कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा कार्यदलले सहमति जुटाउने सम्भावना कति ?

नेपाल, खनाल र श्रेष्ठ असन्तुष्ट 
बबिता शर्मा

काठमाडौँ — डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भएको संवादमा कार्यदल बनाउने सहमति भएको हो । 

नेकपा कार्यदलले सहमति जुटाउने सम्भावना कति ?

कार्यदलमा संयोजक महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । संवाद टुटेको ९ दिनपछि बिहीबार सकारात्मक छलफल गरेका ओली र दाहालले कार्यदल बनाउने सहमति गरेका थिए । त्यसपछि उनीहरुबीच शुक्रबार कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति बनेको हो ।

तर, कार्यदल बनाउने सहमतिपूर्व आफूहरुसँग संवाद नगरेकोमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । कार्यदल सदस्य शर्माले पार्टी विवाद हल गर्ने गरी कार्यदल बनेको बताए । तर, कार्यदलाई समय सीमा तोकिएको छैन्, जतिसक्दो चाँडो काम टुंगाउने जिम्मेवारी दिइएको छ ।

कार्यदल संयोजकसमेत रहेका पौडेलले पनि कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउँदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने बताए ।

‘अध्यक्षको अधिकारलाई प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । कार्यदलले समस्याहरु के हुन् र समाधान के हुन् भन्नेबारे विस्तारपूर्वक छलफल गरेर छिट्टै प्रतिवेदन प्रस्तुत गर्नेछ,’ पौडेलले भने, ‘यो प्रतिवेदन समेतलाई आधार मानेर अध्यक्षद्वयले समाधानका प्रस्तावहरु पार्टीको औपचारिक बैठकहरुमा प्रस्तुत गर्नुहुनेछ ।’

कार्यदलको पहिलो बैठक शनिबार १२ बजे बस्दैछ । कार्यदलका एक सदस्य तीन–चार दिनभित्र प्रस्ताव तयार पार्ने बताउँछन् । कार्यदलले सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि केही प्रस्ताव तयार पार्नेछ । कार्यदलले महाधिवेशनको तयारीबारे पनि प्रस्ताव बनाउने जिम्मा पाएको छ ।

कार्यदल गठनपछि स्थायी कमिटी सदस्य योगेश भट्टराईले भनेका छन्, ‘नेकपामा उत्पन्न समस्या र गतिरोधको समाधानका लागि कार्यदलमार्फत् प्रकृया सुरु हुनु सकारत्मक छ । पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउनुबाहेक अर्को कुनै विकल्प छैन ।’ भट्टराई अहिले ओली नेतृत्वको सरकारको विकल्प खोज्न हुँदैन भन्नेमा छन् ।

केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने सदस्य मध्येका एक ठाकुर गैरेले कार्यदलबारे टिप्पणी गरेका छन्, ‘नेकपामा उत्पन्न समस्याको हल गर्न कार्यदलमार्फत् प्रकृया सुरु हुनु सकारत्मक छ । अध्यक्षद्वयको प्रस्तावमा सचिवालयको बैठकले कार्यदल बनाउन सकेको भय संस्थागत हुन्थ्यो होला । मजबुत पार्टी एकता, नीति र विधिसम्मत पार्टी सन्चालन आजको आवश्यकता हो ।’

शीर्ष नेतृत्वको दर्जनौंपटकका भेट र बहुआयमिक प्रयासका बीच पनि नेकपाभित्र सहमति जुट्न नसकेको अवस्थामा महासचिवको नेतृत्वमा बनेको कार्यदलले नाटकीयरुपमा निकास देला त ? नेकपाका धेरै नेता–कार्यकर्ताको यसैमा चासो छ । कार्यदलको प्रस्तावमा सचिवालयमा सहमति गर्ने र स्थायी कमिटी सुचारु गरेर त्यहाँबाट निर्णय गराउने नेताहरुको कोशिस छ । केही तथ्यहरुको विश्लेषण गर्ने हो कार्यदले सहमति जुटाउने सम्भावना यस्तो देखिन्छ :

