल्न नसकेको बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×