स्वास्थ्यकर्मीले पाएनन् सुविधा- समाचार - कान्तिपुर समाचार

स्वास्थ्यकर्मीले पाएनन् सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले महामारीका बेलामा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरे पनि त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा खटिने कुनै चिकित्सकले हालसम्म भत्ता पाएका छैनन् । 

भत्ता त दिएनन् नै, तलबमा पनि १५ प्रतिशत काटेको उनीहरूको भनाइ छ । आफैं सुरक्षा सामग्री किनेर लगाउनुपरेको, घर जान सवारी नपाएको, संक्रमित भइसकेपछि पनि बस्ने ठाउँ नदिएको भन्दै अस्पतालका चिकित्सकले आवाज उठाइरहेका थिए । ‘हामीले प्रशासनमा गएर धेरैपटक यसबारे कुरा गरेको हो,’ आकस्मिक कक्षमा कार्यरत अर्की चिकित्सकले भनिन्, ‘हाम्रो माग सुनेनन्, आज पूरै आकस्मिक कक्ष असुरक्षित भयो ।’

वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सक हरेक दिन सार्वजनिक सवारी चढेर ड्युटीमा जान्छन् । अस्पतालले सवारीको व्यवस्था नगरिदिँदा जोखिम मोलेर यात्रा गर्नुपरेको उनले गुनासो गरे । संक्रमण नसरोस् भनेर पीपीई, मास्क, पन्जाजस्ता सुरक्षात्मक सामग्री आफैं किन्ने गरेको उनले बताए । ‘सरकारले सर्वसाधारणलाई संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्छ भनेको छ, तर हामीले दैनिक असुरक्षित भएर काम गर्नुपरेको छ,’ उनले भने, ‘आकस्मिक कक्षमा आउने सबैको पीसीआर रिपोर्ट मागेर मात्रै उपचार गर्छु भन्न मिलेन, आफू मात्रै संक्रमित भइहालें भने त ठीकै छ, सार्वजनिक सवारीमा अरूलाई सारिएला कि भन्ने डर छ ।’

फ्रन्टलाइनमा बसेर बिरामी हेर्नुपर्ने जिम्मेवारी भए पनि हालसम्म उनले कोरोना जोखिम भत्ता पाएका छैनन् । सुरक्षात्मक सामग्री नहुँदा मास्कको भरमा बिरामी जाँचिरहेका छन् । वीरका चिकित्सकजस्तै मेडिकल कलेजलगायत राजधानीका ठूला अस्पतालमा कार्यरत चिकित्सक असुरक्षाका बीच कामको पेलानमा परिरहेका छन् । स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ । तर, पाटन, टिचिङ, वीर, सशस्त्र प्रहरीजस्ता केन्द्रीय अस्पतालकै जनशक्तिले हालसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीसमेत संक्रमित हुनुले सुरक्षाको व्यवस्थापन कमजोर भएको बुझिने नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले बताए । ‘चिकित्सक संक्रमित हुनु या जोखिममा पर्नु भनेको अस्पताल नै जोखिममा पर्नु हो,’ उनले भने, ‘स्वास्थ्यकर्मी सुरक्षित बनाए भोलि बिरामीले उपचार नपाउने स्थितिबाट जोगिन सकिन्छ ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त स्वास्थ्यकर्मीको संख्या न्यून भएको देशमा उनीहरू नै संक्रमित हुनु र बढीभन्दा बढीलाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थितिले भोलि स्वास्थ्यमा भयावह स्थिति आउन सक्ने बताउँछन् । स्वास्थ्यकर्मी बचाउन उच्चतम सतर्कता अपनाउनुपर्ने भनिए तापनि नेपालमा बेवास्ता गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन मुख्यतः सुरक्षाका गुणस्तरीय सामग्री र काम गर्ने सम्मानित वातावरण हुन आवश्यक छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

खाली हुन थाले उपत्यकाका पसल

कपडा, खुद्रा पसल, रेस्टुरेन्ट व्यवसाय र विभिन्न कार्यालय करिब ३५ प्रतिशत खाली
नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौं उपत्यकाका चोक, सार्वजनिक स्थल, पार्क आदिमा तपाईंहरूले विभिन्न उत्पादनका विज्ञापनमूलक सूचना पढ्नुभएकै होला । पछिल्लो समय तिनमा फरक सूचना थपिने क्रम बढेको छ– ‘पसल भाडामा’, ‘पसल बिक्रीमा’ र ‘कार्यालय तथा कोठा भाडामा’ ।

यी सूचना कतै व्यवसायी त कतै घरधनीहरूले राखेका हुन् । कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले लकडाउन गरेयता यस्ता व्यवसाय बन्द हुने क्रम बढेको छ ।

उपत्यकाका करिब ३५ प्रतिशत पसल तथा व्यापार व्यवसाय खाली हुँदै गएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । उपत्यकाका प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड, सुन्धारा, बानेश्वर, चाबहिललगायत क्षेत्रमा पसल खाली हुने क्रम वृद्धि भएको उनको भनाइ छ । विशेषगरी यी क्षेत्रका कपडा पसल, रेस्टुरेन्ट व्यवसाय र विभिन्न कार्यालय खाली भइरहेका छन् ।