ढोका खुल्यो : दुवैपक्षका आ–आफ्ना अडान र गतिविधिले स्थायी कमिटी बैठक अनिर्णयको बन्दी बनेको छ । यस्तो बेला आन्तरिक गृहकार्यबीच दुवै अध्यक्ष कार्यदलमार्फत सहमतिको मस्यौदा बनाउने तहमा पुगेर सकरात्मक संवादको सन्देश दिएका छन् । यसले कार्यदलमा सहमति बन्ने आशा जगाएको छ । तर, अन्तिम सहमति नभएसम्म फेरि विवाद पुरानै ठाँउमा फर्कने खतरा भने कायमै छ । असार १० देखि जारी स्थायी कमिटी बैठक ओली र दाहाल–नेपालसमूहबीच सहमति नहुँदा पटक–पटक स्थगति छ ।

गृहकार्यपछिको कार्यदल : कार्यदल आकस्मिक बनेको होइन, यसका पछाडि केही नेताको गृहकार्य र संवाद पनि जोडिएको छ । महासचिव विष्णु पौडेल, स्थायी कमिट सदस्यद्धय शंकर पोखरेल र जनार्दन शर्माले ओली र दाहालबीच संवाद र सहमतिका लागि लगातार प्रयास गरेका थिए । खास गरेर साउन २० पछि ओली र दाहालबीच रोकिएको संवाहीनता तोड्न र सहमतिका लागि मस्यौदा बनाउन यी तीन नेता लागेका थिए । उनीहरुले ओली र दाहालबाहेक नेपालसँग पनि पटकपटक भेटेका थिए । यही कोशिसका रुपमा ९ दिनपछि ओली र दाहालबीच संवाद तोडियो र दशौं दिन कार्यदल बनाउने सहमति भयो । यो पृष्ठभूमिमा कार्यदलले शीर्ष नेताकै सुझावमा सहमतिको खाका बनाउने अर्को सम्भावना देखिएको छ ।

तीनै समूहका नेता कार्यदलमा: कार्यदलमा ओली, दाहाल र नेपालसमूहका दुई–दुई जना नेता छन्, जसले सहमति जुटाउने नयाँ आधार दिएको छ । कार्यदलमा रहेका महासचिव पौडेल र स्थायी कमिटी सदस्य पोखरेल ओलीनिकट नेता हुन् । शर्मा र भुसाल दाहाल तथा रावल र पाण्डे नेपाल निकट नेता मानिन्छन् । तीनै पक्षका नेता कार्यदलमा रहँदा आपसी विश्वास हुने र आ–आफ्नो समूहका शीर्ष नेताको समेत परामर्श लिएर काम गर्ने भएकाले कार्यदलले सहमति जुटाउन सक्ने अर्को आधार मानिएको छ ।

एक अर्कोमाथि दबाब बनाउने अस्त्रको अन्त्य: स्थायी कमिटी बैठकयता ओली तथा दाहाल–नेपाल समूहले एकअर्कामाथि दबाब बनाउने पूरै कोशिस गरे । साउन १३ सम्म आउँदा त ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरे र दाहालले बहुमत सदस्यको बैठक एकतर्फीरुपमा चलाए । यसबाहेक ओली निकट नेताहरुले मदन भण्डारी फाउन्डेसनका नाममा गुटका कार्यक्रममा व्यस्त भए भने दाहाल–नेपाल समूहले पनि निटक केन्द्रीय सदस्यहरुसँग लगातार छलफल गरे । दाहाल–नेपाल समूहले आफूसँग बहुमत रहेको दावी गरेर ओलीमाथि दबाब बनाए । तर, अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने ‘बाँकी के गर्न सक्छौँ गर’ भनेर ओलीले पनि दबाब बनाए । दुवैपक्षका दबाबका सबै अस्त्र सकिएपछि कार्यदल बनेकाले सहमतिको सम्भावना नजिक पुगेको छ ।

पार्टी विभाजन नगर्न दुवैपक्षमाथि दवाव : कार्यदल बनाउन लचक भएका ओली र दाहाल–नेपाल दुवै समूहमाथि पार्टी विभाजन नगर्न दवाव छ । पार्टी विभाजनमा जान नसक्ने अवस्थामा उनीहरुसँग सहमतिको विकल्प थिएन । विकल्प सकिएपछि उनीहरुले कार्यदल बनाएका छन् । यस्तोमा कार्यदलले शीर्ष नेताकै चाहनामा सहमतिको प्रस्ताव बनाउनसक्ने आधार देखिएको छ । पछिल्लो अन्तर्वार्तामा ओलीले पार्टी विभाजन नहुने बताएका थिए भने दाहालले पनि निकट केन्द्रीय सदस्यहरुको भेलामा विभाजन नहुने बताएका थिए । नेता नेपाललको पनि यस्तै भनाई आएको थियो । यो पृष्ठभूमिमा नेताहरुले सहमति खोज्न लचकता अपनाउने सम्भावना छ ।

दाहाल–नेपाल एक कदम पछाडि : दुवै पद नछाड्ने अडानमा रहेका ओली कार्यविभाजनमा लचिलो भएको छन् । यद्यपि उनी तत्काल दुवै पदमा कायम रहने अडानमा छन् तर अध्यक्षको पूरै अधिकार दाहाललाई दिन लचिलो भएका छन् । ओलीको लचकतासँग दाहाल तत्काल एक पद ओलीले छाड्नुपर्ने अडानमा लचिलो भएका छन् । दुई अध्यक्षको लचकता कार्यदलभित्र सहमति जुटाउने अर्को आधार रहेको कार्यदलका एक सदस्य बताउँछन् । कार्यदलमै आफ्ना मुद्दा राख्ने गरी नेता नेपाल समूहको तयारी छ ।

कार्यविभाजनमा अवसर: सहमतिअनुसार कार्यविभाजन भयो भने संघीयदेखि प्रदेश सरकारसम्मका जिम्मेवारी हेरफेर हुनेछन् । यस्तोमा दाहाल–नेपाल समूहमा रहेका केही नेताले जिम्मेवारी पाउने छन् । यसले अडान लिइरहेका नेताहरुलाई जिम्मेवारी दिएर शान्त बनाउने उपायका रुपमा पनि काम गर्छ । यो पनि कार्यदलमा सहमति बन्न सक्ने अर्को आधार रहेको एक नेता बताउँछन् ।

नेपाल, खनाल र श्रेष्ठ असन्तुष्ट

दुई अध्यक्षबीच धेरै विषयमा सहमति भएको र औपचारिकताका लागि कार्यदल बनाएको खनाल, नेपाल र श्रेष्ठले आंशका गरेका छन् । ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडान राख्दै आएका दाहाल अचानक अडानबाट पछि हटेको भन्दै खनाल, नेपाल र श्रेष्ठ असन्तुष्ट बनेका छन् । तर, ओली-दाहाल सहमति भए पनि कार्यदलमै आफ्ना मुद्दा राख्ने गरी नेता नेपालले आफ्नो समूहका दुई नेता पठाएको नेपाल निकट स्रोतले बतायो ।

स्रोतका अनुसार दाहालले आफूहरुसँग सल्लाह नगरी ओलीसँग सहमति गरेको र दोहोरो भूमिका खेलेको भन्दै यी तीन नेता असन्तुष्ट बनेका हुन् । दुई अध्यक्षबीच बालुवाटारमा छलफल हुनु अगावै दाहालले यसअघि ओलीका दूतमार्फत् आएको प्रस्तावमा सहमति गर्ने संकेत दिएपछि बिहीबारको भेटवार्ता तय भएको खनाल, नेपाल र श्रेष्ठको बुझाई छ ।

सोही अनुसार बिहीबार नै दुई अध्यक्षबीच शक्ति बाँडफाटमा सहमति भइसकेको र त्यसलाई औपचारिकता दिनका लागि मात्रै कार्यदल गठन गरेको बुझाई यी नेताको छ । दाहालले ओलीको तर्फबाट आएको प्रस्तावमा सहमति नगरेको ब्रिफिङ यी नेताहरुलाई गरेका थिए । तर, कार्यदल बनाउने विषयमा भने सहमति गरेर आएको बिहीबार साँझ नै खनाल, नेपाल र श्रेष्ठलाई बताएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?