सुन्धारा नागस्थानस्थित बस टिकट काउन्टरका सञ्चालक राजन दाहालले सटर बिक्रीमा राखेका छन् । मकालु यातायात प्रालि चलाइरहेका उनले लकडाउनसँगै लामो दूरीको सवारी नचल्ने भएपछि टिकट काउन्टरको काम रोकिएको सुनाए । ‘घरायसी कामले व्यवसाय हेर्न समय भएन । अहिले कोरोनाले गर्दा व्यवसाय ठप्प छ,’ उनले भने, ‘कसैले सटर किन्न आए समझदारीमा बिक्री गर्ने सोच छ ।’ न्युरोडस्थित किरण भण्डारीले पनि पसल भाडामा भनेर आफ्नो नम्बरसहित सूचना टाँसेका छन् । लकडाउन सुरु भएसँगै भाडामा गइरहेको उनको ६ तलाको घर खाली छ । ‘न्युरोडजस्तो व्यापारिक क्षेत्रमा पसलका लागि भाडामा गएको छैन । अरू स्थानको अवस्था कस्तो होला ?’ उनले भने, ‘अहिले मानिस व्यवसायमा लगानी गर्न डराइरहेका छन् । न्युरोडमा पसलका लागि भाडामा नजानु भनेको व्यवसायको अवस्था नाजुक हुनु हो ।’

कपडा, मिठाई पसलका साथै रेस्टुरेन्टका लागि आफ्नो घर केन्द्रमा भएको उनले जानकारी दिए । पसल भाडामा लिन भनेर १/२ जनाले मात्र फोन गरेर बुझ्ने गरेको उनको भनाइ छ । ‘अबको ६ महिनासम्म के हुन्छ थाहा छैन । त्यसैले पनि भाडा कम गर्छु भन्दा पनि कोही नआउने अवस्था छ,’ उनले भने, ‘नयाँ व्यवसायी लगानी गर्न इच्छुक छैनन् । भएको पुरानै व्यवसाय धान्न समस्या छ ।’ न्युरोडस्थित रमा गृह जसलाई ‘गोलो घर’ भनेर चिनिन्छ । सरकारी भवन रहेको उक्त भवन भूकम्पले क्षति पुर्‍याएको थियो । अहिले उक्त भवन बनिसकेको डेढ वर्ष भइसकेको छ । श्री चेङगेजखान सप्लाई प्रालिका निर्देशक आले तामाङले उक्त भवनको भाडासम्बन्धी सबै कामको जिम्मेवारी लिएका छन् ।

‘सरकारबाट टेन्डर पास गरी भाडामा लिएर हामीले भाडामा लगाएका छौं । ६ वटा सटर र ४ वटा फ्ल्याट छन् यहाँ,’ उनले भने, ‘७ वटा भाडामा गइसकेका छन् । भाडामा लगाएको ९/१० महिना भइसक्यो । ३ वटा अझै भाडामा जान बाँकी छ ।’ तला हेरेर दुई/साढे दुई लाख रुपैयाँ महिनाको भाडा रहेको उनले बताए । ‘भित्रपट्टि फिनिसिङ गर्न बाँकी रहेकाले भाडामा जान ढिलो भएको हो,’ उनले भने, ‘अहिले कोरोनाका कारण पनि मानिसले रुचि कम देखाएका हुन् जस्तो लाग्छ ।’

खिचापोखरीस्थित जितनारायण डंलोलले २/३ महिनादेखि पसल भाडामा भनेर सूचना टाँसेका छन् । लकडाउन सुरु भएपछि खाली भएको कोठा भाडामा दिन सूचना टाँसिएको उनले बताए । ‘महँगोमा भाडामा जाने अवस्था छैन । सस्तोमा लिन आउने पनि कोही छैनन्,’ उनले भने, ‘व्यवसाय सबै धरापमा छन् । लगानी गरे त्यो पनि खेर जाने डरले नयाँ कोही आएनन् ।’

व्यवसाय ठप्प भएको बेला भाडा बुझाउन नसकेर पसल छाडेर जाने क्रम बढेको व्यवसायीहरूको भनाइ छ । घरबेटीले भाडा नघटाउने र व्यापारीहरूको व्यापार नहुने भएर सटर छाडेर जाने क्रम बढेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले बताए ।

‘न्युरोड र बानेश्वरजस्तो व्यापारिक केन्द्रमा एउटा सटरकै २/३ लाख रुपैयाँ भाडा छ,’ उनले भने, ‘यसका लागि सरकारले नै ठाउँ, क्षेत्रफल हेरेर वैज्ञानिक भाडा तोकिदिए व्यवसायीहरूलाई राहत मिल्छ ।’ घरबेटीहरूले आफ्नो इच्छाअनुसार भाडा लिइरहेका छन् । लकडाउनपछि व्यापार नहुने र भाडा तिर्न सक्ने अवस्था नभएकाले उपत्यकाभित्र ३०/३५ प्रतिशत पसल खाली भएको उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×